कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

घटनामा एक जना घाइते भएका छन् भने रु १० करोड ६६ लाख ८२ हजार ९७५ बराबरको सम्पत्ति जलेर नष्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भद्रपुर (झापा), १० कात्तिकः झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको भौतिक क्षति भएको छ । आगलागी, जङ्गली जनावरको आक्रमण र चट्याङका घटनामा ठूलो आर्थिक नोक्सानी हुनुका साथै मानवीय जोखिमसमेत देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार असोज महिनामा भएका विपद्का घटनामध्ये आगलागीबाट सबैभन्दा बढी क्षति भएको छ । यस अवधिमा जिल्लाका विभिन्न स्थानमा १२ वटा आगलागीका घटना भएका छन् । ती घटनामा एक जना घाइते भएका छन् भने रु १० करोड ६६ लाख ८२ हजार ९७५ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

यसैगरी, जङ्गली जनावरको आक्रमणका नौ वटा घटना भएका छन् । ती घटनाबाट रु तीन लाख ८९ हजार बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ । जङ्गली जनावरको आक्रमण तथा जोखिममा परेका चार जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, चट्याङको एउटा घटनाबाट रु एक लाख बराबरको क्षति भएको छ । प्रहरीले आगलागीबाट जोगिन विद्युतीय उपकरण तथा आगोको प्रयोगमा सावधानी अपनाउन र वन तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई जङ्गली  जनावरबाट सुरक्षित रहन सतर्कता अपनाउन आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया