काठमाण्डाैंः कैलालीको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ ।
पत्रकार महासङ्घ कैलाली शाखाको अगुवाइमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षणपत्र बुझाइएको पत्रकार महासङ्घ कैलाली शाखाका अध्यक्ष जगत साउदले बताउनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ बोहराले दोषीलाई आजसम्म पक्राउ गर्ने आश्वासन दिएका छन् ।
“हामीले सम्पूर्ण तरिकाले अनुसन्धान गरेका छौँ”, उनले भने “आइतबारसम्म घटनामा संलग्नलाई समात्न सक्छौँ ।” जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका युवक शुक्रबार शौचालयमा मृतावस्थामा भेटिएका थिए ।
प्रहरीले दिएको जानकारीअनुसार थुनुवाकक्षभित्रै १९ वर्षीय युवकले आत्महत्या गरेको भन्ने समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको थियो । आत्महत्या भन्ने समाचार झुटो भएको र समाचार हटाउनुपर्ने भन्दै २०/२५ जना युवाको समूहले दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि कुटपिट गरेको थियो ।
समूहले सञ्चारगृहका सहसम्पादक जनक विष्टलगायतका पत्रकारमाथि कुटपिट गरेको थियो भने व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात गरेको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया