पुष २२, २०८२ मंगलबार January 6, 2026

चुनावी गठबन्धनको प्रयासमा शीर्ष तीन दल

भदौ २३-२४ को घटनापछि पहिलोपटक ओली र दाहालबीच एक्लाएक्लै भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। मुलुकका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच चुनावी तालमेलको प्रयास तीव्र भएको छ। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै नयाँ र आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने दल तथा समूह एक ठाउँमा आइसकेका छन्।

गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ विद्रोहपछिको प्रमुख शक्ति बन्ने उद्देश्यका साथ काठमाडौं महानगरका प्रमुख बालेन्द्र (बालेन) साह र अन्तरिम सरकारका मन्त्रीसमेत रहेका कुलमान घिसिङको उज्यालो नेपाल पार्टी (उनेपा) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भइसकेका छन्। आफूलाई वैकल्पिक शक्ति भन्दै आएको दल तथा समूहबीच भएको एकताले परम्परागत दलहरूमाथि ठूलो दबाब सिर्जना भएको छ।

नयाँहरू दल तथा समूहहरू एकठाउँ आएपछि पुराना दलहरू पनि मोर्चाबन्दीको गृहकार्यमा जुटेका छन्। खासगरी ‘जेन–जी’ आन्दोलनकै कारण सत्ताबाट बहिर्गमित भएका नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी गठबन्धनको प्रयास तीव्र बनाएका छन्।

पछिल्ला दिनहरूमा कांग्रेस र एमालेबीचको चुनावी तालमेलको प्रयासमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका घटक एकीकरण भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पनि जोडिएको छ। परम्परागत प्रमुख तीन दलका नेताहरूबीच औपचारिक र अनौपचारिक ढंगले संवाद भइरहेको छ।

चुनावी तालमेलको प्रयासमा प्रमुख तीन दल कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूले छलफल तीव्र पारेका छन्। त्यसो त कांग्रेसमा सभापति शेरबहादुर देउवा पक्ष तथा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाहरूबीचको शक्ति संघर्षले विभाजनको रेखा कोरिएका बेला एमालेसँग सहकार्यको सम्भावना कमजोर बनेको छ।

आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालबीच ‘वान टु वान’ भेटवार्ता भएको छ। दुई दलका शीर्ष नेताहरूबीच आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भएको बताइएको छ।

संयोग त के छ भने नेकपाका संयोजक दाहालले आइतबार नयाँदिल्ली भ्रमणमा जानुअघि एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्। यसअघि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि ‘वान टु वान’ भेटवार्ता गरिसक्नु भएको छ। नेकपाका नेता वर्षमान पुनले राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा प्रमुख दलहरूबीच छलफल चलिरहेको जानकारी दिँदै तालमेलको टुंगो लागिनसकेको जानकारी दिएका छन्।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदै छ। कार्यकाल सकिन लागेकामध्ये एकजना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन् । राष्ट्रपतिबाट मनोनीतको हकमा सरकारको सिफारिशमा फेरि राष्ट्रपतिबाटै मनोनीत हुन्छन्।

बाँकी १८ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदै छ । प्रमुख तीन दल एक्लाएक्लै लड्ने अवस्था नभएकाले तालमेलको प्रयास भएको नेताहरूको भनाइ छ। राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, रमेश लेखक, डा.प्रकाशशरण महत, एमालेका तर्फबाट शंकर पोखरेल र माओवादीका नेता वर्षमान पुन लगायतका नेताहरू दुई पक्षीय र बहुपक्षीय छलफलमा रहेका छन्।

यही पुस २३ गते मनोनयन दर्ताको समय छ । यसकारण पनि नेताहरूबीच संवाद बाक्लिएको छ । कांग्रेस नेता रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा दलहरूबीच छलफल चलिरहेको जानकारी दिनुभएको छ । राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख तीन दल मिले भने अर्को प्रतिस्पर्धी दल नै हुने छैन । किनभने सातै प्रदेशको मतभारमा तीन दल मिल्दा धेरै नै बलिया हुनेछन् ।

अर्थपूर्ण ‘वान टु वान’ वार्ता

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालबीच विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा भएको छ । आइतबार ललितपुरको च्यासलस्थित एक घरमा भएको भेटमा दुवै नेताले सरकारले चुनावको वातावरण बनाउन नसकेको निष्कर्ष निकालेका छन् ।

दाहालका स्वकीय सचिव गोविन्द आचार्यले चुनाव गर्ने भने पनि सरकारले वातावरण बनाउन नसकेको बारेमा छलफल भएको जानकारी दिएका छन्।

राष्ट्रपतिसँग भएको सामूहिक छलफल र प्रधानमन्त्री सुशीला कार्कीसँग भएको भेटमा चुनावका लागि वातावरण बनाउने कुरा भए पनि सोही अनुसारको काम सरकारले नगरेको बारेमा दुवै नेताले चिन्ता व्यक्त गरेको जानकारी दिँदै आचार्यले भने, ‘सुरक्षा चुनौती बढेका बेला नेताका सुरक्षाकर्मी काटिएको छ । चुनावी सरकारका मन्त्रीहरू नै कुनै पार्टीको पक्षधरता लिएर हिँडिरहेका छन्। पुराना पार्टीलाई हराउनुपर्छ भनेर सरकारका मन्त्रीले भाषण गरिरहेका छन् । यसले चुनावी वातावरण बनाएको छ कि बिगारिरहेको छ भन्नेबारे कुरा भयो।’

भदौ २३-२४ को घटनापछि पहिलोपटक ओली र दाहालबीच एक्लाएक्लै भेटवार्ता भएको हो । आगामी निर्वाचनमा प्रमुख दलबीच घोषित-अघोषित तालमेलका लागि कुराकानी भइरहेको चर्चाबीच दाहाल र ओलीबीचको भेटवार्तालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ। २०७७ फागुनमा नेकपा विघटित भएपछि एक नदीका दुई किनारा भएका एमाले अध्यक्ष ओली र नेकपाका संयोजक दाहालबीच फेरि संवाद हुन थालेको हो।

‘जेन-जी’ आन्दोलनपछि बिलखबन्दमा परेका यी दुई दलबीच फागुन २१ को प्रतिनिधिसभा निर्वाचन र त्यसअघि माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनमा मिल्ने विकल्प खोजी हुन थालेको हो । ‘जेन-जी’ आन्दोलनपछि हुन लागेको निर्वाचनमा रास्वपासहितका नयाँ शक्तिले सिर्जना गर्नसक्ने चुनौतीलाई लिएर पुराना दल तर्सिएका छन् । सोही कारण पुराना दलबीच सहकार्यको लागि विभिन्न ढंगले आन्तरिक छलफल भइरहेको छ। हिमालय टाइम्स दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार