असार २६, २०८२ बिहिबार July 10, 2025

निःशुल्क उपचारको सुविधा पाउनेले बीमा रकम नपाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निःशुल्क उपचारको सुविधा पाउने कोरोना संक्रमितले कोरोना भाइरस बीमा गरेको भए पनि त्यसको दाबी भने नपाउने भएका छन् ।

गत असोज १९ गते सम्पन्न मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको थियो । यसैअनुसार बुधवार बीमा समितिले परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

आर्थिक रूपमा विपन्न, अशक्त र असहाय नागरिक, असहाय एकल महिला, अति अपांगता, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइका कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको परीक्षण तथा उपचार निःशुल्क हुने व्यवस्था छ । उनीहरूले कोरोना बीमा गरेको भए परीक्षणदेखि उपचारसम्मको खर्च बीमा रकमबाट बेहोर्ने गरी सरकारले नयाँ व्यवस्था गरेको हो । सरकारले कोरोना भाइरसको संक्रमणको उपचारबापत अस्पतालहरूलाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश–२०७७ को दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको थियो ।

यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार मात्र बीमा समितिलाई जानकारी दिएको होे । जानकारी पाएपछि यस व्यवस्थालाई कार्यान्वयन गर्न निर्देशन जारी गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘बीमितहरूले दोहोरो सुविधा नपाऊन् भनेर नै यस्तो व्यवस्था गरिएको हो । अब बीमा कम्पनीहरूले सोहीअनुसार दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्छ,’ उनले भने, ‘यो व्यवस्था गत असोज २९ गतेदेखि नै लागू हुनेछ । तसर्थ, बीमा कम्पनीहरूले सोहीअनुसार नै आवश्यक व्यवस्था गर्नुपर्छ ।’

उपचार गरेर बाँकी हुन सक्ने बीमा रकम के गर्ने भन्ने विषयमा स्पष्ट निर्णय गरिएको छैन । ‘सम्भवतः सरकारले उपचार गर्ने भइसकेपछि सम्बद्ध बीमितले कुनै पनि रकम पाउँदैनन् । तर, हामी यस विषयमा एकपटक स्वास्थ्य मन्त्रालयसँग छलफल गर्नेछौं,’ पौडलले भने । कोरोना संक्रमित हुँदा आफ्नै खर्चमा उपचार गर्नुपर्ने बीमित व्यक्तिको हकमा भने यो व्यवस्था लागू नहुने उनको भनाइ छ ।

कोरोना संक्रमितहरूकोे उपचार खर्च सरकारले नै बेहोर्दै आएको थियो । तर, पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले मापदण्ड तोक्दै उपचारबाट आफ्नो हात झिक्दै आएको छ । सोही क्रममा नै सरकारले बीमितहरूको उपचार खर्च बीमा रकमबाट बेहोर्ने नीति ल्याएको हो ।

नेपालमा कोरोना भाइरसको संक्रमण शुरू हुन थालेपछि बीमा समितिले नेपाल बीमक संघसँगको सहकार्यमा गत वैशाखदेखि यो बीमा कार्यक्रम ल्याएको थियो । लघुबीमाअन्तर्गत यो पोलिसी ल्याइएकाले निर्जीवन बीमा कम्पनीहरूले लघु बीमा पुलमार्फत यसको कारोबार गर्दै आएका छन् । यसको संयोजन नेपाल बीमक संघले गरेको छ भने बीमालेख इस्यु म्यानेजर शिखर इन्स्योरेन्स रहेको छ ।

पुलमार्फत कोरोना बीमाको कारोबार गरिएकाले यसबाट हुने व्यवसाय सबै निर्जीवन बीमा कम्पनीलाई बराबर बाँडफाँट गरिनेछ । संघका अनुसार पुनर्बीमाबापत नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत व्यवसाय पाउनेछ । बाँकी रहेको ८० प्रतिशत व्यवसाय भने २० निर्जीवन बीमा कम्पनीलाई बराबर बाँडिने बताइएको छ ।

पहिला बीमामा रू. ५० हजार र रू. १ लाख बीमांक हुने व्यवस्था थियो । तर, गत भदौ २९ गते कोरोना बीमा मापदण्ड संशोधन गर्दै बीमांकको सीमा हटाइएको छ । नयाँ व्यवस्थाअनुसार भदौ २९ यता बीमा गर्ने व्यक्ति कोरोना संक्रमित भएमा २५ हजार रुपैयाँ पाउनेछन् । संक्रमित भएर अस्पतालमा उपचार गर्नुपर्ने भएमा बिलको आधारमा रू. ७५ हजारसम्म दाबी भुक्तानी दिने व्यवस्था गरिएको छ । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार