बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

विवरण सङ्कलनपछि स्वास्थ्य जाँच तथा मनोपरामर्श गरेर उनीहरुलाई तोकिएका ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन् । घर, जग्गा, पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको उल्लेख गर्दै उनीहरुले विवरण टिपाएका हुन् ।

दशरथ रङ्गशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठामाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोलीले उनीहरुको विवरण संकलन गरिरहेको छ ।

विवरण सङ्कलनपछि स्वास्थ्य जाँच तथा मनोपरामर्श गरेर उनीहरुलाई तोकिएका ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी भइरहेको जनाइएको छ । उनीहरुलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय तथा निवास, भक्तपुरको खरिपाटीको विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र, काठमाडौँको चोभारस्थित तरकारी बजार व्यवस्थापन केन्द्र र काभ्रे होल्डिङ सेन्टरमा लैजाने तयारी भइरहेको छ ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले दशरथ रङ्गशालामा आइपुग्नु भएका सुकुम्बासीको विवरण सङ्कलन गरी उहाँहरुलाई होल्डिङ सेन्टरमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया