काठमाण्डाैंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले तेस्रो जित निकालेको छ ।
गएराती दुबईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।
हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोनी बेयरस्टोले २३ रन जोड्दा प्रियम गार्गले १६ तथा विजय शंकरले १२ रन बनाए । राशिद खान १४ रनमा आउट भए । चेन्नईका कर्ण शर्मा र ड्वाने ब्राभोले २र२ विकेट लिए । यस्तै साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एक एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २र२ विकेट लिए ।
जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ । चेन्नई छैटौं स्थानमा समेत उक्लिएको छ । हैदराबादको यो पाँचौ हार हो । हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।
आजको खेलमा दिल्ली क्यापिटल्स र राजिस्थान रोयल्सबीच प्रतिषपर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे दुबै अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । एजेन्सी ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया