काठमाण्डौंः फेसबुकसँगको सहकार्यमा वल्र्डलिंकले नेपालमा एक्सप्रेस वाइफाई सेवा सुरु गरेको छ । वल्र्डलिंक र फेसबुकले नेपालका ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाईफाई दिन थालेको हो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत वल्डलिंकले फेसबुकसँगको सहकार्यको विषयमा आधिकारिक रूपमा जानकारी गराएको हो । फेसबुकले उपलब्ध गराउँदै आएको एक्स्प्रेस वाईफाई नेपालका सार्वजनिक स्थानमा उपलब्ध गराइने वल्र्ड लिंकले जनाएको छ ।
फेसबुकले एक्स्प्रेस वाईफाईका लागि विभिन्न देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्दै आएको छ । त्यसमा हाललाई एसियाका भारत र नेपालमा मात्र यस्तो सेवा यो सेवा उपलब्ध हुने बताइएको छ । दुई कम्पनीबीचको सहकार्यबाट नेपालमा सस्तो, भर पर्दाे र उच्च गतिको पब्लिक वाइफाई प्रदान हुने दाबी गरिएको छ । यसका लागि फेसबुकले वल्र्डलिंकलाई आवश्यक पूर्वाधार तथा सामग्रीसमेत उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
वल्र्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले नेपालमा फ्री वाइफाई दिन थालेको दुई÷तीन वर्ष भइसकेको भन्दै कम्पनीका सीईओे यो सहकार्यबाट त्यसमा थप सहयोग पुग्ने बताए ।
वल्र्डलिंकको वाइफाई प्रोजेक्टका म्यानेजर पुनित मानन्धरले हाल देशभर १० हजार साइटमा पब्लिक वाइफाई उपलब्ध गराइएको जानकारी दिए । जसलाई पनि जहाँ पनि जुनसुकै समयमा पनि कनेक्ट गराउने भिजनका साथ यो परियोजना सुरु गरिएको उनले बताए ।
१० हजार साइटमा ७ हजार ५ सय साइटमा फेसबुकको एक्सप्रेस वाइफाईबाट सेवा दिइरहेको जानकारी दिँदै मानन्धरले एकपटक कम्पनीको नेटवर्कमा कनेक्ट भइसकेपछि अबको समयमा कम्पनीको वाइफाई भएका सबै ठाउँमा स्वचालित रूपमा कनेक्ट हुने बताए ।
प्रयोगकर्ताले कम्पनीको पब्लिक वाइफाईमा कनेक्ट हुन् आफ्नो मोबाइल नम्बर राखिसकेपछि कोड प्राप्त हुने र त्यसबाट सजिलै रजिस्टर गर्न सकिनेछ । देशका ३० हजार ठाउँमा यो फ्री वाइफाई विस्तार गर्ने योजना वल्र्डलिंकले बनाएको छ ।
कम्पनीले इन्टरनेट नपुगेका स्थानलाई प्राथमिकतामा राख्दै फ्री वाइफाई विस्तार गर्ने जनाएको छ । लोकल नम्बर नरहेका व्यक्तिले समेत ह्वाट्सएप नम्बर राखेरै फ्री वाइफाईमा कनेक्ट हुन पाउने बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया