पुष २२, २०८२ मंगलबार January 6, 2026

नयाँ-पुराना टक्कर : पुरानाको वर्चस्व खोस्न कति सहज ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । जेनजी आन्दोलन, नयाँ दल र लोकप्रिय अनुहारको दलीय राजनीतिमा प्रवेश अनि पुराना दलहरूको खस्केको मनोबलले आउँदो चुनाव रोचक मोडमा आइपुगेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नयाँ दल लोकप्रिय जनमतसहित उदाउने सम्भावना जति छ, पुराना दल पुरानै हैसियतमा फर्किने विश्लेषणलाई पनि नकार्न सकिँदैन । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बेलाबखत भन्ने गरेझैं नेपाली मतदातामा वैकल्पिक शक्तिको मेन्यु ओल्टाइपल्टाइ हेरेर अन्तिममा पुरानै स्वादको मःम र चाउमिन अर्डर गर्ने प्रवृत्ति देखिन्छ । २०६२/६३ को जनआन्दोलनपछिका चारवटा निर्वाचनले पनि त्यही देखाउँछ ।

आउँदो २१ फागुनको चुनावबाट मुख्य राजनीतिक शक्तिका रूपमा उदाउनेगरी रास्वपाले वैकल्पिक राजनीतिको सुरुवातकर्ता मानिएको विवेकशील साझादेखि स्वतन्त्र एवं लोकप्रिय अनुहारलाई पार्टीमा भित्र्याएको छ । गत निर्वाचनमा २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा आठ प्रत्यक्षसहित २१ सांसद्सहित गत निर्वाचनमा उदाएको रास्वपालाई तीन वर्षपछि हुन लागेको मध्यावधिमा पहिलो दल बन्न सजिलो भने छैन । विघटित संसद्मा रास्वपाका केही सांसद्को भूमिका प्रशंसायोग्य थियो । बेथिति र कुशासनविरुद्ध उभिएको रास्वपाका सभापति रवि लामिछाने स्वयं भने सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा पुगेका व्यक्ति हुन् । मुद्दा अझै सुल्झिएको छैन, उनी धरौटीमा छुटेर चुनावको तयारी गर्दै छन् । यसले नयाँ दलको नैतिक मूल्य भन्ने पुराना दलका नेताभन्दा माथि देखिँदैन । तर जेनजी आन्दोलनसँग जोडिएका अगुवा र समूहको साथ अनि पुराना दलको विकल्पमा उठेको आवाजको लाभ भने रास्वपाले पाउनेछ । नयाँ पुस्ताको त्यही समर्थनको बलमा रास्वपाले प्रतिनिधि सभामा बहुमत अर्थात् १ सय ३८ सिट जित्ने दाबी गरिरहेको छ ।

आउँदो चुनावको नतिजाको आकलन गर्नुअघि २०६४ यताका चार चुनावका नतिजालाई एकपटक फर्केर हेरौं । यो दुई दशकमा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र (अब नेपाली कम्युनिस्ट पार्टी)ले नै पालैपालो जनमत आफ्नो पक्षमा पारेको देखिन्छ ।

२०६४ चैत २८ मा भएको पहिलो संविधान सभा निर्वाचनबाट नेकपा माओवादी उसैलाई पत्याउन कठिन हुनेगरी भारी जनमत पाएको थियो । त्यतिबेला माओवादी नयाँ र कांग्रेस–एमाले पुराना संसदीय दल थिए । ६ सय १ सदस्यीय संविधान सभामा माओवादीले प्रत्यक्षतर्फका २ सय ४० सिटमध्ये आधा १ सय २० सिट जितेको थियो । समानुपातिकतर्फ ३१ लाख ४४ हजार मत ल्याएर थप १ सय ९ सिट प्राप्त गरेको थियो । दशक लामो सशस्त्र विद्रोहबाट संसदीय राजनीतिमा फर्केको पहिलो चुनावमै माओवादी २ सय २९ सिटसहित संसद्को पहिलो शक्ति बनेको थियो । कांग्रेस प्रत्यक्षतर्फ ३७ र एमाले ३३ सिटसहित क्रमशः दोस्रो र तेस्रो दल बनेका थिए । कांग्रेस–एमालेको सिट जोड्दा पनि माओवादी ठुलो थियो । समानुपातिक मत पनि कांग्रेस–एमालेभन्दा झन्डै १० लाख धेरै थियो ।

यो स्थिति ६ वर्ष पनि टिकेन । २०७० को संविधान सभा निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउनेगरी हिँडेको माओवादी चुनावी नतिजा स्वीकार्न नसक्ने स्थितिमा ओर्लेको थियो । अघिल्लो चुनावको पहिलो शक्ति तेस्रो दलमा झरेको थियो । कांग्रेसले प्रत्यक्षतर्फ ९१ सिट र समानुपातिकतर्फ २६ लाख ९४ हजार मतसहित १ सय ९६ सिटसहित पहिलो भयो भने एमालेले प्रत्यक्षतर्फ ८४ र समानुपातिकतर्फ २४ लाख ९२ हजार मतसहित १ सय ७५ सिटसहित दोस्रो ठुलो दल बन्यो । माओवादीको लोकप्रिय मत झन्डै आधा घटेको थियो । प्रत्यक्षतर्फ ५४ र समानुपातिकतर्फ १६ लाख ९ हजार मतसहित ८० सिटमा खुम्चिएको थियो । २०६४ को चुनावमा मधेसमा उदाएका मधेसी जनअधिकार फोरम र तमलोपाको प्रभाव पनि निकै घटेको थियो ।

संविधान सभाबाट संविधान बनेपछि भएको २०७४ को आमचुनावमा वामपन्थी दलहरूले दुई तिहाइ बहुमत ल्याएका थिए । एमाले–माओवादी केन्द्र चुनावी गठबन्धन र लगत्तैको पार्टी एकताले संघीय संसद् मात्र होइन, प्रदेश सरकारसमेत राताम्ये भएका थिए । सो चुनावमा एमाले प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ३१ लाख ७३ हजार मतसहित १ सय २१ सिट पाउँदा कांग्रेसले प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ३१ लाख २८ हजार मतसहित ६३ सिटमा खुम्चिएको थियो । माओवादी केन्द्रले प्रत्यक्षतर्फ सुधार गरे पनि लोकप्रिय मतको ओरालो यात्रा भने रोकिएन । माओवादीले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १३ लाख ३ हजार मतसहित ५३ सिट जितेको थियो ।

झन्डै दुई तिहाइ बहुमतमा पुगेको वामपन्थी जनमत तीन वर्ष पनि टिकेन । नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिए । लगत्तै, एमाले पनि विभाजन नभई वामशक्ति तीन टुक्रा भए । तितरबितर भएर २०७९ को चुनावमा जाँदा पनि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समग्र मत निराशाजनक भने रहेन । लोकप्रिय मतमा एमाले पहिलो शक्ति बन्यो भने माओवादी केन्द्रले प्रचण्डको शब्दमा ३२ सिटको ‘म्याजिक नम्बर’ प्राप्त गर्‍यो । थ्रेसहोल्ड कटाएर राष्ट्रिय दल बन्न नसके पनि नेकपा एसले प्रत्यक्षतर्फ १० सिट जितेको थियो । तर पाँचै वर्ष कांग्रेस पहिलो दलमा फर्किएको थियो । कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ २७ लाख १५ हजार मतसहित ६९ सिट जितेर संसद्को पहिलो दल बन्यो । एमाले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ २८ लाख ४५ हजार मतसहित ७८ सिटसहित दोस्रो ठुलो दल बन्यो भने माओवादी केन्द्रको ओरालो यात्रा रोकिएन । उसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ११ लाख ७५ हजार मतसहित ३२ सिट जितेको थियो ।

चुनावी नतिजाको यो उतारचढावले पुराना संसदीय दलप्रति आममतदाताको निरन्तर समर्थन देखिन्छ । दलहरू चुनाव हारेर पनि पुनः वर्चस्व फर्काएका छन् । त्यसका पछाडि पुरानो संगठन, प्रस्ट राजनीतिक विचार एवं सिद्धान्त र प्रतिबद्ध नेता कार्यकर्ताको पंक्तिलाई मुख्य कारक मानिएको छ । चुनावी प्रणालीलाई दोष दिए पनि खासमा पुराना दलहरू एक्लैले सरकार बनाउन सक्नेगरी लोकप्रिय भने छैनन् । तर सत्ताबाटै बाहिर बस्नुपर्नेगरी कहिल्यै जनमत गुमाएका पनि छैनन् । ३२ सिट जित्दा पनि माओवादी केन्द्रले सरकारको नेतृत्व गर्‍यो । त्यही सत्ता चलखेलले २१ सिट जित्दा पनि नयाँ दल रास्वपाका सभापति रवि लामिछानेलाई दुईपटक उपप्रधानमन्त्री एवं गृहमन्त्री बनाइदियो । बरु संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको पालो कुर्दाकुर्दै संसद् नै विघटन हुन पुग्यो । एउटै दलको बहुमत नपुगेकै कारण तीन दलहरू कांग्रेस, एमाले र साबिकको माओवादी केन्द्रले बितेका दुई दशक आलोपालो सत्ता चलाइरहेका छन् । पछिल्लो एक दशकमा त प्रधानमन्त्रीको पद एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको म्युजिकल चेयर नै बनेको छ । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार