काठमाडौँ । लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनले नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–५, चालिसेस्थित शिवपुरी आधारभूत अस्पताललाई करिब एक करोड ७६ लाख २० हजार रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ।
बिहीबार नुवाकोटमा आयोजित एक कार्यक्रमबीच लायन्स क्लब इन्टरनेशनलका निवर्तमान निर्देशक बालकृष्ण बुर्लाकोटी, लायन्सका पास्ट डिस्ट्रिक्ट गभर्नर विनोद ढुंगाना तथा परियोजना संयोजक एवं लायन्स क्लब अफ ओमकारका प्रेसिडेन्ट रामहरि सिलवालको नेतृत्वमा आएको टोलीले गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया र उपाध्यक्ष वीरबहादुर तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनको मुख्य सहयोगमा तथा लायन्स क्लब अफ ओमकार र लायन्स क्लब अफ मिडटाउनको सहकार्यमा संकलन गरिएका ती सामग्री शिवपुरी आधारभूत अस्पतालको सेवा विस्तार र उपचार प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रदान गरिएको जनाइएको छ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गोविन्द थपलियाले दुर्गम क्षेत्रमा रहेको आधारभूत अस्पतालका लागि यति ठूलो परिमाणमा प्राप्त स्वास्थ्य सामग्री अत्यन्त उपयोगी हुने बताए। उनले लायन्स क्लब इन्टरनेशनल फाउन्डेशन तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै यसले स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
त्यसैगरी लायन्स क्लब इन्टरनेशनलका प्रतिनिधिहरूले सामुदायिक स्वास्थ्य सेवाको सुदृढीकरण लायन्सको प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि ग्रामीण तथा पिछडिएका क्षेत्रलाई लक्षित गर्दै यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन्।
हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीले अस्पतालको भौतिक तथा प्राविधिक क्षमता अभिवृद्धि भई आकस्मिक उपचार, नियमित स्वास्थ्य परीक्षण तथा आधारभूत सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ।



युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया