काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन आन्तरिक समस्याको मुख्य जड बनेको छ । संस्थापन पक्षले महाधिवेशनलाई जसरी पनि निर्वाचनपछि धकेल्ने प्रयासलाई अन्ततः निर्णय नै गरेर अघि बढेको छ ।
यसको विपक्षमा रहेका महामन्त्री गगान थापा–विश्वप्रकाश शर्माले अघिल्लो बैठकबाट पारित महाधिवेशनको तालिका कार्यान्वयन नभएपछि विशेष महाधिवेशनको तयारी गरेका छन् । महामन्त्रीहरूकै समन्वयमा पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाउने तयारी भएपछि शुक्रबार कांग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो ।
सो बैठकबाट विशेष महाधिवेशनको औचित्य गत मंसिर १५ बाटै सकिएको निष्कर्षसहित आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने तालिका पारित गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५औं महाधिवेशन गर्न प्रस्ताव गरेका थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सो कार्यतालिका पारित गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
तर महामन्त्री गगन थापाले वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५औं महाधिवेशन गर्ने कार्यतालिकामा फरक मत राखेका छन् । बैठकपछि पत्रकारहरूसँग आफूले फरक मत राखेको बताए । पुस मसान्तभित्र विशेष महाधिवेशन हुने उनको भनाइ छ । उनले भने, ‘महाधिवेशनको कार्यतालिकामा फरक मत राखेको छु । अब पुस मसान्तभित्र महाधिवेशन हुन्छ । केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि नगरी हुन्छ त्यो भने एक दुई दिनभित्र टुंगिन्छ ।’
एक दुई दिनमा बैठक नबोलाए विधानको पालना नगरेको कुरा आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । उनले भने, ‘पार्टीका कार्यवाहक सभापतिसहित जिम्मेवार नेताले विधानको पालना गर्नुपर्छ । विधानको उल्लंघन गर्न छुट कसैलाई छैन । हामी फरक मत राख्यौं भनेर घरमा गएर सुत्दैनौं ।’ उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठुलो भएको बताए । विधानको कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय कार्यसमितिको भएको भन्दै उनले केन्द्रीय कार्यसमितिले नगरे केन्द्रीय कार्यालयको नेतृत्व गर्ने महामन्त्रीले नै विशेष महाधिवेशन बोलाउने थापाले बताए । ‘धारा १७(२)को पालना गर्छु, गर्छाैं,’ महामन्त्री थापाले भने ।
महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा हलसमेत बुक गरिसकेका छन् । हल बुकिङ गरेपछिको परिस्थितिबारे छलफल गर्न कांग्रेसमा विभिन्न कोणबाट छलफल भइरहेको छ । शुक्रबार कार्यसम्पादन समितिको बैठकले गरेको नयाँ कार्यतालिका र वैशाखसम्म केन्द्रीय समितिको म्याद थपको निर्णयले संस्थापनइतर पक्ष थप असन्तुष्ट भएको छ । आफ्नो समूहसँग छलफल नै नगरी संस्थापनपक्षले एकलौटी गरेको निर्णयप्रति नेताहरूले फरक मतसहित विरोध जनाएका छन् । यद्यपि कार्यसम्पादन समितिको बहुमतका साथ निर्णय लिएको नेताहरूले बताए । कार्यसम्पादन समितिको बैठकअघि कार्यवाहक सभापति खड्काले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । सभापतिसँगको छलफलका आधारमा कार्यवाहक सभापतिले पेस गरेको कार्यतालिका बैठकले पारित गरेको हो । मध्यान्ह दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया