काठमाण्डाैंः हस्तकला उद्योगले आफ्नो उत्पादन क्षमताको २० प्रतिशतमात्रै उत्पादन गरिरहेका छन् । कोरोना महामारी शुरू हुनुअघि नै पर्यटक आगमन नभएपछि हस्तकलाका सामानको विक्री ठप्प हुँदा उद्योगहरूको उत्पादन ८० प्रतिशतले घटेको छ ।
महामारीको प्रभावका कारण बाहिर देशबाट हस्तकला सामग्रीको माग नभएपछि उत्पादन घटाउनु परेको हो । महामारी शुरू भएयता नयाँ माग थपिएको छैन । तर, बन्दाबन्दीभन्दा अघि नै माग भइआएका फेल्ट, पश्मिना, काष्ठकला र चाँदीका केही सामग्री माग पूरा गर्न मात्र उद्योगले उत्पादन गरिरहेका छन् ।
उद्योगले आफ्ना क्षमताको २० प्रतिशत मात्रै उत्पादन गर्न थालेपछि हस्तकला उद्योगमा काम गर्ने करीब ६० प्रतिशत कामदारले रोजगारी गुमाएका छन् भने कतिपयले पेशासमेत परिवर्तन गरेका छन् । नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले कोरोना महामारी नसकिएसम्म विदेशबाट सामान माग हुने सम्भावना नरहेकाले उत्पादन बढाउन नसकिएको बताए ।
‘उत्पादन बढाएर मात्रै के गर्ने ? विक्री छैन मौज्दात मात्र थुपारेर कहिलेसम्म बस्ने ?’ उनले प्रश्न गरे । उत्पादित वस्तु बिक्न छोडेपछि बाध्य भएर कामदार कटौती गरे पनि भोलिका दिनमा स्थिति सहज भए पुनः दक्ष कामदार पाउन गाह्रो हुने चिन्तामा समेत परेको उनी बताउँछन् ।
नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार नेपालको आन्तरिक बजारमा वार्षिक ६ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामग्री विक्री हुने गर्छ । नेपाली हस्तकला सामग्रीको ठूलो बजार अमेरिका, चीन र यूरोपेली मुलुकहरू हुन् । नेपालबाट यी मुलुकमा वार्षिक ११ अर्ब देखि १५ अर्ब रुपैयाँसम्मको हस्तकलाका सामग्री निर्यात हुने गर्छ । स्वदेशी बजारमा विक्री हुने हस्तकलाका सामानको खरीदकर्ता पनि धेरैजसो विदेशी पर्यटक नै हुन् ।
बन्दाबन्दीका कारण नियमित उडान हुन नसक्दा व्यवसायीहरूले तीन गुनासम्म बढी भाडा तिरेर हस्तकलाका सामग्री निर्यात गर्दै आएका थिए । तर, अहिले नियमित अन्तरराष्ट्रिय उडान खुला गरे पनि यो समस्या जस्ताको तस्तै छ । निश्चित एयरलाइन्स मात्र खुलेको र ती एयरलाइन्सहरूले भाडादर चार्टर उडानको जस्तै लिने गरेकाले निर्यात महँगो पर्ने गरेको जानकारी नेपाल निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले दिए ।
बन्दाबन्दी खुले पनि हस्तकलाका सामग्रीहरू विक्री हुने तथा बनाइने ठमेल, वसन्तपुर, पाटनलगायत ठाउँमा अझै पनि यस्ता वस्तु किन्ने मान्छे नहुँदा व्यापारीहरू निराश बनेका छन् । हस्तकलाको व्यापार पर्यटन क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएकले समेत यति बेला उद्योग नै संकटमा परेको व्यवसायीहरू बताउँछन् ।
विदेशबाट माग नभएकाले उद्यमीहरूले कालीगढ तथा कामदारलाई काम दिन नसक्दा उनीहरूको अवस्था झनै कमजोर बन्दै गएको नेपाल हस्तकला कालीगढ संघका अध्यक्ष हरि सेन्चुरीले बताए । केही ठूला उद्यमीले कामदार नहटाए पनि धेरैजसो साना उद्यमीले भने कालीगढ तथा कामदार टिकाइराख्न नसकेको उनले जानकारी दिए । यसबाट हस्तकला उद्यमी तथा यससँग सम्बद्ध सबै पक्ष संकटमा रहेको उनको भनाइ छ । अभियानबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया