काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरूले सोमबार शपथ ग्रहण गरेका छन्।
राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ गराए।
मन्त्रिपरिषद्को गत असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश गुरुङ, मोहम्मद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रवदना राई र सुमित्रा चौधरीलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो। त्यस्तै मन्त्री विश्वकर्माले राष्ट्रिय खेलकुद संघको सिफारिसमा रेणुका श्रेष्ठ तथा सुवर्णाकेशरी श्रेष्ठलाई मनोनीत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले नवनियुक्त सदस्यहरू कुनै न कुनै भूमिकामा खेल क्षेत्रसँग सम्बन्धित भएकाले खेल क्षेत्रले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्दै नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न उनीहरूको योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे।
सोही अवसरमा डीएन घिसिङद्धारा लिखित खेल जीत मनोविज्ञान पुस्तकको पनि मन्त्री विश्वकर्माले विमोचन गरेका थिए।
शपथपछि मन्त्री विश्वकर्माले राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव रमेशकुमार सिलवाल लगायतका पदाधिकारीको उपस्थितिमा नवनियुक्त सदस्यहरूसँग छलफल गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया