काठमाडौँ, मङ्सिर ७ गते । केही वर्षअघिसम्म अपराध भन्नासाथ चोरी, डकैती, लुटपाट र ठगीका परम्परागत घटना सम्झिइन्थे । अपराध गर्न भौतिक रूपमा घटनास्थल पुग्नुपर्ने र पीडितसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने अवस्था थियो । तर प्रविधिको तीव्र विकाससँगै अपराधको स्वरूप फेरिएको छ । अहिले मोबाइल, कम्प्युटर र इन्टरनेटको माध्यमबाटै हजारौँ मानिसलाई ठगी गर्ने, बैङ्क खाताबाट रकम अन्यत्र सार्ने र सरकारी प्रणालीमा अनधिकृत पहुँच पुर्याउने घटना बढेका छन् ।
पछिल्लो समय नेपालमा सार्वजनिक भएका घटनाले साइबर माध्यमबाट हुने आर्थिक अपराधको जालो विस्तार हुँदै गएको देखाएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) मा अनलाइन सट्टेबाजी गराउनेदेखि सार्वजनिक खरिदको विद्युतीय प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काका विवरण हेरफेर गर्नेसम्मका घटना सार्वजनिक भएका छन् । बैङ्क खाताबाट रकम चोरी गर्ने र अनलाइन लगानीका नाममा अस्वाभाविक प्रतिफलको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने प्रवृत्तिसमेत बढ्दो छ ।
नेपाल प्रहरीको पछिल्लो पाँच वर्षको अपराध अभिलेखले आर्थिक अपराधको दायरा र प्रकृति विस्तार हुँदै गएको देखाउँछ । आर्थिक वर्ष २०७९/८० मा मात्रै बैङ्किङ कसुरका १२ हजार ९५० मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा आर्थिक तथा सङ्गठित अपराधले कुल अपराधको ३७ प्रतिशत हिस्सा ओगटेको प्रहरी अभिलेखमा उल्लेख छ । सोही वर्ष सम्पत्ति शुद्धीकरणसम्बन्धी ३५ वटा मुद्दा दर्ता भएका थिए ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले आर्थिक अपराध परम्परागत वित्तीय कारोबारमा मात्र सीमित नरही प्रविधिको प्रयोगबाट हुने नयाँ प्रकृतिका कसुरतर्फ विस्तार हुँदै गइरहेको पाइएकाले नियन्त्रणका लागि विशेष सुरक्षा एकीकृत सुरक्षा रणनीति अपनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “डिजिटल माध्यमबाट हुने कारोबार, अनलाइन ठगी तथा अवैध वित्तीय गतिविधि नियन्त्रणका लागि प्रहरीका विशिष्ट युनिट एकीकृत रूपमा परिचालन भइरहेका छन् ।”
उहाँले अनलाइन माध्यमबाट प्रलोभनमा पारेर रकम ठगी गर्ने, विभिन्न व्यक्तिका बैङ्क खातामार्फत रकम स्थानान्तरण गर्ने तथा डिजिटल कारोबारको आवरणमा गैरकानुनी आर्थिक गतिविधि सञ्चालन गर्ने प्रवृत्ति निरुत्साहित गर्न विभिन्न माध्यमबाट जनचेतना अभिवृद्धि भइरहेको पनि बताउनुभयो ।
एनपिएलमा सट्टेबाजीदेखि सरकारी ठेक्कामा छेडखानीसम्म
हाल जारी एनपिएलको तेस्रो संस्करणका विभिन्न खेलमा अनलाइन सट्टेबाजी गराएको आरोपमा भारतीय नागरिक रोहित पथरिया पक्राउ परेका छन् । भारतको राजस्थान घर भई काठमाडौँको ठमेल बस्दै आएका उनले आठ लाख ७५ हजार रुपियाँ बराबरको सट्टेबाजी गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसअघि पनि एनपिएलमा सट्टेबाजी गराएको आरोपमा दुई जना पक्राउ परेका थिए ।
त्यस्तै सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणाली (इजिपी) मा अनधिकृत पहुँच पु¥याएर ठेक्काका विवरण हेरफेर गरेको आरोपमा साइबर ब्युरोले तीन जनालाई पक्राउ गरेको छ । आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
ओटिपी र अनलाइन लगानीबाट ठगी
बैङ्कबाट बोलेको भन्दै केवाइसी अद्यावधिक गर्नुपर्ने बहानामा कर्मचारीका खातामा पहुँच पुर्याएर रकम चोरी गर्ने क्रम बढ्दो रहेको प्रहरीले जनाएको छ । यस्तो गिरोहले फोन र ह्वाट्सएपमार्फत सम्पर्क गरी स्क्रिन सेयर गर्न लगाउने वा ओटिपी कोड माग्ने र त्यसपछि खाताको रकम अन्यत्र रकमान्तर गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै ‘बिभी नेपाल’ नामक अनलाइन प्लेटफर्ममार्फत छोटो समयमै उच्च प्रतिफल दिने भन्दै लगानी योजना सञ्चालन गरिएको विषयमा साइबर ब्युरोले सचेत गराएको थियो । यस्ता योजनामा लगानी नगर्न ब्युरोले सर्वसाधारणलाई आग्रह गरेको थियो ।
सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा फरार रहेका वराह बचत तथा ऋण सहकारीका संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) र ऋण उपसमिति सदस्य अस्मिता भण्डारीलाई पनि प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको थियो । उनीहरूमाथि नेपाल र विदेशमा कम्पनी स्थापना गरी बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।
बैङ्किङ कसुरदेखि क्रिप्टोकरेन्सीसम्म
प्रहरी अधिकारीका अनुसार बैङ्किङ कसुर र चेक अनादरका घटनासँगै सहकारी ठगी, मिटरब्याज, अनुचित लेनदेन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारसम्बन्धी कसुर पनि आर्थिक अपराधका प्रमुख चुनौती बनेका छन् । गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउने, स्रोत परिवर्तन गर्ने र विभिन्न माध्यमबाट वैध देखाउने गतिविधिमाथि समेत अनुसन्धान केन्द्रित हुन थालेको छ ।
नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक हेमन्त मल्ल बदलिँदो अपराध नियन्त्रणका लागि परम्परागत अनुसन्धान पद्धति मात्र पर्याप्त नहुने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वित्तीय कारोबारको सूक्ष्म विश्लेषण, डिजिटल प्रमाण सङ्कलन, साइबर अनुसन्धान क्षमता अभिवृद्धि तथा सम्बन्धित वित्तीय र नियामक निकायबिचको समन्वय प्रभावकारी बनाउनुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ ।” –गोरखापत्रबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया