पुष २२, २०८२ मंगलबार January 6, 2026

पछि नहट्ने रणनीतिमा गगन-विश्व

महाधिवेशनको किचलोबारे महामन्त्रीद्वयले लिए कानुन व्यवसायीहरूसँग परामर्श

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सम्भावित सबै परिस्थितिको तयारीसहित पार्टी निर्णयलाई चुनौती दिँदै विशेष महाधिवेशनमा अघि बढेका कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुन व्यवसायीसँग परामर्श लिएका छन् । पार्टी निर्णयविपरीत विशेष महाधिवेशनको गृहकार्यमा लागेका उनीहरूले सम्भावित कानुनी अड्चन र विवाद निर्वाचन आयोगदेखि न्यायालय पुग्दासम्म लिने रणनीतिबारे कानुन व्यवसायीसँग छलफल गरेका हुन् ।

केन्द्रीय कार्यसम्पादन समितिबाट बहुमतले वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको भोलिपल्ट थापा र शर्माले वरिष्ठ अधिवक्ताहरू यदुनाथ खनाल, प्रेम खड्का, डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष सीताराम केसी र पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेलगायत कानुन व्यवसायीहरूसँग विशेष महाधिवेशनबारे परामर्श गरेका हुन् । कानुन व्यवसायीले विधानअनुसार माग भएको विशेष महाधिवेशन बोलाउन सकिने सुझाव दिएका छन् ।

बहुमत प्रतिनिधिले लिखित माग गर्दा पनि महाधिवेशन नबोलाउनु विधानविपरीत हुने र विधानअनुसार माग भएको महाधिवेशन रोक्ने अधिकार कसैलाई नभएको उनीहरूको तर्क छ । ‘कांग्रेसको विधानको धारा १७ (२) बाध्यकारी प्रावधान हो । केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनैपर्छ । यसलाई रोक्ने अधिकार कसैलाई पनि छैन, महामन्त्रीहरूले विशेष महाधिवेशन बोलाउन सक्नुहुन्छ,’ थापा र शर्मालाई कानुन व्यवसायीको सुझाव छ ।

केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए महामन्त्रीले केन्द्रका तर्फबाट बोलाउन सक्ने उनीहरूको सुझाव छ । ४० प्रतिशत प्रतिनिधिले स्वयं पनि विशेष महाधिवेशन बोलाउन सक्ने उनीहरूले बताएका छन् । राजनीतिक दलसम्बन्धी ऐनअनुसार विधानविपरीत पार्टी चलेमा निर्वाचन आयोगले जरिवाना गर्न सक्नेसमेत बताएका छन् ।

एजेन्डा र प्रक्रियाको विषयमा पनि कानुनविद्हरूले सुझाव दिएका छन् । ‘धारा १७ (२) आफैँमा केन्द्रीय महाधिवेशनको कार्यविधि हो । निवेदनकर्ताले उल्लेख गरेको कारण र एजेन्डा नै विशेष महाधिवेशनको एजेन्डा मानिनेछ । थप कार्यविधि आवश्यक भए महाधिवेशनले स्वयं तय गर्ने अधिकार राख्छ,’ कानुनविद्हरूले भनेका छन् ।

गत २९ असोजमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको लिखित माग गरेका थिए । विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ । तर, शुक्रबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बहुमतका आधारमा पुसको महाधिवेशन स्थगित गर्दै वैशाखमा महाधिवेशन गर्ने गरी नयाँ तालिका ल्याइएको छ ।

महामन्त्री थापाले विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताएका छन् । केन्द्रीय समितिले निर्णय गरेर हुन्छ वा केन्द्रले आह्वान गरेर हुन्छ भन्ने कुरा केही दिनमा टुंगो लाग्ने उनले बताए । ‘अब विशेष महाधिवेशन हुन्छ । तर, केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि केन्द्रले आह्वान गरेर भन्ने विषय केही दिनमै टुंगिन्छ,’ थापाको भनाइ उद्धृत गर्दै एक नेताले भने । विधानअनुसार जुनसुकै अवस्थामा जान आफूहरू तयार रहेको उनले बताए ।

पार्टीको पद्धति र अस्तित्व अहिलेको महत्वपूर्ण विषय भएको अर्का महामन्त्री शर्माले भनेका छन् । ‘निर्वाचनअघि महाधिवेशन गर्नुपर्छ, नयाँ नीति र नेतृत्वसहित नयाँ संकल्प लिएर निर्वाचनमा जानुपर्छ भनेर निरन्तर प्रयत्न गरियो । नेतृत्वमा को रहने भन्ने विषय गौण हो । मुख्य कुरा पद्धति विकास गर्नु र पार्टीको अस्तित्व रक्षा गर्नु हो,’ उनले भनेका छन् ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि विशेष महाधिवेशन बाध्यकारी भएकामा आफूहरू स्पष्ट रहेको थापा र शर्माले बताएका छन् । ‘अझै पनि हाम्रो प्रयास केन्द्रले आफैँ बोलाउनुपर्छ भन्ने छ । त्यसका लागि लागेका छौँ, अन्तिमसम्म लाग्नेछौँ । केन्द्रले बोलाएन भने यो माग बेवारिसे हुन सक्दैन, बिधान र कानुनबमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्य हामीले सचेततापूर्वक पूरा गर्नुपर्छ, गर्नेछौँ,’ उनीहरूले भनेका छन् ।

केन्द्रीय समितिको बहुमतको निर्णय मान्नुपर्छ : शेखर पक्ष

कांग्रेस नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन पक्षसँग भावना मिले पनि बहुमतको निर्णय मानेर जानुको विकल्प नभएको बताएका छन् । काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूसँग विशालनगरस्थित सम्पर्क कार्यालयमा कोइरालाले शनिबार गरेको छलफलमा आमनिर्वाचनमा एक भएर अघि बढ्नुको विकल्प नभएको निष्कर्ष निकालिएको छ । छलफलपछि सहमहामन्त्री जीवन परियारले पुसमै विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वयको अडानप्रति आपत्ति जनाए । ‘जसरी पनि विशेष महाधिवेशन गर्छौँ भन्ने महामन्त्रीहरूको भनाइ छ । बहुमतको निर्णयलाई लत्याएर आफूले गरेको निर्णय नै सही र सत्य छ भन्नुहुन्न । विशेष महाधिवेशनको औचित्य के हो र कहाँ पुग्छ भन्ने विषयमा मतान्तर हुन सक्छ,’ उनले भने, ‘पार्टीभित्र अझै छलफल हुन्छ । छलफलबाट जे निष्कर्ष आउँछ, त्यसैलाई लिएर अगाडि बढ्ने हो । चित्त बुझेन भने कार्यकर्तामा जाने हो ।’

निर्णय तलमाथि हुन्न, अब वैशाखमा महाधिवेशन हुन्छ : प्रवक्ता महत

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कार्यसम्पादन समितिको निर्णयअनुसार कांग्रेस अगाडि बढ्ने बताएका छन् । व्यक्तिगत मत फरक भए पनि पार्टीको निर्णय मानेर जानुको विकल्प नभएको उनले बताए । ‘मतान्तर हुन सक्छन् । बैठकमा छलफलका क्रममा फरक मत पनि आउन सक्छन् । तर, निर्णय भइसकेपछि मान्दिनँ भन्न पाइन्न, मानेर जानुको विकल्प हुँदैन,’ उनले भने, ‘पुसको महाधिवेशन स्थगित भइसकेको छ, अब नयाँ कार्यतालिकाअनुसार कांग्रेस अघि बढ्छ र वैशाखमा महाधिवेशन हुन्छ ।’ नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार