कार्तिक १७, २०८२ सोमबार November 3, 2025

युक्रेनमा रहेका उत्तर कोरियाली युद्धबन्दीद्वारा दक्षिण कोरियामा बस्न अनुमति माग

युक्रेन युद्धमा करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, १६ कात्तिक । युक्रेनमा युद्धकै क्रममा बन्दी बनाइएका दुई उत्तर कोरियाली सैनिकले दक्षिण कोरियामा बस्न पाउन आग्रह गरेको दक्षिण कोरियास्थित मानव अधिकार सङ्गठनले जनाएको छ ।

उक्त निवेदन उनीहरूले एउटा वृत्तचित्र फिल्मका लागि गरिएको अन्तर्वार्ताका क्रममा गरेका हुन् । अन्तर्वार्ता ग्योर–इओल नेसन युनाइटेड नामक सङ्गठनको सहयोगमा सम्पन्न भएको बताइन्छ । उक्त सङ्गठनका प्रमुख र उत्तर कोरियाबाट दलबदल गरेका जाङ से–युलका अनुसार सन् २०२४ मा रुसको पक्षमा लड्न करिब १० हजार उत्तर कोरियाली सैनिक युक्रेन पठाइएका थिए भन्ने दक्षिण कोरियाली र पश्चिमी गुप्तचर निकायहरूको मूल्याङ्कन रहेको छ ।

जाङका अनुसार दुई जना युद्धबन्दीले अन्तर्वार्ताको अन्त्यमा वृत्तचित्रका निर्मातालाई आफूहरूलाई दक्षिण कोरियामा लैजान अनुरोध गरेका थिए । उक्त अन्तर्वार्ता अक्टोबर २८ मा किएभस्थित एक गोप्य स्थानमा गरिएको थियो, जहाँ उनीहरूलाई युक्रेनी सेनाले कब्जा गरेपछि राखिएको हो ।

जाङले भने, “उनीहरूले अन्तर्वार्ताकारकर्तासँग दक्षिणमा लैजाने वाचा गर्न विनम्र अनुरोध गरेका थिए ।”

दक्षिण कोरियाको संविधानअनुसार उत्तर कोरियाका नागरिकहरूलाई समेत कोरियाली नागरिकका रूपमा मानिन्छ । त्यसैले सियोलले युक्रेनमा पक्राउ परेका उत्तर कोरियाली सैनिकहरूमा पनि यो अधिकार लागू हुने स्पष्ट पारेको छ ।

जाङका अनुसार उक्त अन्तर्वार्ताको भिडियो अहिले सार्वजनिक गरिएको छैन, तर आगामी हप्ताहरूमा प्रकाशन गरिने तयारी भइरहेको छ । उनले भने, “हामीले युद्धबन्दीहरूलाई आशा र हौसला दिन दक्षिणमा बसिरहेका दलबदलकारीहरूको भिडियो सन्देश र पत्रहरू देखाएका थियौँ ।”

ग्योर–इओल नेसन युनाइटेडद्वारा उपलब्ध तस्बिरहरूमा एक युद्धबन्दीले दक्षिण कोरियामा आश्रय पाएका दलबदलकारीहरूका पत्रहरू पढिरहेको देखिन्छ ।

यसअघि, फेब्रुअरीमा युक्रेन भ्रमणमा गएका दक्षिण कोरियाली सांसद यु योङ–विनले पनि एक युद्धबन्दीले आफूलाई दक्षिण कोरियामा बस्न दिन अनुरोध गरेको बताएको थियो । सांसद युले गुप्तचर सेवाको हवाला दिँदै भने, “उत्तर कोरियाली सैनिकहरूलाई बन्दी पर्नुभन्दा आत्महत्या गर्न आदेश दिइएको छ ।”

उनका अनुसार कैदीहरूले आफ्ना घाइते सहकर्मीहरूले ग्रेनेड प्रयोग गरी आत्महत्या गरेको दृश्य देखेका थिए । सांसद युले भने, “यदि ती सैनिकहरूलाई उत्तर कोरियामा फिर्ता पठाइयो भने उनीहरूको मृत्यु निश्चित हुनेछ ।”

प्योङयाङले यस वर्ष अप्रिलमा मात्र रुसको युद्धमा आफ्ना सेना पठाएको स्वीकार गरेको थियो र केही सैनिक मारिएको पनि पुष्टि गरेको थियो ।

उत्तर कोरियाका नेता किम जोङ उनले युद्धमा ज्यान गुमाएका सैनिकका परिवारसँग भेट गरी ‘उनीहरूको असहनीय पीडा’ का लागि समवेदना प्रकट गरेका थिए ।

यसैबीच सियोलस्थित गुप्तचर एजेन्सीले सेप्टेम्बरमा दिएको विवरण अनुसार युक्रेन युद्धमा करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया