काठमाडौँ, ८ वैशाखः अटिजमसम्बन्धी चेतनाबाट व्यवहारिक कार्यान्वयनतर्फ केन्द्रित तीनदिने ‘विशेष शिक्षा तालिम र सेमिनार’ सोमबार सम्पन्न भएको छ । कार्यक्रम मुख्य आयोजक नेपाल एकेडेमी अफ साइकोलोजीको अग्रसरतामा मेन्टल हेल्थ नेपाल र स्कोप अफ होप फाउन्डेसन भारतसँगको सहकार्यमा आयोजना गरिएको हो ।
अटिजम एक विकासात्मक अवस्था हो, जसले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार कौशल र व्यवहारमा विविधता ल्याउँछ । यसमा मुख्य रूपमा सामाजिक सञ्चारमा कठिनाइ आँखाको सम्पर्क कम हुनु, सामाजिक सङ्केत नबुझ्नु, सम्बन्ध विस्तार गर्न गाह्रो हुनु र दोहोरिने तथा सीमित व्यवहारजस्तै एउटै काम दोहोर्याउने, नियम पालनामा कडाइ, विशेष विषयमा अत्यधिक रुचि, संवेदसम्बन्धी संवेदनशीलतालगायत देखिन्छ ।
अटिजमलाई ‘स्पेक्ट्रम’ भनिन्छ किनभने प्रत्येक व्यक्तिमा लक्षण र आवश्यकता फरक–फरक हुन्छन् । अटिजम भएका कसैलाई धेरै सहयोगको आवश्यकता हुन्छ भने कसैले सामान्य सहयोगबाट पनि स्वतन्त्र रूपमा जीवनयापन गर्न सक्ने तालिमका प्रशिक्षक एवं नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक उमङ्गजङ्ग पराक्रम शाहले बताउनुभयो ।
अटिजमसहितको अवस्था देखिनुमा कुनै एकमात्र कारण हालसम्म एकिन हुन नसकेको बताउँदै उहाँले वंशाणुगत प्रभाव र मस्तिष्कको विकाससँग सम्बन्धित फरकपन मुख्य कारण मानिएका जानकारी दिनुभयो ।
“यसका सङ्केतहरू प्रायः बालबालिका ६ देखि १२ महिना हुँदा देखिन सुरु हुन्छन् भने १८ देखि २४ महिनामा अटिजमको विश्वसनीय पहिचान गर्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक १०० मध्ये एक बालबालिकामा अटिजम हुने अनुमान गरिएको छ भने संयुक्त राज्य अमेरिकामा भने हरेक ३१ बालबालिकामध्ये एक जनामा अटिजम हुने तथ्याङ्क सार्वजनिक गरेको छ”, प्रशिक्षक शाहले भन्नुभयो ।
अटिजमको पहिचानसहितको जनसङ्ख्या अत्यधिक रूपमा वृद्धि भएको देखिए पनि अनुसन्धानकर्ताका अनुसार यसको मुख्य कारण बढ्दो चेतना, प्रभावकारी स्क्रिनिङ तथा प्रारम्भिक पहिचान प्रणालीमा सुधार हो ।
“अटिजम कुनै निको पार्नुपर्ने रोग होइन बरु यो एक विविध मानवीय अवस्थामध्येको एक अवस्था हो । सामाजिक अवरोधलाई हटाई, स्वीकारोक्ति र समतासहितको समावेशी वातावरणले अटिजमसहितका व्यक्तिलाई सहजताका साथ जीवनयापन गर्न सहयोग गर्छ”, शाहले भन्नुभयो । उहाँका अनुसार व्यवहार थेरापी, बोल्ने (स्पिच) थेरापी, अकुपेसनल थेरापी, विशेष शिक्षा तथा अन्य शैक्षिक र व्यवहारिक समर्थनले व्यक्तिको जीवनलाई सहज बनाउन सक्छ ।
हाल संसारभरि कसैको दया, माया र दानमा आधारित सहायताभन्दा पनि अधिकारमा आधारित सहायता अटिजमसहितका व्यक्तिले प्राप्त गर्नुपर्दछ भन्ने आवाज तीव्र रूपमा उठिरहेको प्रशिक्षक शाहले बताउनुभयो । शैक्षिक जीवनमा समेत अलग्याएर छुट्टै पढाउनु वा सिकाउनुको साटो अत्यन्तै कम बाधा हुने वातावरणमा पर्याप्त सहायतासहित समावेशी शिक्षा, सिकाइ र सहयोगको पहुँचलाई महत्व दिइएको छ । आजको दिनमा अटिजमलाई समस्याका रूपमा भन्दा पनि न्यूरो–विविधताको रूपमा हेरिनुपर्ने आवाज बुलन्द हुँदै आएको उहाँको भनाइ छ ।
तालिम समापन कार्यक्रममा सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, समाजसेवी तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझी, प्राडा प्रेमकुमार खत्री, सह प्राडा अस्वत्थामाभक्त खरेल, प्रा कृष्ण आचार्य, डा राजेन्द्र खत्री, डा बिनिता सिंह, अटिजम स्पेसलिस्ट तथा मनोविद् भगवती भट्टराई, बैंकर हरि आचार्यलगायतले अटिजमका बारेमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका मुख्य प्रशिक्षक भारतको मुम्बईबाट आउनुभएका विपिन मौर्य (विशेष शिक्षक तथा संस्थापक, स्कोप अफ होप फाउन्डेसन) रहनुभएको थियो । कार्यक्रमका प्रशिक्षक नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशक तथा साइकोलोजी, समावेशी/विशेष शिक्षा र राजनीतिक विज्ञानलगायत बहुविषयगत अनुसन्धानकर्ता शाह रहनुभएको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया