काठमाडौं । नेपालको वैदेशिक व्यापारमा ठूलो असन्तुलन देखिएको छ । नेपालले आयातको तुलनामा निर्यात व्यापार बढाउन नसक्दा आयात-निर्यातबीचको खाडल बर्सेनि बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत आवमा १८ खर्ब चार अर्ब १२ करोड २७ लाख ३० हजारको वस्तु तथा सेवा आयात गर्दा नेपालले भने कुल दुई खर्ब ७७ अर्ब रुपैयाँको मात्र निर्यात गर्न सफल भएको छ । नेपालको निर्यात व्यापार पछिल्लो समय क्रमशः बढ्दै गएको भए पनि आयातको तुलनामा निर्यात व्यापारको आकार ज्यादै न्यून छ । जसका कारण नेपालको वैदेशिक व्यापार सन्तुलन कायम गर्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत आवमा वैदेशिक व्यापार सन्तुलन १५ खर्ब २७ अर्ब नौ करोड २५ लाख ३० हजारभन्दा बढी छ । यो अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले बढेको हो । भारतसँग मात्र आठ खर्ब ४६ अर्ब ५१ करोड ४५ लाख ४० हजार व्यापार घाटा छ । यो अघिल्लो वर्षको तुलनामा भने ५ दशमलव २६ प्रतिशतले घटेको छ । विलासिताका वस्तु तथा सेवाको आयातमा भएको वृद्धि र नेपालको निर्यातजन्य वस्तुको बजारीकरण अभाव लगायतका विषय आयात–निर्यातबीचको असन्तुलनका प्रमुख कारक हुन् ।
उद्योग व्यवसाय सञ्चालनका लागि राज्यको नीति समयानुकूल नहुनु, स्वदेशमा ठूला कलकारखाना तथा उद्योग धन्दा सञ्चालन नहुनु, भएका पनि विभिन्न कारणले रुग्ण बन्दै जानु, निर्यातजन्य वस्तु उत्पादन हुने उद्योगको क्षमता विस्तार नहुनु, लगानी, कच्चा पदार्थ, दक्ष कामदार र बजारीकरणमा समेत समस्या रहेकाले निर्यात व्यापार फस्टाउन नसकेको व्यवसायीहरूको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य राज्यको संस्थागत नीति मजवुत नहँुदा निर्यात व्यापार फस्टाउन नसकेको र आयात बढ्दै गएको बताउनुहुन्छ । ‘राज्यको नीति उत्पादन र निर्यात वृद्धि गर्ने खालको हुनुपर्छ’, उपाध्यक्ष वैद्यले हिमालय टाइम्ससँग कुराकानीमा भन्नुभयो, ‘जबसम्म राज्यको नीति स्पष्ट हुँदैन, तबसम्म निर्यात व्यापार बढाउन र आयात कम गर्न सकिने अवस्था रहँदैन ।’
उहाँका अनुसार राज्यले निर्यात व्यापार वृद्धि गर्न निर्यातजन्य उद्योग व्यवसायलाई सहुलियतपूर्ण कर्जा, निर्यातअनुसार तथा निर्यातमुखी कानुनी व्यवस्थाको प्रत्याभूति गर्नुपर्ने समेत बताउनुभयो । अहिले सरकारले केही निर्यात उद्योगलाई अनुदान दिएको भए पनि त्यो पर्याप्त नरहेको उहाँको भनाइ छ । छिमेकी मुलुक भारतले महिनैपिच्छे निर्यात व्यापारको पोलेसी परिवर्तन गर्ने र हरेक महिना निर्यात वृद्धिमा जोड दिने गरेको भए पनि नेपालको भने निर्यात वृद्धिका लागि संस्थागत नीतिको अभाव, निर्यातजन्य उद्योगको क्षमता ज्यादै न्यून रहनु र निर्यात व्यापारमा संलग्न व्यवसायीलाई आवश्यक तालिमको अभाव रहेको उपाध्यक्ष वैद्यको भनाइ छ ।
समग्र वैदेशिक व्यापारमा भने सुधार
आयात-निर्यातमा अन्तर फराकिलो भए पनि समग्र वैदेशिक व्यापारमा भने थोर बहुत सुधार देखिएको छ । औद्योगिक क्षेत्रमा लगानीको अभाव, कच्चा पदार्थ, मजदुर र बजारको सधैँ समस्या हुने गरेको भए पनि पछिल्लो समय वैदेशिक व्यापारमा भने सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ । गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका कारण अहिले उद्योग व्यवसाय क्षेत्र धराशायी अवस्थामा रहेको व्यवसायीहरूको बताइरहेका छन् । लगानीको वातावरण नरहेको तथा पुँजी पलायनको अवस्थासमेत बढेको उनीहरूले सार्वजनिक मञ्चमै बताउने गरेका छन् । आन्दोलनका कारण अर्बौं लगानी नोक्सानी भएको र सरकारले लगानीमैत्री वातावरण बनाउन नसकेको सर्वत्र गुनासो भइरहेको छ । यद्यपि, आर्थिक वर्ष २०८१-०८२ को असार मसान्तसम्मको अवधिमा भने नेपालको वैदेशिक व्यापार १९ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा एक दशमलव ३३ प्रतिशतले ऋणात्मक रहेको वैदेशिक व्यापार गत असार मसान्तसम्मको अवधिमा भने वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
गत अवमा २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख ४० हजारको वैदेशिक व्यापार भएको थियो । अघिल्लो आवमा भने १७ खर्ब ४५ अर्ब ३६ करोड ६१ लाख ४० हजारको वैदेशिक व्यापार थियो । नेपालले सबैभन्दा बढी भारतसँग वैदेशिक व्यापार गर्ने गरेको छ । गत आवमा पनि भारतसँग १२ खर्ब ९५ अर्ब ८८ करोड ३३ लाख ४० हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । यो अघिल्लो वर्षको तुलनामा १७ दशमलव ८२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १० खर्ब ९९ अर्ब ८५ करोड ९२ लाख २० हजारको व्यापार भारतसँग भएको थियो ।
भारत विश्वका अन्य मुलुकको तुलनामा नेपालको प्रमुख वैदेशिक व्यापार केन्द्र हो । भारतसँग नेपालले औद्योगिक कच्चा पदार्थ, पेट्रोलियम, सवारी, मेसिनरी तथा पार्टपुर्जा, खाद्यान्न, लत्ताकपडा, औषधि, फलफूल, जडीबुटी लगायतका सयौँ वस्तु तथा सेवाको व्यापार गर्ने गरेको छ । भारतसँग नेपालको व्यापारिक सम्बन्ध वर्षौं पुरानो भए पनि नेपालले भारतबाट आयात गर्ने वस्तु तथा सेवाको तुलनामा निर्यात व्यापार भने न्यून रहेको छ । जसले भारतसँगको वैदेशिक व्यापारमा ठूलो असन्तुलन कामय छ । कुल वैदेशिक व्यापारमा नै भारतको हिस्सा बढी रहँदा नेपालको निर्यात व्यापार क्रमशः वृद्धि भइरहेको भए पनि आयात–निर्यातको सन्तुलन कायम हुन सकेको छैन ।
नेपालले भारतबाहेक चीनसँगको व्यापार पनि गत आवमा वृद्धि गरेको छ । गत आवमा नेपालले चीनसँग तीन खर्ब ४३ अर्ब ७३ करोड ४६ लाख ३० हजारको वैदेशिक व्यापार गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १४ दशमलव ०६ प्रतिशतले बढी हो । अघिल्ललो वर्ष पनि चीनसँगको व्यापार ३४ दशमलव २५ प्रतिशतले वृद्धि भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय नेपालको चीनसँगको वैदेशिक व्यापार क्रमशः उकालो लागेको छ । चीनबाट आयातसँगै निर्यातसमेत वृद्धि हुँदै गइरहेको राष्ट्र बैंकले जनाएको छ ।
अन्य मुलुकसँगको व्यापार पनि वृद्धि भएको छ । असार मसान्तसम्मको अवधिमा अन्य मुलुकसँगको व्यापार २८ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा अन्य मुलुकसँगको व्यापार चार खर्ब ४१ अर्ब ५३ करोड ४९ लाख ७० हजारको व्यापार भएको छ ।
पाँच अर्ब ३४ करोड रुपैयाँ भुक्तानी हुने
यता, सरकारले निर्यातजन्य वस्तुमा उपलब्ध गराइँदै आएको नगद प्रोत्साहन बापतको पाँच अर्ब ३४ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा आर्थिक वर्ष २०८०/८१ सम्म नगद प्रोत्साहन अनुदान बापतको बक्यौता रकम उपलब्ध गराउन अर्थ मन्त्रालयले पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा गर्ने भएको हो । विभिन्न तीन दर्जन वस्तु निर्यातमा उपलब्ध गराउँदै आएको नगद अनुदानको विषयमा आएको लामो अन्योलतापछि सो निर्णय भएको हो ।
उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८/८१ सम्मको करिब साढे पाँच अर्ब रुपैयाँको हाराहारीमा भुक्तानी गर्नुपर्ने देखिए पनि नेपाल राष्ट्र बैंकबाट दुई अर्ब रुपैयाँ बराबरको भुक्तानी गर्नुपर्ने विषयमा प्रमाणीकरण गर्ने काम सम्पन्न भएको छ । मन्त्रालयले नयाँको हकमा भने उत्पादनको आधारमा प्रोत्साहन अनुदान उपलब्ध गराउने तयारी भइरहेको जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘उत्पादनमा आधारित प्रोत्साहन प्रणाली’ भनेर आएको थियो ।-आजकोहिमालय टाइम्सबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया