मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण

संवादले ‘दिगो र समावेशी अन्तर्राष्ट्रिय प्रणाली निर्माणमा योगदान पुर्याउने’ विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ग्योङ्जु (दक्षिण कोरिया), कात्तिक १४ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । सन् २०१७ पछि दुवै देशका नेताबिचको यो पहिलो औपचारिक वार्ता हो ।

यो भेट जापानका नयाँ प्रधानमन्त्रीसँगको पहिलो छलफल अघि भएको हो । चीन र क्यानाडाबिचको सम्बन्ध पछिल्ला वर्षमा पश्चिमी मुलुक मध्ये सबैभन्दा तनावपूर्ण मानिँदै आएको छ । तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङबिच बिहीबार भएको व्यापार तनाव घटाउने सहमति पश्चात् दुवै देशबिचको वातावरण केही सहज बन्दै गएको छ ।

सीले दक्षिण कोरियामा भइरहेको एपेक शिखर सम्मेलनमा कार्नीलाई सम्बोधन गर्दै भन्नुभयो, “दुवै पक्षको संयुक्त प्रयासले चीन-क्यानाडा सम्बन्धमा सकारात्मक सुधार आएको छ । चीन यो सम्बन्धलाई सही दिशामा लैजान क्यानाडासँग काम गर्न इच्छुक छ ।” प्रधानमन्त्री कार्नीले सीको निमन्त्रणालाई खुशीपूर्वक स्वीकार गर्दै हालका विषय समाधान गर्न ‘रचनात्मक र व्यावहारिक संवाद’ आवश्यक रहेको बताउनुभयो ।

उहाँले यस्तो संवादले ‘दिगो र समावेशी अन्तर्राष्ट्रिय प्रणाली निर्माणमा योगदान पुर्याउने’ विश्वास व्यक्त गर्नुभयो । सन् २०१८ मा क्यानाडामा अमेरिकी अनुरोधमा एक वरिष्ठ चिनियाँ दूरसञ्चार कार्यकारीको गिरफ्तारीपछि चीनले दुई क्यानाडाली नागरिकलाई पक्राउ गरेको घटनाले सम्बन्धमा गहिरो चिसोपन ल्याएको थियो । त्यसयता व्यापारिक तनाव पनि बढ्दै गएको छ ।

हालै क्यानाडाले चीनमा बनेका स्टिलमा २५ प्रतिशत कर लगाएको थियो भने त्यसको जवाफीरूपमा चीनले क्यानाडाली क्यानोला आयातमा करिब ७६ प्रतिशत भन्सार शुल्क बढाएको थियो । क्यानाडा विश्वको अग्रणी क्यानोला उत्पादक राष्ट्रमध्ये एक हो । क्यानोलाको प्रयोग खाना पकाउने तेल, पशु आहार र बायोडिजेल उत्पादनमा गरिन्छ ।

दुवै देश अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापारिक नीतिबाट प्रभावित भएका छन् । बिहीबार ट्रम्पले चीनमाथिको फेन्टानिलसम्बन्धी कर घटाउने र अमेरिकी सोयाबिन आयात बढाउने सम्झौता गरे पनि उहाँले शनिबार क्यानाडाली वस्तुमा थप १० प्रतिशत कर बढाउने घोषणा गर्नु भएको छ । प्रधानमन्त्री कार्नीले एपेकमा सम्बोधन गर्दै ‘नियममा आधारित खुला व्यापारको पुरानो युग समाप्त भएको’ उल्लेख गर्दै अब राष्ट्रले नयाँ आर्थिक सन्तुलन खोज्नुपर्ने बताउनुभयो ।

उहाँले एसियामा ऊर्जा आपूर्तिकर्ता र एलएनजी निर्यातकको रूपमा क्यानाडाको भूमिकालाई पनि जोड दिनुभयो । यसपछि राष्ट्रपति सीले जापानकी नवनियुक्त प्रधानमन्त्री साने ताकाइचीसँग पनि पहिलो पटक भेट गर्नुभयो । चिनियाँ सरकारी मिडियाका अनुसार सीले जापानसँग नयाँ युगका आवश्यकता अनुरूप स्थिर र रचनात्मक सम्बन्धका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ताकाइचीले भने आफ्नो प्रारम्भिक वक्तव्यमा ‘आपसी समझदारी र सहयोग’ बढाउने आवश्यकता औँल्याउँदै चिनियाँ गतिविधिबारे ‘गम्भीर चिन्ता’ व्यक्त गर्नुभयो । उहाँले चिनमा रहेका जापानी नागरिकको सुरक्षाको विषय पनि उठाउनुभएको जापानी सञ्चारमाध्यमले जनाएको छ । टोकियो विश्वविद्यालयका प्राध्यापक यी कुआङ हेङका अनुसार चीन र जापान दुवै स्थिरतालाई साझा प्राथमिकता ठान्छन्, यद्यपि नेताबिच सावधानी र दूरी अझै कायम छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको राशिफल : मेष, तुला र कुम्भलाई आर्थिक लाभ, कर्कट र वृश्चिकलाई चुनौती
२०८३ मंग्सिर ३, बिहिबार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार