काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सुधारका लागि कार्ययोजना ल्याउने तयारी गरिरहेका बेला साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उकालो लागेको छ । सोमबार नेप्से २५.५५ अंकले बढेर २ हजार ५८५ अंकमा पुगेको छ ।
अघिल्लो कारोबार दिन पनि नेप्से २७ अंकले बढेको थियो । पछिल्ला दुई कारोबार दिनमा बजार कुल ५२ अंकले बढेको हो ।
बजार सुधारका लागि सरकारले ल्याउने तयारी गरेको कार्ययोजनाले लगानीकर्ताको मनोबल बढाउने अपेक्षाबीच सेयर बजारमा सुधार देखिएको हो ।
कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा बढेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
सोमबार कारोबार भएका कम्पनीमध्ये २२६ वटाको सेयर मूल्य बढेको छ । ४७ कम्पनीको मूल्य घट्दा दुई कम्पनीको मूल्य भने स्थिर रह्यो ।
समूहगत कारोबारतर्फ सबै सूचक बढेका छन् । फाइनान्स समूह १.६७ प्रतिशतले बढेको छ। निर्जीवन बीमा १.५०, जीवन बीमा १.४५, अन्य १.३९, व्यापार १.३८, जलविद्युत् १.१६, विकास बैंक ०.८७, होटल तथा पर्यटन ०.८६ र बैंकिङ तथा माइक्रोफाइनान्स समूह ०.७८ प्रतिशतले बढेका छन् ।
त्यस्तै लगानी समूह ०।६४ र उत्पादन तथा प्रशोधन समूह ०.५४ प्रतिशतले उक्लिएका छन् ।
कम्पनीतर्फ इनिफिनिटी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ६.४३ प्रतिशतले बढेको छ । त्रिशूली जलविद्युत् ६.३८, सिर्जनशील लघुवित्त ५.९३, सर्वोत्तम पेन्ट्स ५.४०, मल्टिपर्पस फाइनान्स ५.२१, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ४.६८ र न्यादी हाइड्रोपावर ४.५२ प्रतिशतले बढेका छन् ।
यता उपकार लघुवित्तको सेयर मूल्य ८.२३ प्रतिशतले घटेको छ । अभियान लघुवित्त ५.२२ र इमर्जिङ नेपाल ३.८६ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी, सानिमा मिडिल तमोर, रिलायन्स स्पिनिङ मिल्स, अपी पावर, रिडी पावर, शिवम् सिमेन्ट र सोलु हाइड्रोपावर अगाडि रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया