श्रावण १३, २०८३ बुधबार July 29, 2026

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका कृषक पछिल्लो समय गाईपालनतर्फ आकर्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्वत, २८ जेठः पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८०० लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ । कालीगण्डकी करिडोरको मालढुङ्गा-बेनी खण्डमा पर्ने फर्से बस्तीबाट दैनिक करिब ८१२ लिटर दूध निर्यात हुँदै आएको हो ।

यहाँका ३६ वटा व्यावसायिक पशुपालन फार्मबाट उक्तमात्रामा दूध उत्पादन हुने गरेको छ । स्थानीय सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थामा आबद्ध कृषकले व्यावसायिक रूपमा दूध उत्पादन गर्दै आएका छन् । बजारको समस्या नभएपछि यहाँका किसान व्यावसायिक पशुपालनमा लागेका हुन् । प्रत्येक किसानले न्यूनतम पाँचदेखि ३० वटासम्म गाईभैँसीपालन गरेका छन् । दैनिक ५० देखि १०० लिटरसम्म दूध उत्पादन गर्ने किसानले बस्तीमा रहेको सङ्गम दुग्ध उत्पादक सहकारी संस्थाको सङ्कलन केन्द्रमा बिक्री गर्दै आएका छन् ।

यहाँ सङ्कलित दूध छिमेकी जिल्ला बागलुङमा रहेको दुग्ध सहकारी संस्थाले खरिद गर्दै आएको छ । उक्त संस्थाले प्रतिलिटर रु ९० देखि गुणस्तरका आधारमा रु १२५ सम्मका दरले किसानबाट दूध लिने गरेको सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार दूध बिक्रीबाट वार्षिक रु तीन करोडभन्दा बढी आम्दानी हुने गरेको छ ।

सहकारीमा दूध सङ्कलन गर्ने किसानलाई भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालयले प्रतिलिटर रु पाँचका दरले ढुवानी अनुदानसमेत दिँदै आएको छ । ढुवानी अनुदान पाएपछि किसानलाई सहज भएको अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँका अनुसार दूध उत्पादक किसानलाई सहकारीले बैंक खातामा रकम भुक्तानी दिने गरेको छ ।

दुधालु गाईभैँसीको बिमासमेत गरिएकाले किसानको पशुधन सुरक्षित भएका सहकारीका सचिव हरेमबहादुर खत्रीले बताउनुभयो । बजारको समस्या नभएकाले र पर्याप्त मूल्य पाउने भएकाले यहाँ पशुपालन गर्नेको आकर्षण बढ्दै गएको उहाँको भनाइ छ ।

स्थानीय किसान राजन सापकोटाले आफूले लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकामा पछिल्लो समय गाईपालनतर्फ लागेको बताउनुभयो । तरकारीभन्दा गाईपालनमा कम परिश्रम र बढी मुनाफा हुने भएकाले तरकारीखेतीको विकल्प रोजेको उहाँको भनाइ छ । उहाँले मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लाग्नुभएका नारायण जिसीले विदेशमा भन्दा आफ्नै माटोमा प्रशस्त आम्दानी हुने देखेपछि वैदेशिक रोजगारी छोडेको बताउनुभयो । उहाँका अनुसार दैनिक ८० लिटर दूध उत्पादन हुन्छ ।

पशुपालन छाडेर आठ वर्ष खाडीमुलुक साउदी अरब बस्नुभएका जिसीले फेरि फर्केर यही पेसालाई निरन्तरता दिनुभएको हो । उहाँले वार्षिक रूपमा रु २५ देखि ३० लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो । रु १५ लाख लगानी गरेर व्यवसाय थाल्नुभएका जिसीले व्यवसायलाई अझै बढाउने योजना बनाउनुभएको छ ।

यहाँ आएर पशुपालन गर्ने हो भने कोही पनि युवायुवती विदेश जानु नपर्ने स्थानीय किसान बताउँछन् । गाईपालनसँगै व्यावसायिक तरकारीखेतीमार्फत प्रशस्त आम्दानी गर्न सकिने यहाँका किसानको अनुभव छ ।

जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख सुरेशकुमार श्रेष्ठले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिलिटर दूध ढुवानीमा रु पाँचका दरले अनुदान दिँदै आइएको बताउनुभयो । यसबाहेक चालु आर्थिक वर्षमा बृहत्तर पशु विकास कार्यक्रममार्फत रु आठ लाख कार्यालयले सहयोग गरेको छ ।

उक्त सहयोगले किसानले भकारो सुधार, गाईभैँसीलाई बस्ने म्याट खरिद, दूध सङ्कलनका लागि क्यानलगायत सामग्री खरिद गरेका छन् । जिल्लालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउनका लागि कार्यालयले कृषक, पशुपालन गर्ने सहकारी र दुग्ध डेरीलाई विभिन्न प्राविधिक सहयोगका साथै अनुदानसमेत दिँदै आएको श्रेष्ठले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार