कार्तिक ११, २०८३ बुधबार October 28, 2026

संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

नमूना कृषक समूह गठन भएपछि बरंजाका १५ घरपरिवार व्यावसायिक बाख्रापालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, ११ कात्तिकः कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहनुभएका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ । अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्य रहनुभएका श्रीस अहिले कृषि उद्यममा रमाउनुभएको छ ।

दुई दशकभन्दा बढी राजनीतिमा सक्रिय उहाँ अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालनमा व्यस्त हुनुहुन्छ । गाउँ फर्किएर कृषि उद्यममा लाग्नुभएका श्रीसले आफ्नै श्रम र लगानीबाट स्वरोजगारको बाटो रोज्नुभएको हो ।

उहाँले श्रीस कृषि तथा पशुपन्छी फार्म स्थापना गरेर कृषि कर्म सुरु गर्नुभएको थियो । अहिले फार्ममा बाख्रापालन, सुन्तला खेती र मौरीपालन भइरहेको छ । उहाँका अनुसार कृषिमा आधारित उद्यम पहाडी क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउने राम्रो माध्यम हो ।

“नागरिकको अवस्था सुधार, आर्थिक तथा सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशीलता प्रमुख आधार हो,” श्रीसले भन्नुभयो, “पहाडी क्षेत्रमा आत्मनिर्भरता र स्वरोजगारको सम्भावना देखाउन आफैँ अग्रसर भएको हुँ ।”

दुईवटा बाख्रा रु एक लाख लगानीबाट उहाँले छ वर्षअघि व्यवसाय सुरु गर्नुभएको थियो । अहिले फार्ममा ३०  बाख्रा छन् । वार्षिक १५ देखि २० वटासम्म खसीबोका बिक्री गर्नुहुन्छ । खरी र जमुनापारि जातका बाख्रा पाल्नुभएका उहाँले व्यावसायिक पशुपालनलाई निरन्तरता दिनुभएको छ ।

सुरुमा बाख्रापालन सहज भएन । ताराखोलाबाट किनेर ल्याएका बाख्रालाई स्थानीय हावापानी अनुकूल नभएपछि क्षति बेहोर्नुप¥यो । तर, उहाँले हिम्मत हार्नुभएन । व्यवसायलाई निरन्तरता दिनुभयो । अहिले उहाँको फार्म व्यवस्थित बनेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा आधुनिक खोर निर्माण गर्नुभएको छ ।

बाख्रापालनसँगै उहाँले सुन्तला खेतीलाई पनि विस्तार गर्नुभएको छ । परम्परागत खाद्यान्न खेती हुँदै आएको खेतबारीमा ३५० वटा सुन्तलाका बोट लगाउनुभएको छ । ती बोटले उत्पादन दिन थालेका छन् । खाली जमिनमा बाख्राका लागि आवश्यक घाँस पनि लगाउनुभएको छ । यसले पशुपालनलाई सहज बनाएको छ ।

उहाँले मौरीपालन सुरु गर्नुभएको छ । अहिले उहाँसँग १६ वटा मौरीका घार छन् । सिचाइका लागि निर्माण गरेको पोखरीमा माछा पाल्न थाल्नुभएको छ । मङ्गला गाउँपालिकाले मौरीपालनसम्बन्धी तालिम, प्राविधिक सहयोग र घार खरिदमा अनुदान दिएको छ ।

श्रीसको कृषि यात्राले व्यक्तिगत आम्दानीमा मात्र सीमितता राखेको छैन । उहाँको अगुवाइमा नमूना कृषक समूह गठन भएपछि बरंजाका १५ घरपरिवार व्यावसायिक बाख्रापालनमा लागेका छन् । यसले गाउँमा कृषि उद्यमप्रतिको आकर्षण बढाएको छ ।

बरंजाका किसान बाख्रापालनसँगै सुन्तला खेती र गाईभैँसीपालनमा  संलग्न छन् । उनीहरूले उत्पादन गरेको दूध तातोपानी र बेनी बजारमा बिक्री गर्दै आएका छन् । स्थानीयस्तरमै उत्पादन र बजारको सम्भावना देखिएकाले कृषिलाई आम्दानीको स्रोत बनाउन सकिने श्रीसको विश्वास छ ।

सुन्तला खेती विस्तार र बगैँचा व्यवस्थापनमा उहाँले सहयोग पाउनुभएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यालयले श्रीससहित बरंजाका किसानलाई सुन्तला खेती विस्तार, बगैँचा सुदृढीकरण र सिँचाइ सुविधा विस्तारमा सहयोग गरेका छन् ।

मध्यमवर्गीय परिवारमा जन्मनुभएका श्रीसले आत्मनिर्भर बन्ने उद्देश्यले कृषि उद्यम रोज्नुभएको हो । केही समय उहाँले खाद्यान्न पसलको डिलरसमेत सञ्चालन गर्नुभएको थियो । तर, अहिले उहाँको मुख्य ध्यान कृषि र पशुपालनमा केन्द्रित छ ।

बिहान र बेलुका बाख्राको स्याहार तथा सुन्तलाका बोटको हेरचाहमा उहाँको समय बित्छ । फुर्सदको समय पनि फार्ममै बिताउनुहुन्छ । कृषि कर्मसँगै उहाँ स्थानीय सामाजिक गतिविधिमा समेत सक्रिय हुनुहुन्छ । परिवारका सदस्यले उहाँलाई साथ दिएका छन् ।

श्रीसको जीवनयात्रा भने कृषि उद्यमबाट सुरु भएको होइन । विद्यार्थी जीवनदेखि नै उहाँ नेकपा (माओवादी) मा आबद्ध हुनुभएको थियो । विसं २०५८ देखि भूमिगत राजनीतिमा सक्रिय हुनुभयो । तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा उहाँ राजनीतिक गतिविधिमा संलग्न रहनुभयो ।

विसं २०६३ मा उहाँ अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बन्नुभयो । त्यसपछि विसं २०६४ देखि २०७० सम्म पहिलो संविधानसभामा प्रतिनिधित्व गर्नुभयो । संविधानसभा सदस्यको कार्यकाल पूरा भएपछि उहाँ जन्मथलो बरंजा फर्कनुभयो । त्यसपछि कृषि उद्यमलाई जीवनयापनको आधार बनाउनु भएको हो ।

श्रीस अहिले पनि राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । राजनीति र कृषि उद्यमलाई सँगसँगै अघि बढाउने उहाँको योजना छ । श्रीसको अनुभवमा कृषि उद्यमले उत्पादन मात्र बढाउँदैन, गाउँमै रोजगारी सिर्जना गर्न पनि मद्दत गर्छ । पहाडी क्षेत्रमा उपलब्ध जमिन, हावापानी र स्थानीय स्रोतको उपयोग गर्न सके किसानले आफ्नै गाउँमा आम्दानी गर्न सक्छन् भन्ने उहाँको विश्वास छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया