काठमाडौँ । दुर्गापक्षको सातौँ दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्ति पीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि लामो लाम लागेको छ ।
सामान्य अवस्थामा पनि शनिवार परेका दिन देवी मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा आज दसैँको सातौँ दिन अर्थात् फूलपाती भएकाले लामो लाम लागेको हो ।
राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बङ्गलामुखी, टोखा चण्डेश्वरीलगायत शक्ति पीठ एवं देवी मन्दिरमा भक्तजनको लाम लागेको हो ।
देशभरका मुख्य शक्ति पीठ तथा देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ । देवीका भजन, मङ्गल एवं मालश्री धुन तथा देवी स्तोत्र वाचनले भक्तजनलाई मन्त्रमुग्ध बनाउँछ । मैतीदेवी मन्दिर छिर्ने सडकमा आकर्षक द्वार निर्माण गरेर भक्तजनलाई मन्दिरमा स्वागत गर्न ढोका निर्माण गरिएको छ ।
यसैगरी, नक्साल भगवती मन्दिर परिसरलाई पनि आकर्षक रूपमा बनाइएको छ । बिहानैदेखि भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् ।
नवरात्रका अवसरमा कम्तीमा पनि नौ वटा देवी मन्दिरमा दर्शन गर्नुपर्ने भन्दै केही भक्तजनले प्रत्येक दिन फरक फरक शक्तिपीठमा जाने गरी योजना बनाएको जनाएका छन् । कति भक्तजन राजधानीका शक्तिपीठमा दर्शन गरी बाहिरका देवी मन्दिरमा पनि दर्शनका लागि जाने तयारी गर्दैछन् ।
यसैगरी, उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडिमालिकालगायत देशभरका देवी मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।
शारदीय नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रूपमा पूजा आराधना गरिन्छ । नौ दिनसम्म विशेष साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने लगायत धार्मिक विश्वास छ । नवौँ दिनसम्म विधिपूर्वक पूजा आराधना गरिएको दुर्गादेवीको प्रसाद विजयादशमीका दिन मान्यजनका हातबाट लगाइन्छ ।
दसैँको महत्त्वपूर्ण दिन विजयादशमीका अवसरमा घटस्थापनामा राखिएको घडाबाट विधिपूर्वक अभिषेक गरी दुर्गाको प्रसादका रूपमा जमरा र रातो टीका लगाइन्छ । केही जातिले भने यस अवसरमा सेतो अक्षताको टीका पनि लगाउँछन् ।
यसैगरी दसैँका अवसरमा बजारमा किनमेल गर्नेको घुइँचो पनि बढ्न थालेको छ । मुख्य बजारमा सामान किनमेल गर्नेको लर्को छ । कति मानिस भने आ–आफ्नो थातथलो फर्केका छन् । कतिले जाने तयारी गर्न थालेका छन् । काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले सार्वजनिक यातायात सहज नभएको गुनासो गरेका छन् ।
सार्वजनिक यातायातमा गुन्द्रुक कोचेझैँ यात्रु राख्दा दसैँमा घर फर्कन लागेका यात्रुले दुःख पाएका हुन् । सार्वजनिक यातायात व्यवस्थित नहुँदा दसैँ, तिहारजस्ता धेरै यात्रुले चाडपर्वमा धेरै सास्ती खेप्नुपर्ने बाध्यता छ । तीन तहको सरकारको संरचना भए पनि सार्वजनिक यातायात व्यवस्थापन गर्न कसैको पनि ध्यान जान नसकेको गुनासो आम मानिसले गर्ने गरेका छन् ।
यस वर्ष बाढीले रसुवा, धादिङ, गोरखा, मुस्ताङलगायत जिल्लामा सडक एवं पुल संरचनाले गर्दा पनि समस्या भएको छ । तीमध्ये धेरै स्थानमा वैकल्पिक व्यवस्था गरिएको जनाइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया