पुष २३, २०८२ बुधबार January 7, 2026

जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा निषेधाज्ञा जारी

अर्काे आदेश नभएसम्म वीरगञ्ज महानगर क्षेत्रमा चार किल्ला तोकेर कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज (पर्सा), २१ पुस : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज दिउँसोदेखि निषेधाज्ञा जारी गरेको छ ।

वीरगञ्ज महानगर क्षेत्रमा दुई समुदायबीच हुन सक्ने सम्भावित मुडभेडलाई लक्षित गर्दै निषेधाज्ञा जारी गरेको हो । पछिल्लो समय यहाँ दुई समुदायबीच विरोध प्रदर्शनका कार्यक्रम हुँदै आइरहेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णयानुसार आज दिउँसो १ बजेदेखि अर्काे आदेश नभएसम्म वीरगञ्ज महानगर क्षेत्रमा चार किल्ला तोकेर कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।

सुरक्षा समितिले पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावर हाउसचोक र दक्षिणमा शङ्कराचार्यगेट क्षेत्रमा कुनै पनि प्रकारको सभा, सम्मेलन, जुलुस तथा धर्ना गर्न नपाइने जनाएको छ ।

प्रजिअ दाहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश गरी गरिएको बताउनुभयो । उहाँले आदेशलाई उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया