काठमाण्डाैंः यस वर्षको ए डिभिजन लिग फुटबल नहुने भएको छ । कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण खेलकुद गतिविधि ठप्प बन्दा यस वर्षको शीर्ष डिभिजनको लिग फुटबल नहुने देखिएको हो ।
कोरोना महामारीका कारण गत वर्षको लिग सिजन समेत पुरा हुन पाएको छैन । अघिल्लो वर्षकै सिजन पुरा नभएको अवस्थामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको शीर्ष डिभिजनको लिग नगर्ने निष्कर्श निकालेको हो ।
सरकारले प्रशिक्षणकै अनुमती नदिएको अवस्था छ । गत वर्षकै सिजन पुरा भएको छैन । आवश्यक तयारीको समय समेत नपुग्ने भएकाले यस बर्षको लिग सम्भव देखिदैन ।’ एन्फाका एक अधिकारीले खेलपाटीसंग भने ।
एन्फाले गत वर्षदेखि नयाँ सिजनका लागि भदौभित्र खेलाडी दर्ताका लागि क्लबहरुलाई समय उपलब्ध गराउन सुरु गरेको थियो ।
असोज महिना सुरु भैसक्दा समेत गत वर्षको बाँकी सिजन र नयाँ सिजन सुरु गर्ने विषयमा अन्यौलता कायमै छ । सोही कारण एन्फाले यस वर्षको शीर्ष डिभिजनको लिग फुटबल गर्न नसकिने निष्कर्श निकालेको छ ।
कोरोनाको संक्रमण फैलिएको कारण देखाउँदै सरकारले भदौ अन्तिम सातासम्म उपत्यका सहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरेको थियो । सरकारले साउन १ गतेबाट लामो दुरीका सार्वजनीक यातायात तथा हवाइ उडान सुरु गरेपनि खेलकुद गतिविधि माथिको बन्देज यथावत राखेको छ । खेलकुद प्रशिक्षण सुरु गर्ने र प्रतियोगिता सञ्चालनका लागि अनुमती दिने बिषयमा सरकार सकारात्मक देखिदैन ।
एन्फाका पदाधिकारीले बिहिबार राष्ट्रिय खेलकुद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालसंग भेट गरि तत्काल प्रशिक्षण सुरु गर्ने ब्यवस्था मिलाउन अनुरोध गरेका थिए । प्रतियोगिता सञ्चालन गर्न अनुमती दिन नसकेपनि तत्काल प्रशिक्षण गर्ने वातावरण बनाउनुपर्ने एन्फा पदाधिकारीको सुझाव थियो । तर आम सर्वसाधारणलाई दैनिक जनजिवन सञ्चालन गर्न अनुमती खुल्ला गरेको सरकारले खेलकुद माथिको रोकावट जारी राखेको छ । घरेलु खेलकुदका सर्वोच्च र कार्यकारी निकायले आवश्यक जोड गर्न नसक्दा सरकारले खेलकुदमाथिको बन्देज तत्काल खुलाउने संकेत गरेको छैन ।
‘नयाँ सिजनका लागि खेलाडी दर्ताको समय घर्किसकेको छ । लिगको मिति तय गरेपछि विदेशी खेलाडीका लागि ट्रान्सफर विन्डो खोल्नुपर्ने हुन्छ । नयाँ तरिकाले प्रक्रिया अघि बढाउदाँ समेत लिग गर्न सक्ने अवस्था देखिदैन ।’ एन्फा स्रोतले भन्यो ।
गत चैतबाट सुरु भएको लकडाउन र निषेधाज्ञाका कारण घरेलु फुटबलको गत वर्षको सिजननै पुरा हुन पाएको छैन । बी डिभिजन लिग चलिरहेको समय सरकारले फुटबल सहित सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको थियो ।
कोरोना महामारीकै कारण बी डिभिजन सहित चैतको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग, महिला लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग र राष्ट्रिय लिगका कार्यक्रम प्रभावित बनेका थिए ।
एन्फाले प्रदेश नम्बर १, ४ र ५ को लिग सम्पन्न गरेपनि प्रदेश नम्बर २, ३, ६ र ७ को लिग सञ्चालन गर्न बाँकी छ । प्रदेश लिगका च्याम्पियन टिमलाई समावेश गर्दै एन्फाले एन्फा प्रेसिडेन्ट लिग खेलाउने र शीर्ष ४ टिमलाई राष्ट्रिय टिममा लैजाने योजना बनाएको थियो । तर कोरोनाका कारण एन्फाले सुरु गर्न खोजेको प्रदेश लिग सहित, एन्फा प्रेसिडेन्ट लिग र राष्ट्रिय लिगनै प्रभावित बन्यो ।
एन्फाले यस वर्षको लिग सञ्चालन गर्न नसकेपनि गत बर्षको सिजन पुरा गर्ने लक्ष्य लिएको छ । सरकारले अनुमती दिएको खण्डमा एन्फाले गत बर्ष पुरा गर्न बाँकी रहेको बी र सी डिभिजन लिग, महिला लिग, प्रदेश लिग र एन्फा प्रेसिडेन्ट लिग सम्पन्न गर्ने गरि गृहकार्य अघि बढाएको छ ।
‘गत बर्षको बाँकी सिजन पुरा गर्ने योजना छ । तर सबै कुरा कोरोनाले पार्ने प्रभाव र सरकारको सहयोगमा निर्भर रहने छ ।’ एन्फा स्रोतले भन्यो । खेलपाटी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया