पुष २२, २०८२ मंगलबार January 6, 2026

मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप

अमेरिकाको फ्लोरिडास्थित डोरल सहरमा ठूलो भेनेजुएलाली समुदायले मदुरोको पतनलाई स्वागत गर्दै उत्सव मनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काराकास, २० पुस (रासस/एपी) :भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देश बाहिर लगिएको केही घन्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताउनुभएको छ । उहाँले शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको स्पष्ट गर्नुभयो ।

यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौँदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ । सन् २००३ मा इराक आक्रमणपछि शासन परिवर्तन हासिल गर्ने यो सबैभन्दा आक्रामक अमेरिकी कदम मानिएको छ । तर, कङ्ग्रेसको स्वीकृति बिना गरिएको यस सैन्य कारबाहीको कानूनी वैधतामाथि कानूनी विज्ञहरूले तुरुन्तै प्रश्न उठाएका छन् ।

मदुरो र उहाँकी पत्नी सिलिया फ्लोर्सलाई राजधानी काराकासस्थित एक सैन्य आधारको निवासबाट रातारात नियन्त्रणमा लिई अमेरिकी युद्धपोतमार्फत अमेरिका लगिएको थियो । उनीहरूलाई ‘नार्को–आतङ्कवाद’ षड्यन्त्रमा संलग्न भएको आरोपमा अभियोजनका लागि ल्याइएको अमेरिकी अधिकारीहरूले बताएका छन् । मदुरोलाई बोकेको विमान शनिबार अपराह्न न्युयोर्क नजिकै अवतरण गरेपछि सङ्घीय एजेन्टहरूको कडा सुरक्षाबीच उहाँलाई म्यानहट्टनस्थित अमेरिकी लागुऔषध नियन्त्रण प्रशासन (डिइए) कार्यालय लगिएको थियो । ब्रुकलिनको सङ्घीय जेलमा मुद्दाको पर्खाइमा उहाँलाई हिरासतमा राखिने अपेक्षा गरिएको छ ।

ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको भिडियोमा मदुरो मुस्कुराउँदै डिइए एजेन्टहरूको साथमा देखिनुभएको छ । यद्यपि अमेरिकी अधिकारीहरूले तत्काल उहाँ जेलमा रहेको औपचारिक पुष्टि गरेका छैनन् ।

यस कदमबारे भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गर्नुभएको छ । भेनेजुएलाको कानूनअनुसार उहाँले अन्तरिम भूमिका ग्रहण गर्न सक्ने व्यवस्था भए पनि रोड्रिग्जले राज्य टेलिभिजनमार्फत आफू सत्ता लिन इच्छुक नरहेको र ‘भेनेजुएलामा एक मात्र राष्ट्रपति निकोलस मदुरो मोरोस नै हुनुहुन्छ’ भन्ने धारणा व्यक्त गर्नुभयो ।

ट्रम्प प्रशासनले यो अपरेसनलाई अमेरिकामा लागुऔषधको अवैध प्रवाह रोक्ने कदमका रूपमा व्याख्या गरेको छ । राष्ट्रपति ट्रम्पले मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा ‘सुरक्षित र विवेकपूर्ण सङ्क्रमण सम्भव नहुन्जेलसम्म अमेरिकाले भेनेजुएलाको प्रशासनमा सहयोग गर्ने’ बताउनुभयो । उहाँले यसलाई अमेरिकी सार्वभौमिकता र नागरिकको सुरक्षामाथि खतरा पु¥याउनेहरूप्रति कडा चेतावनीका रूपमा पनि वर्णन गर्नुभयो ।

शनिबार बिहान काराकासमा विस्फोटहरू सुनिनुका साथै कम उचाइमा सैन्य विमानहरू उडेको देखिएको थियो । भेनेजुएलाको सरकारले यसलाई ‘साम्राज्यवादी आक्रमण” भन्दै नागरिक र सैन्य प्रतिष्ठानहरूमा क्षति पुगेको आरोप लगाएको छ’। आक्रमण करिब ३० मिनेट चलेको बताइन्छ । उपराष्ट्रपति रोड्रिग्जका अनुसार केही नागरिक र सुरक्षाकर्मी मारिएका छन्, तर सङ्ख्या खुलाइएको छैन । अमेरिकी पक्षले भने केही सैनिक घाइते भए पनि मृत्यु नभएको जनाएको छ ।

मदुरोको कब्जापछि काराकासका केही क्षेत्रमा समर्थकहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरे भने अन्य स्थानहरू सुनसान देखिए । बिजुली अवरुद्ध भएका क्षेत्रहरूमा त्रासको वातावरण थियो । “सबैजना डराएका छन्, धेरै परिवार सुत्न सकेनन्”, काराकासका बासिन्दा नोरिस प्रादाले भन्नुभयो ।

यसबीच, अमेरिकाको फ्लोरिडास्थित डोरल सहरमा ठूलो भेनेजुएलाली समुदायले मदुरोको पतनलाई स्वागत गर्दै उत्सव मनाएको देखियो ।

अन्तर्राष्ट्रिय रूपमा पनि यस घटनाले तरङ्ग ल्याएको छ । कोलम्बियाको आग्रहमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले भेनेजुएलामा अमेरिकी सैन्य अपरेसनबारे छलफल गर्न आपतकालीन बैठक बोलाउने तयारी गरेको कूटनीतिक स्रोतहरूले जनाएका छन् । अमेरिकी कङ्ग्रेसका दुवै दलका केही सांसदहरूले कङ्ग्रेसको स्वीकृति बिना गरिएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रशासनसँग यसको कानूनी आधार र क्षेत्रीय स्थिरताबारे स्पष्ट जवाफ माग गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार