काठमाण्डौं। नेकपा एमालेभित्र उम्मेदवार सिफारिस गर्दा सकेसम्म शीर्ष नेताहरूलाई एकल गर्ने, आफ्नालाई नछुटाउने र फरक मत राख्नेलाई रोक्ने प्रयत्न थालिएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ सम्बन्धित पार्टी कमिटीबाट उम्मेदवार सिफारिस गर्दा यस्तो अवस्था देखिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि उपमहासचिव लेखराज भट्टसमेतलाई एकल सिफारिस गरिएको छ। एमालेका हरेक निर्वाचन क्षेत्रबाट जिल्ला र जिल्लाबाट प्रदेश कमिटीमा उम्मेदवार सिफारिस गरेर केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी छ।
अहिलेसम्म केपी ओलीसहित २५ नेता एकल सिफारिसमा परेका छन्। ओलीसहित अन्य शीर्ष तहका नेताहरूको एकल सिफारिस हुँदा ११औं महाधिवेशनमा महासचिवमा लडेका सुरेन्द्र पाण्डे भने चितवनबाट सिफारिसमै परेनन्। चितवन–१ बाट ६ जनाको नाम सिफारिस हुँदा पनि उनी छुटे।
पुस १३ गते बसेको सचिवालय बैठकले उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई दिएको निर्देशनअनुसार क्षेत्रीय कमिटीमार्फत उम्मेदवार सिफारिस भइरहेको छ। क्षेत्रीय कमिटीबाट सिफारिसमा परेका उम्मेदवारहरूको नाम जिल्ला र प्रदेश कमिटीले रायसहित केन्द्रमा पठाउनुपर्छ। त्यसरी पठाइएका नाममा केन्द्रले अन्तिम निर्णय गर्छ। सिफारिस नाम पुस २४ गतेभित्र केन्द्रमा पठाउन भनिएको छ।
एमाले केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार आइतबारसम्म एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेतलगायत २५ नेताहरू उम्मेदवार हुने निश्चित भएको छ। उपाध्यक्ष गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई लगायत केही पदाधिकारी एकल सिफारिसमा परेका छैनन्। उनीहरूसँगै जिल्लास्थित अन्य नेताहरू पनि सिफारिसमा परेका छन्। यसो हुँदा विष्ट, भट्टराईलगायत उम्मेदवार हुने हुन् कि होइनन्, निश्चित भइसकेको छैन। ओली समूहबाट ईश्वर पोखरेल समूहमा लागेका विनोद ढकालको नाम भने मोरङका तीन वटा क्षेत्रबाट सिफारिस भएको छ।
मोरङ–१, ४ र ६ बाट ढकाललाई सिफारिस गरिएको हो। यसको अर्थ नेतृत्वले नचाहे पनि मोरङको कुनै एक क्षेत्रबाट उनी चुनाव लड्ने पक्का भएको छ। दोलखामा पार्वत गुरुङको नाम एकल रूपमा सिफारिस भएको भनिए पनि त्यहाँ बालकृष्ण शिवाकोटीको टिमले विद्रोह गरेको छ।
अध्यक्ष ओली झापा–५ बाट उम्मेदवार सिफारिस भएका छन्। शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेर प्रदेशमा पठाएको हो। त्यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रूपन्देही–२ बाट एकल सिफारिस भएको छ। पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेल पाल्पाबाट पनि सिफारिस भएका छन्। उनी २०५१ को निर्वाचनमा पाल्पाबाट विजयी भएका थिए। रूपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्र छन्। पौडेलले रूपन्देही–२ बाट २०६४ सालदेखि निरन्तर जित्दै आएका छन्।
उपाध्यक्ष विष्ट गुल्मी–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्। त्यहाँबाट रामकुमारी झाँक्री, राजेन्द्र अर्याललगायतको नामसमेत सिफारिस भएको छ। गुल्मी–१ मा प्रदीप ज्ञवाली सिफारिस भएका छन्। एक निर्वाचन क्षेत्र रहेको लमजुङबाट उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जना उम्मेदवार सिफारिस भएका छन्।
लमजुङबाट नेताहरू जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम सिफारिस भए पनि गुरुङकै पल्लाभारी छ। एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापा र गुरु बराल समानुपातिकको बन्दसूचीमा परिसकेका छन्। अर्का उपाध्यक्ष रघुजी पन्त ललितपुरबाट निर्वाचन लड्ने मनस्थितिमा छन्। यसअघि २०७९ सालको निर्वाचनमा पन्त समानुपातिक सांसद बनेका थिए। उनी यसपटक प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन्।
दाङ–२ बाट महासचिव शंकर पोखरेलको एकल नाम सिफारिस भएको छ। यसअघि त्यहाँ तत्कालीन माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेखा शर्माले उनलाई पराजित गरेकी थिइन्। उपमहासचिव योगेश भट्टराई ताप्लेजुङबाट सिफारिस भएका छन्।
उपमहासचिव भट्टराई, पार्टीका केन्द्रीय सदस्य क्षितिज थेबे, अर्का केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, निवर्तमान केन्द्रीय सदस्य टंक आङबुहाङ र एमाले जिल्ला कमिटी उपसचिव भीमादेवी ओझा गरी पाँच जना सिफारिस भएका छन्। उपमहासचि लेखराज भट्ट कैलालीबाट एकल सिफारिस भएका छन्। अर्का उपमहासचिव रघुवीर महासेठ धनुषाबाट सिफारिस हुने तयारीमा छन्।
त्यस्तै सचिवहरू महेश बस्नेत भक्तपुरबाट, छविलाल विश्वकर्मा रूपन्देही, यमलाल कँडेल सुर्खेत, भानुभक्त ढकाल सुनसरी, राजन भट्टराई काठमाडौं–४, शेरधन राई भोजपुर, खगराज अधिकारी कास्कीबाट चुनाव लड्ने तयारीमा छन्।
उनीहरूको सिफारिस भने एकल होइन। बैतडीबाट दामोदर भण्डारी, दार्चुलाबाट गणेश ठगुन्ना, कैलाली–४ बाट लेखराज भट्ट, सुर्खेत–१ बाट ध्रुव शाही, सुर्खेत–२ बाट कुलमणि देवकोटा, सल्यानबाट गुलाबजंग शाह, बाँके–१ बाट सूर्य ढकाल, बाँके–३ बाट दलबहादुर सुनार सिफारिस भएका छन्।
त्यस्तै कपिलवस्तु–१ बाट विश्राम चौधरी दाङ–२ बाट शंकर पोखरेल, रूपन्देही–२ बाट विष्णु पौडेल, गुल्मी–१ बाट प्रदीप ज्ञवाली, रूपन्देही–५ बाट खिमलाल भट्टराई, नवलपुर–२ बाट तिलक महत, कास्की–२ बाट मिलन गुरुङ, नुवाकोट–१ बाट बद्री मैनाली, नुवाकोट–२ बाट केशव पाण्डे, रौतहट १ बाट अजय गुप्ता, सिरहा–३ बाट लीलानाथ श्रेष्ठ, महोत्तरी–१ बाट लक्ष्मी महतो कोइरी, झापा–५ बाट केपी शर्मा ओली, इलाम–२ बाट सुहाङ नेम्वाङ पनि सिफारिस भएका हुन्।
गुन्डु पुगेको जेनजी आयोग टोलीलाई ओलीको लिखित जवाफ
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आइतबार उनकै निवास गुन्डु पुगेको जेनजी आन्दोलन छानबिन आयोगको टोली लिखित जवाफ लिएर फर्केको छ।
भदौ २३ र २४ को घटनाको जाँचबुझ गर्न बनेको आयोगको एक टोली तत्कालीन प्रधानमन्त्री ओलीलाई बयान लिन भक्तपुरको गुन्डुस्थित उनी बसेकै घरमा पुगेको थियो। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई बयान लिन सहसचिवको नेतृत्वमा ६० वटा प्रश्न दिएर टोली पठाएको थियो। बयान नदिने बताउँदै आएका ओलीले घरमा कुराकानी गर्न राजी भएपछि आयोगको टोली गुन्डु पुगेको थियो।
ओलीनिकट स्रोतका अनुसार ओलीलाई प्रश्न सोध्नेभन्दा पनि लिखित विषय पेस गरिएको थियो। ती विषयमाथि स्पष्ट पार्दै ओलीले ‘आफ्ना धारणा सञ्चारमाध्यममा आइसकेको’ बताएक थिए। उनले जेनजी आन्दोलन दमनमा आफ्नो संलग्नता भए पुष्टि गर्न चुनौतीसमेत दिएका थिए। त्यसक्रममा आयोगको टोलीले अरू केही जिज्ञासा पनि राखेका थिए। ओलीले पनि तपाईंहरूको जिज्ञासा मेटाउन यो सहयोगी हुन सक्छ भन्दै लिखित जवाफ दिएका थिए। ‘लिखित जवाफ आयो, हामी फर्क्याैं,’ ओली निवास पुगेको टोलीका एक अधिकारीले भने।
त्यसैगरी ओलीले मानवअधिकार आयोगसमक्ष पनि बयान दिएका छन्। आइतबार आयोगका कार्यालयमा पुगेर उनले बयान दिएका हुन्। बयान दिने क्रममा उनी त्यहाँ साढे दुई घण्टा बसेका थिए। आयोगकी सदस्य लिली थापाले ओलीसँग बयान लिएकी थिइन्। त्यसक्रममा ३५ वटा प्रश्न सोधिएको र ओलीले पनि ती प्रश्नको जवाफ दिएको बताइएको छ। नागरिक दैनिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया