श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेकपा बागलुङद्वारा पहिरोपीडितलाई १९ लाख बढी सहयोग प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पश्चिम बागलुङको ढोरपाटनका बाढी पहिरो पीडितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले १९ लाख ५८ हजार रुपैयाँ सहयोग गरेको छ ।

नेकपा बागलुङले नेता कार्यकर्ताबाट स्वैच्छिक रूपमा सङ्कलित राहत रकम ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहत कोषमा जम्मा गरेको हो ।

बिहीबार नेकपा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपाली, जिल्ला इन्चार्ज बलावती शर्मा, जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटासहित नेकपाको टोली बुर्तिवाङमा पुगेर राहत रकम हस्तान्तरण गरेको कार्यालय सदस्य कृष्ण पाठकले जानकारी दिनुभयो । नेकपाले १९ लाख ५८ हजार ७ सय ५६ रुपैयाँ नगरको कोषमा जम्मा गरेको हो ।

पीडितलाई तत्काल राहत र विस्थापितलाई पुनर्स्थापनामा सहयोग गर्ने भन्दै नेकपाले राहत रकम हस्तान्तरण गरेको थियो । रकम हस्तान्तरण गर्दै नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले विपतको सामना सबै मिलेर गर्नुपर्नेमा जोड दिएका थिए ।

ढोरपाटनमा भएको क्षतिप्रति पार्टीको तर्फबाट दुःख व्यक्त गर्दै नेपालीले पीडितलाई राहत र विस्थापितलाई पुनर्स्थापित गराउन तीनै तहका सरकारलाई पार्टीले ध्यानाकर्षण गराएको बताउनुभयो ।

जिल्ला इन्चार्ज बलावती शर्माले पार्टीले गरेको सानो सहयोगले पीडितलाई मल्हमपट्टि लगाउन सहयोग पुग्ने बताउनुभयो । शर्माले सबै क्षेत्रबाट भइरहेको सहयोगलाई पारदर्शी ढङ्गले पीडितसम्म पुर्याउन नगरपालिकालाई आग्रहसमेत गर्नुभयो । राहत रकमको चेक बुझ्दै नगरप्रमुख देवकुमार नेपालीले रकम पीडित समक्ष पुर्‍याउनु प्रतिबद्धता जनाउनु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया