पुष २२, २०८२ मंगलबार January 6, 2026

बहुमतको पेलानमा गगन–विश्व

निर्वाचनमा टिकट वितरण गरेर मात्रै पार्टीको महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने सभापति शेरबहादुर देउवा र उनको समूहको योजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं ।  विशेष महाधिवेशन गर्ने तयारीमा जुटेका नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीभित्र एक्लिँदै गएका छन् ।

संस्थापन पक्षले १५औं महाधिवेशन वैशाखमा गर्ने गरी नयाँ कार्यतालिका ल्याएको छ । निर्वाचनअघि कुनै हालतमा महाधिवेशन गरेर नयाँ नीतिसहित नयाँ नेतृत्व लिएर जनतामाझ जानुपर्ने अडानमा रहेका इतर समूहका डा. शेखर कोइरालासहितका नेताहरूले समेत पार्टीको निर्णयलाई स्वीकार गरेका छन् । योसँगै पार्टीभित्र गगन–विश्वले बोकेको विशेष महाधिवेशनको एजेन्डा फितलो बनेको छ ।

शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिले बहुमतको आधारमा १५औं महाधिवेशन वैशाखको २७ देखि ३१ मा गर्ने निर्णय गरेपछि कांग्रेसभित्रको विवाद थप उत्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवाकै निर्देशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाखमा महाधिवेशन गर्ने निर्णय गराएका थिए ।

तर यो निर्णयप्रति महामन्त्रीद्वयसहित पाँच जना नेताहरूले फरक मत राखेका छन् । बहुमतको निर्णय अस्वीकार गर्दै महामन्त्री थापाले केही दिनमा विशेष महाधिवेशन आह्वान गर्ने अडान छाडेका छैनन् ।  विशेष महाधिवेशनको दस्तावेज लेखनमा समेत नेताहरू जुटिसकेको बताइएको छ ।

विधानमा भएको व्यवस्थाको कार्यान्वायन गर्दै विशेष महाधिवेशन पक्षधर नेताहरू कानुनी परामर्शमा जुटेका छन् । शनिबार महामन्त्रीद्वय गगन–विश्वप्रकाशले डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए)का पदाधिकारीसहित कानुन व्यवसायीहरूसँग पछिल्लो पटक परामर्श लिए । कांग्रेसको विधानको धारा १७ (२) मा ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ’ भन्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार विशेष महाधिवेशनलाई औचित्यहिन बनाउन कसैले नसक्ने भन्दै अघि बढ्न सुझाव दिएको डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्त सीताराम केसीले जानकारी दिए ।

तर संस्थापन इतर समूहका नेता डा. कोइरालाले शनिबार बिहान आफ्नो पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिसहित काठमाडौंमा उपलब्ध नेताहरूसँग परामर्श गरेर विशेष महाधिवेशनमा सहभागी नहुने स्पष्ट सन्देश दिएका छन् । उक्त छलफलमा नेता कोइरालाले निर्वाचनअघि नै नियमित महाधिवेशनको अडान राखेपनि पार्टीका पदाधिकारीसहित जिम्मेवार नेताहरूकै कारण नियमित महाधिवेशन हुन नसक्ने अवस्था बनेको टिप्पणी गरे ।

‘मेरो एजेन्डा निर्वाचनअघि महाधिवेशन गरेरै जानुुपर्छ भन्ने थियो’, उनले भने, ‘तर बहुमतले गरेको निर्णयलाई मान्दिन भन्न मिलेन । विशेष महाधिवेशनको माग गर्ने साथीहरूको भावनालाई सम्मान गर्दै पार्टीलाई एकढिक्का राख्न म त्यो कित्तामा उभिन सकिनँ ।’

आगामी निर्वाचनमा एक भएर जानेबेलामा पार्टीलाई विभाजनको बाटोतिर जानबाट रोक्नुपर्ने भन्दै उनले विभिन्न तहका नेताहरूसँगको संवादलाई बाक्लो बनाएका छन् । केन्द्रीय समितिको निर्णयविपरीत विशेष महाधिवेशनमा गए पार्टीमा विग्रह आउने उनको दाबी छ ।

गत १४औं महाधिवेशनमा कोइरालाकै नेतृत्वमा टिम बनाएर महामन्त्री जितेका महामन्त्री थापाले कोइरालाको साथ पाइने आशा गरेका थिए ।  तर पछिल्लो पटक उनले कोइरालासँगको दूरी टाढा बनाउँदै गएका छन् । आफ्नै समूहका नेता कोइरालासँग बिना परामर्श विशेष महाधिवेशनको एजेन्डा उठाएर अघि बढेका थापाले १५औं महाधिवेशनमा सभापति लड्ने घोषणा गरिसकेका छन् ।

संस्थापन इतर टिमबाट नेता कोइरालाले नै सभापतिको निर्विकल्प उम्मेदवार बनाउने तयारी गरेको छ । योसँगै कोइराला र थापाबीच सहकार्य भन्दा पनि प्रतिस्पर्धा हुने सम्भावना बढेको छ । तर कतिपय नेताहरूले शेखर–गगनलाई सँगै राख्ने उपायहरू खोजी गर्दै १५औं महाधिवेशनमा एकैठाउँ उभिनुपर्ने बताएका छन् ।

सहमहामन्त्री बद्री पाण्डे शेखर–गगन एकैठाउँ रहेमात्रै पार्टीमा रूपान्तरणको धारमा जाने बताए । उनले मध्यान्हसँग भने, ‘१४औं महाधिवेशनका नेता शेखर कोइराला र महामन्त्री गगन थापा १५औं मा एकैठाउँ हुनुपर्छ भनेर हामीले आवश्यक सुझाव दिएका छौं । पार्टीलाई रूपान्तरित र गतिशील बनाउन उहाँहरू एक भएर पार्टी र देश हाँक्नुपर्छ भन्ने आम कार्यकर्ताको भावना छ ।’

तर अहिले टिम को–को बनाउने भन्दा पनि पार्टीलाई विधानसम्मत लैजानुपर्ने विशेष महाधिवेशन पक्षधर नेताहरूले बताएका छन् । पार्टीको १४औं महाधिवेशनमा भोट हालेका ४७ सय ४३ जनामध्ये ५४ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशन बोलाएका छन् । असोज २९ गते नै कार्यवाहक सभापति पूर्णबहादुर खड्कामार्फत १ सय १ नम्बरमा दर्ता गराएको हस्ताक्षरसहितको निवेदनअनुसार यही पुसको २८ भित्र विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक व्यवस्था छ । तर संस्थापन इतर समूहका नेताहरूले गत मंसिर १५ गतेको केन्द्रीय समिति बैठकबाट नियमित महाधिवेशमा जाने तालिकासहितको निर्णय गरिसकेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भएको दाबी गरेका छन् । प्रचार विभाग प्रमख मीन विश्वकर्माले मंसिर १५ गतेको निर्णय अनुसार अहिले पार्टीका विभिन्न संरचना नियमित महाधिवेशनकै प्रक्रियाअन्तर्गत क्रियाशील सदस्यात नवीकरण तथा वितरणको काम भइरहेको जिकिर गरे ।

केन्द्रीय समितिको निर्णयअनुसार पुस २६–२९ मा नियमित महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोही मितिमा विशेष महाधिवेशन बोलाउने अन्तिम तयारीमा छन् । यद्यपि नेता शेखरको असहयोगमा हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूको कोरम पुर्‍याउने विषय चुनौतीपूर्ण बन्दै गएको छ । कोइरालाले आइतबार पनि काठमाडौंमा उपलब्ध आफ्ना समूहका नेताहरू र महाधिवेशन प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । १४औं महाधिवेशनमा सभापति लडेर ४१ प्रतिशत मत ल्याएका नेता कोइरालाले संस्थापन पक्षले गरेको निर्णयलाई समर्थन गर्ने भएपछि विशेष महाधिवेशन पक्षधर नेताहरू अन्योलमा परेका छन् । तीमध्ये धेरैजसो नेताहरू पार्टीको आधिकारिक निर्णयविपरीत महामन्त्रीले बोलाएको भेलामा नजाने बताएका छन् । शेखर–गगन समूहबाट सहमहामन्त्री बनेका जीवन परियारले महामन्त्रीसमेत बसेर गरिएको पार्टीको आधिकारिक निर्णयका विरुद्धमा जान नसकिने बताए ।

जसरी पनि विशेष महाधिवेशन गर्ने महामन्त्रीहरूको अडान पार्टीको निर्णय नभई व्यक्तिगत मत भएको उनको दाबी छ । पार्टीभित्र विशेष महाधिवेशनको सन्दर्भमा बहस, विचार, विमर्श भएकाले पार्टीको अन्तिम निर्णयलाई आत्मसात गरेर जानुपर्ने नेता परियारले बताए । ‘अब विशेष महाधिवेशन जसरी पनि गर्ने भन्ने सन्दर्भमा यो उहाँ (महामन्त्री) को कुरा भयो । सबैको विचार एउटै हुनुपर्छ भन्ने छैन । त्यसैले यसलाई कसरी लिएर जाने, यसको औचित्य के हो  ? यसको निष्कर्ष के हो ? यो कहाँ पुग्छ, भन्ने कुरामा मतमतान्तर हुनसक्छ । मैले जे भनेको छु, त्यही नै सही हो भन्ने त हुँदैन, पार्टीभित्र छलफल हुनुपर्छ ।’ विशेष महाधिवेशनको अडानका सन्दर्भमा उनले पार्टी कुनै व्यक्तिगत कम्पनी नभएको टिप्पणी गरे ।

मंसिर १५ मा केन्द्रीय समितिले आवधिक महाधिवेशनको कार्यतालिका ल्याएपनि महाधिवेशनपूर्व सम्पन्न गर्नुपर्ने प्रक्रिया पूरा नभएको कांग्रेसले जनाएको छ । पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले नियमित महाधिवेशन गर्ने निर्णय भएपनि समयको पदचापका कारण कार्यतालिकाअनुसार काम सम्पन्न नभएको बताए ।

उनले मध्यान्हसँग भने, ‘हामीले गत मंसिर १५ गते नै नियमित महाधिवेशनका कार्यतालिका ल्याएका थियौं । तर अत्यन्तै टाइट सेड्युल भएकाले त्यस अनुसार काम गर्न सकिएन । अहिले पनि हामी १५औं महाधिवेशनको प्रकृयामै रहेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको छ ।’

नेता महतसहित संस्थापन पक्षले चुनावअघि कुुनै हालतमा महाधिवेशन नगर्ने योजनाबद्ध तरिकाबाट गतिविधिहरू गर्दै आएको आरोप छ ।

निर्वाचनमा टिकट वितरण गरेर मात्रै पार्टीको महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने सभापति शेरबहादुर देउवा र उनको समूहको योजना छ । तर निर्वाचन अघि नै नेतृत्व लिएर नयाँ जोशकासाथ निर्वाचनमा होमिने महामन्त्री थापाले कम्मर कसेका थिए । तर पछिल्लो समय सभापति देउवा र महामन्त्री थापा पक्षबीच पार्टीभित्र तनावपूर्ण स्थिति बन्दै गएको छ । यो अवस्थालाई सम्हालेर पार्टीलाई एक ढिक्का राख्दै निर्वाचनमा जाने वातावरण तय गर्न सबै पक्षका नेताहरूसँगको संवादलाई घनिभुत बनाएका छन् ।

निर्वाचन अगाडि महाधिवेशन गरेर नयाँ उर्जा, नीति, संकल्पसहित निर्वाचनमा जानुपर्ने पर्छ भन्ने विषय राजनीतिक विषय भएकाले आफूहरू निरन्तर प्रयत्नमा रहेको महामन्त्रीद्वयको भनाइ थियो । ‘हामीले बारम्बार भनेका छौं– नेतृत्वमा हामी को रहने भन्ने विषय गौण हो । पार्टीको अस्तित्व, पद्दतिको विषय महत्वपूर्ण हो’, उनले भने ।  मध्यान्ह दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार