काठमाण्डाैंः फ्रेञ्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमारमाथि दुई खेलको प्रतिबन्ध लगाइएको छ ।
गत आइतबार मार्सेलीविरुद्धको खेलमा झगडामा उत्रिएका नेइमारमाथि दुई खेलको प्रतिबन्ध लगाइएको हो। दोस्रो हाफको इन्जुरी टाइममा दुवै टिमका खेलाडीबीच झगडा भएको खेलमा नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड दिइएको थियो । सुरुमा चार खेलाडीलाई रातो कार्ड दिँदा नेइमारलाई भारमार्फत रिप्ले हेरेपछि कार्ड दिइएको थियो ।
रिप्लेमा नेइमारले मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई टाउको पछाडि हातले हानेको देखिएको थियो । नेइमारले पछि सामाजिक सञ्जालमार्फत गोन्जालेजले रंगभेद गरेको आरोप लगाएका थिए। रंगभेदको विषयमा लिग वानले छानविन गर्ने जनाएको छ ।
नेइमारले लगाएको आरोप गोन्जालेजले अस्वीकार गर्दै आएका छन्।खेलमा रातो कार्ड पाएका चार खेलाडीमाथि पनि प्रतिबन्ध लगाइएको छ। जसमा पिएसजीका डिफेन्डर लेभिन कुर्जावालाई ६ खेलको प्रतिबन्ध लगायएको छ। यस्तै लिएन्द्रो पेरेडेसलाई पनि दुई खेलको प्रतिबन्ध लगाइएको छ ।
मार्सेलीका जोर्डन अमाभीलाई तीन खेल र डरियो बेनेडेटोलाई भने एक खेल मात्र प्रतिबन्ध लगाइएको छ।यता लिगमा लगातार दुई खेलमा पराजित भएको पिएसजीले तेस्रो खेलमा भने जित हात पारेको छ। पिएसजीले बुधबार भएको तेस्रो खेलमा मेट्जलाई १-० गोलले हरायो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया