असार २६, २०८२ बिहिबार July 10, 2025

दैनिक हजार पर्यटक सूर्योदय हेर्न तनहुँको मानहुँकोटमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका-५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् ।

फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ ।

चितवनका मनिष थापाले सामाजिक सञ्जालमा एकदमै चर्चा भएपछि बिहानै मानहुँकोट आइपुगेको जानकारी दिए । ‘बिहानको समयमा सूर्योदय र कुहिरोको दृश्यले मनै लोभ्याउँछ’, उनले भने, ‘मानहुँकोट साँच्चिकै मनमोहक रहेछ ।’ पोखरा र चितवनको बीच भागमा रहेको र राजमार्गबाट पनि नजिक भएकाले मानहुँकोटको भविष्य उज्ज्वल रहेको थापाले बताए ।

चितवनबाटै आइपुगेका विनेश थापाले मानहुँकोटबाट बिहानको समयमा देखिने दृश्य सुन्दर र मनमोहक रहेको बताए । ‘भिडियोमा मात्रै देखेकोभन्दा आफ्नै आँखाले हेरेपछि अझ मोहित भएँ’, उनले भने, ‘सामाजिक सञ्जालमा यसको जति चर्चा छ, त्यति नै आकर्षणयुक्त रहेछ यो ठाउँ ।’

पछिल्लो एक हप्ताको अवधिमा मानहुँकोटमा पर्यटकको घुइँचो बढेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘दैनिक करिब एक हजार पर्यटक मानहुँकोट आएका छन्’, उनले भने, ‘सञ्चारमाध्यमबाट मानहुँकोटको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग मिलेको छ ।’

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँकोटको प्रचारप्रसारका लागि नगरपालिकाको तर्फबाट पहल भइरहेको बताए । ‘मानहुँको पर्यटनले एउटा गति लिइसकेको छ, यसको विकासका लागि थप योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता महसुस भएको छ’, न्यौपानेले भने ।

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले ३६ लाख ५० हजार रुपैयाँको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ ।

थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ । मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य यहाँबाट देखिन्छ ।

फोहरमैला सरसफाइ

फोहरमैला व्यवस्थापनका लागि बुधबारबाटै मानहुँकोटमा एक जना कर्मचारी राख्ने तयारी गरिएको छ । मानहुँकोटमा दैनिक पर्यटक बढेसँगै फोहर पनि जथाभावी रुपमा फालिएको छ ।

मानहुँकोट आएर फोहर नगरिदिन र फोहरमैला निश्चित ठाउँमा राखेर व्यवस्थापन गरिदिन वडाध्यक्ष श्रेष्ठले आग्रह गरे । ‘मानहुँकोट घुम्न आउनुस्, तर जथाभावी रुपमा फोहर गरेर यसको सौन्दर्य घटाउने काम नगरिदिनुहोस्’, वडाध्यक्ष श्रेष्ठले भने । व्यास नगरपालिकाले मंगलबार उक्त ठाउँमा सरसफाइसमेत गरेको छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार