झापा । झापाको बाह्रदशी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का एक वृद्ध घाइते भएका छन्।
जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता बजार निवासी ७० वर्षीया लजमा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ५ बजे सोही गाउँपालिका–२ चैतनियाबारी निवासी ७३ वर्षीय झप्टु राजवंशी मर्निङ वाकका क्रममा खाडी गाउँमा दुईवटा हात्तीको आक्रमणमा परी घाइते भएका थिए।
हात्तीको आक्रमणबाट खुट्टामा चोट लागेका राजवंशीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको छ। राजवंशीलाई आक्रमण गरेलगत्तै ती हात्तीहरूले सोही क्षेत्रको जनता चोकको दक्षिणतर्फ बिहान करिब ५:४० बजे लजमा खातुनमाथि आक्रमण गरेका थिए।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। एकैदिन दुई व्यक्तिमाथि वन्यजन्तुले आक्रमण गरेपछि यस घटनाले स्थानीय बासिन्दामा त्रास र असुरक्षाको भावना बढेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया