माघ ४, २०८२ आइतबार January 18, 2026

जेठो दलको जिम्मेवारी कान्छा सभापतिको काँधमा

कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगद्वारा गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई मान्यता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति आधिकारिक भएको निर्णय दिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले थापा नेतृत्वको कार्यसमिति नै आधिकारिक भएको निर्णय गरेको हो।

कांग्रेस विवादमा शेरबहादुर देउवा र थापा पक्षका दुवै कार्यसमितिले आफू नै आधिकारिक भएको भन्दै आयोगमा तथ्य र आधारसहित निवेदन पेस गरेका थिए। प्राप्त कागजातमाथि अध्ययन गरी आयोगले थापाको नेतृत्वमा  भएको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको निर्णय सुनाएको हो। निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गरी थापाको नेतृत्वलाई मान्यता दिने निर्णय गरिएको जनाएको छ।  कांग्रेसको देउवा पक्षले भने आयोगको निर्णय स्वीकार्य नभएको जनाएको छ।

देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको जिकिर गर्दै त्यसविरुद्ध कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने बताएका छन्। ‘हामी वैधानिक कानुनी लडाइँ लड्छौं। यो निर्णय धेरै समयअघिदेखि नै सेटिङ भएको भनिएको छ’, उनले भने, ‘एक पक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रुपमा त्रुटिपूर्ण छ। षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं।’

आयोगबाट मान्यता पाएलगत्तै उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई थप एकताबद्ध बनाउन लागिने र कसैलाई पनि आवेग र उत्तेजनामा नआउन आग्रह गरेका छन्। ‘विशेष महाधिवेशनको विपक्षमा भएका जिल्ला र प्रदेशका सभापतिहरूले पार्टी एकताबद्ध बनाउन केन्द्रमा रहेका नेताहरुमाथि हस्तक्षेप बढाउनुपर्छ,’ उनले फेसबुक लाइभमार्फत भनेका छन्,‘ केही साथीहरूले पहिले नै हस्तक्षेप गरिसक्नुभयो। अब तपाईंहरू लाग्नुपर्छ। पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ।’

पुस २७ गतेबाट काठमाडौंको भुकुटीमण्डमा सुरु भएको कांग्रेस विशेष महाधिवेशन ३० गते मध्यराति थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठनसहित सम्पन्न भएको थियो। सोही अनुसार माघ १ गते दिउँसो थापा पक्षले विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको जानकारी आयोगलाई गराउँदै विवरण अद्यावधिक गर्न निवेदन लिएको थियो। त्यसको भोलिपल्ट शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरू शेरबहादुर देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक भएको जनाउँदै आयोग पुगेका थिए। खड्कासहितले पार्टी विधानसहितका विवरण आयोगमा बुझाएका थिए। तर आयोगले थापा पक्षलाई मान्यता दिएसँगै कांग्रेसको पहिलो र दोस्रो तहका नेताहरू पार्टी राजनीतिमा मात्र होइन, मुलुकी राजनीतिमा नै असान्दर्विक बन्न पुगेका छन्।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले पार्टीको नीति र नेतृत्व परिवर्तनको मुद्दा अघि सारेका थिए। त्यसका लागि तत्काल विशेष महाधिवेशन वा निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने उनीहरूको मागमा संस्थापन (देउवा) पक्ष अनुदार बन्यो। संस्थापन पक्ष विपक्षमा देखिएपछि थापा र शर्माको अगुवाइमा कार्यकर्ताको चाहनाबमोजिम विशेष महाधिवेशन गरिएको हो।

पार्टी विधानको दफा १७ (२) अनुसार उनीहरूले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित असोज २९ गते केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन माग गरिएको निवेदन दिएका थिए। विधानको उक्त दफामा कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन डाक्नुपर्ने व्यवस्था छ।

तर ४९ दिनसम्म लम्बिएको कांग्रेस केन्द्रीय समिति बैठकले मंसिर १५ गते पुस २६ देखि पार्टीको नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो। सोही अनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक भए पनि महाधिवेशन हुन सकेन। तोकिएको समयमा नियमित महाधिवेशन हुन नसकेपछि कांग्रेसभित्रको विवाद थप चुलिन पुगेको थियो। पुस १८ गते बसेको कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको औचित्य सकिएको जनाउँदै वैशाखमा नियमित महाधिवेशन गर्नेगरी संशोधित कार्यतालिका ल्याएको थियो। त्यसपछि तत्कालीन महामन्त्रीद्वय थापा र शर्मासहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा प्रस्टसँग उभिए।

पुस २७ गते थापा र शर्माले विशेष महाधिवेशन उद्घाटन गरेका थिए। सभापति देउवासहित संस्थापन पक्षका अधिकांश नेताहरू त्यसमा सहभागी भएनन्। त्यसबिचमा पनि पार्टी एकतालाई जोगाउन भन्दै दुई पक्षीय वार्ताे भए पनि सहमति जुट्न नसकेपछि पुस ३० गते विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइयो। त्यसलगत्तै कार्यवाहक सभापति खड्का नेतृत्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले दुई महामन्त्री थापा र शर्मा तथा सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट हटाउने निर्णय ग¥यो। सोदी दिन राति विशेष महाधिवेशनको हलले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस आधिकारिकता विवादको अर्को मोडमा पुगेको थियो। निर्वाचन आयोगले शुक्रबार थापा पक्षलाई मान्यता दिएपछि यो विवाद अब न्यायालयतर्फ पुग्ने देखिएको छ।

कांग्रेस बदलिएको छ, बदलिनेछ: थापा

नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ। विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं। यो नेपाली कांग्रेसका हामी सदस्य र शुभेच्छुकले पार्टीमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमानदार प्रयत्नको साझा प्रतिफल हो। यसले स्थापित गरेको छ– पार्टी नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्छ,बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, मूल्य मान्यता र आदर्शमा फर्केको छ।

विशेष महाधिवेशनमा सहभागी हुनुभएका, नहुनुभएका, सहमत हुनुभएका नहुनुभएका सबैमा आग्रह गर्न चाहन्छु कि यसमा विधि विधानले प्रधानता पाएको हो, यो जय पराजयको विषय होइन। कुनै अलमलमा नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकताबद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस् कि अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा सुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ।

यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवालगायत विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिनुहुनेछ भन्ने पूर्ण विश्वास छ। आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन। जिम्मेवारी फरक होला तर भुइँ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ।

नेपाली कांग्रेस नेता र सिमित सदस्यको मात्रै होइन, आममानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने देशभित्र र बाहिर रहेका लाखौं सुभेच्छुकजनप्रति विशेष आग्रह गर्न चाहन्छौं। नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मलोचना गर्दै समीक्षा गरेको छ। आजसम्मका उपलब्धीलाई समयको पदचापअनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ। अब कांग्रेस बदलिएको छ, बदलिनेछ।

अतः समस्त शुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपिल गर्छौंै– नेपाली कांग्रेस नेपाली जनताको अपेक्षा र नवयुवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ, हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्तविपरीत गएर कुनै सम्झौता गर्ने छैन। सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ। यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ।

अन्त्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्छौं, पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्छाैं, समस्त नवयुवालगायत आमनेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रमा सरिक हुन पुनः हार्दिक अपिल गर्छौं। जय नेपाल

(निर्वाचन आयोगबाट मान्यता पाएपछि सभापति गगनकुमार थापाले गरेको अपिलको सम्पादित अंश) नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया