कास्की, भदौ २२ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा ७५१ मत ल्याएर शाेभा गौतम निर्वाचित भएकी छन्।
संघको ३६औँ अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा गौतमले तीन पुरुष प्रतिस्पर्धी अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ६३७ मत ल्याएका थिए ।
पोखरा उद्योग वाणिज्य संघको इतिहासमा अध्यक्ष पदमा निर्वाचित हुने महिला नेतृत्वमध्ये गौतम एक महत्वपूर्ण प्रतिनिधिका रूपमा उदाएकी छन्। यसअघि विन्दु कोइराला र हीरा भट्टराईले अध्यक्ष पदमा उम्मेदवारी दिए पनि निर्वाचित हुन सकेका थिएनन्।
यसअघि संघको महासचिवको जिम्मेवारीसमेत सम्हालिसकेकी गौतमले आफ्नो विजयलाई संघर्षशील महिला उद्यमीहरूको साझा जितका रूपमा व्याख्या गरेकी छन्।
गौतमको व्यावसायिक यात्रा करिब २६ वर्षअघि पोखरा उद्योग वाणिज्य संघको कार्यालयअगाडि सानो चिया पसल सञ्चालनबाट सुरु भएको थियो। त्यसपछि उनले महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ स्थापना गर्दै आफ्नो व्यवसाय विस्तार गरेकी थिइन्।
सामान्य व्यवसायबाट उद्यमशीलताको यात्रा तय गर्दै उद्योगी–व्यवसायीहरूको साझा संस्थाको नेतृत्वमा पुगेकी गौतमको निर्वाचनलाई पोखराको व्यावसायिक क्षेत्रमा महिला नेतृत्वको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया