जेठ १९, २०८३ मंगलबार June 2, 2026

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौँडा, जेठ १९ गते ।  बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ ।

बागमती प्रदेशसभाको मङ्गलवार बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो । बैठकमा प्रदेशसभा सदस्यहरू रत्नप्रसाद ढकाल, लक्ष्मी घिमिरे, सुस्पा भुजेल न्यौपाने र युवराज चौलागाईंले नीति तथा कार्यक्रममाथि राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संशोधन प्रस्ताव राख्ने सदस्यहरूले नीति तथा कार्यक्रम परिमार्जन गर्ने नयाँ परम्पराको सुरुवात गर्न आग्रह गर्नुभएको थियो ।

चार जना प्रदेशसभा सदस्यले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख अप्सरा चापागाईंले जानकारी गराउनुभएको थियो ।

यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार सुन्ने र सहने संस्था भएकाले आएका रचनात्मक विचारलाई ग्रहण गरी सच्चिन तयार रहेको बताउनुभयो । उहाँले विचारविमर्श गर्दै सुधार गरेर अगाडि बढ्नु नै लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै प्रदेशसभा रचनात्मक टिप्पणी गर्ने थलो भएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री बानियाँले नीति तथा कार्यक्रममा उद्योग, पर्यटन, यातायात, पूर्वाधार र खेलकुदलगायतका क्षेत्रलाई प्राथमिकताका साथ समेटिएको स्पष्ट पार्दै छुटेका महत्त्वपूर्ण विषयलाई आगामी बजेटमार्फत सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो ।

“बजेटमा दलित सशक्तीकरणका विषय समेटिने छन्, संसद् र जनताको विश्वासप्रति घात हुने छैन,” मुख्यमन्त्री बानियाँले भन्नुभयो, “सरकार संसद्प्रति जिम्मेवार भएर बजेट आउने छ । बजेट सरकारको मात्र हुने छैन, सबैको साझा बनाइने छ ।”

उहाँले आगामी आर्थिक वर्षको बजेटमा कुनै पनि क्षेत्रलाई विभेद नगरिने स्पष्ट पार्दै नीति तथा कार्यक्रम र बजेट ‘गरिखाने’ वर्गका लागि लक्षित हुने बताउनुभयो । जनताप्रति उत्तरदायी बजेट आउने दाबी गर्दै उहाँले रैथाने बालीको उत्पादन र संरक्षणका लागि विशेष कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।

यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरू रामकृष्ण चित्रकार, उद्धव थापा, सुरेन्द्रराज गोसाईं, लक्ष्मण लम्साल, समिता खड्गी, शकुन्तला श्रेष्ठ र भुवनकेसरी श्रेष्ठलगायतले आ–आफ्नो धारणा राख्नुभएको थाल्यो । गत जेठ १२ गते बागमती प्रदेश प्रमुखले प्रदेश सरकारको उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक आगामी जेठ ३१ गते बस्ने गरी स्थगित गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको अन्तरिक्ष कार्यक्रममा अर्को सफलता, लङ मार्च–१२बीको सफल प्रक्षेपण
२०८३ जेठ १९, मंगलबार
श्रीमानको हत्या आरोपमा श्रीमतीसहित तीन जना पक्राउ
२०८३ जेठ १९, मंगलबार
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित
२०८३ जेठ १९, मंगलबार
विपक्षीको अवरोधका कारण मधेश प्रदेशसभाको बैठक स्थगित
२०८३ जेठ १९, मंगलबार
प्रदेशसभा सदस्य सरोज सिंह कुशवाहा भ्रष्टाचार मुद्दामा दोषी ठहर
२०८३ जेठ १९, मंगलबार
भारत-अमेरिका व्यापार सम्झौता नजिक
२०८३ जेठ १९, मंगलबार
रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता
२०८३ जेठ १९, मंगलबार