मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

यी हुन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेका नौवटा निर्णयहरु (पूर्णपाठ)

पार्टीको नाम र चुनाव चिन्ह दुरुपयोग गर्नेलाई कारबाही गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कांग्रेसले संविधान, लोकतन्त्र र विधिको शासनको रक्षाका साथै जनजीविकाका सवालमा सरकारलाई निरन्तर खबरदारी गर्दै सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

सभापति गगनकुमार थापाको अध्यक्षतामा मंसिर ८ देखि ११ गतेसम्म बसेको केन्द्रीय कार्य समितिको बैठकले सरकारलाई संविधान र लोकतान्त्रिक मूल्य मान्यता अनुसार मात्र कामकारबाही गर्न आग्रह गरेको छ ।

बैठकले संसद्को अधिवेशन आह्वान गर्न तथा संवैधानिक निकाय र राज्यका संस्थाहरूको मर्यादा कायम राख्न पनि सरकारसँग माग गरेको छ ।

पार्टी महामन्त्री प्रदिप पौडेलले बैठकका निर्णयबारे जानकारी दिँदै सरकारबाट भएका सकारात्मक काममा पार्टीको पूर्ण सहयोग रहने तथा गलत निर्णय र कार्यशैलीविरुद्ध सशक्त रूपमा खबरदारी गर्ने निर्णय गरेको बताउनुभयो ।

कांग्रेसले सरकारको कार्यशैली, संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट निरन्तर निगरानी, खबरदारी र प्रतिरोध गर्ने जनाएको छ ।

बैठकले अनुसन्धानकारी निकायको व्यावसायिक स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने, अर्थतन्त्रमा देखिएका समस्या, बढ्दो महँगी, कमजोर निजी क्षेत्रको मनोबल, रोजगारी, किसानका समस्या, सहकारी पीडितको अवस्था र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सरकारले घोषणा गरेका सय दिने कार्यक्रम, विभिन्न पक्षसँग भएका सम्झौता र गठन गरिएका छानबिन समितिका प्रतिवेदन सार्वजनिक गर्न पनि कांग्रेसले माग गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका सहमति कार्यान्वयनमा जोड दिँदै  भ्रमणका क्रममा भएका सहमति र समझदारीलाई सकारात्मक रूपमा लिएको र तिनको प्रभावकारी कार्यान्वयनमा निगरानी राख्ने निर्णय पनि गरेको छ ।

भ्रमणका क्रममा भारतसँग भैरहवा हवाई मार्ग दुईतर्फी सञ्चालन गर्ने सहमति, भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माण तथा पूर्वाधार विकासका लागि घोषणा गरिएको २४० अर्ब रुपियाँ बराबरको विकास सहयोग र शिक्षा, प्रविधि, स्टार्टअप तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई कांग्रेसले स्वागत गरेको छ ।

नेपाल–भारतबिच लामो समयदेखि समाधान हुन नसकेको सीमा विवादलाई उच्चस्तरीय संवादमार्फत मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएका विषयलाई द्विपक्षीय संवादको प्रमुख एजेन्डामा राख्न सरकारसँग माग गरिएको छ ।

भैरहवा हवाई मार्ग सञ्चालनका लागि आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्ने समयसीमा, विकास सहयोगको उपयोग र सहुलियतपूर्ण ऋणका शर्तबारे सरकारले संसद् र नागरिकलाई स्पष्ट जानकारी दिनुपर्ने कांग्रेसको भनाइ छ ।

बाढीपीडितको पुनःस्थापनाका लागि समिति

बैठकले भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकीलगायतका बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणको काम प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग माग गरेको छ ।

बाढी प्रभावित नागरिकले राहत, आवास र पुनःस्थापनाको सुविधा नपाएको भन्दै कांग्रेसले तत्काल सुरक्षित आवास, घरभाडा सहायता, पुनर्निर्माण र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

यसका लागि केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा समन्वय तथा सहजीकरण समिति गठन गरी बाढी प्रभावित क्षेत्रका सांसद, केन्द्रीय सदस्य र विज्ञलाई समेत समेट्ने निर्णय गरेको छ ।

यी हुन् बैठकले गरेका निर्णयहरुः

निर्णय नं. १

  • सरकारका पछिल्ला गतिविधिबारे नेपाली कांग्रेसको धारणा

गत निर्वाचनको मतादेशबाट नेपाली कांग्रेसलाई प्राप्त प्रतिपक्षीय जिम्मेवारी अनुरूप निर्वाचनपश्चात् नै नेपाली कांग्रेसले आफ्नो भूमिका स्पष्ट गर्दै आएको छ-—हाम्रो प्रतिपक्षीय भूमिका रचनात्मक, जिम्मेवार र सशक्त रहनेछ। सरकारका सकारात्मक प्रयास, समुन्नतिका साझा राष्ट्रिय मुद्दा, प्राकृतिक विपद् तथा महामारीको सामना, अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय हितको प्रतिनिधित्व, राष्ट्रिय स्वाभिमान र जनसरोकारका संवेदनशील विषयमा नेपाली कांग्रेस जिम्मेवारीपूर्वक सरकारको साथमा रहनेछ। तर सरकारका गलत निर्णय, क्रियाकलाप र प्रवृत्तिका विरुद्ध नेपाली कांग्रेस सशक्त ढङ्गले उभिनेछ र निरन्तर प्रतिपक्षीय निगरानी गर्नेछ।

नेपाली कांग्रेसले आफ्नो पन्ध्रौँ महाधिवेशनबाट समेत यही प्रतिपक्षीय भूमिकाप्रतिको प्रतिबद्धतालाई पुनः स्पष्ट गरेको छ।

विगतका महिनाहरूमा नेपाली कांग्रेसले आफ्नो व्यवहारबाट समेत यो प्रतिबद्धता प्रमाणित गरेको छ। प्राकृतिक विपद्को सामना, सामाजिक सद्भावको संरक्षण तथा राष्ट्रिय सरोकारका संवेदनशील विषयमा सरकार स्वयंले सहयोगको अपेक्षा नगर्दा पनि नेपाली कांग्रेस जिम्मेवारीपूर्वक सरकारको साथमा उभिएको छ। जहाँ सरकार चुकेको छ, त्यहाँ प्रश्न उठाएको छ, सचेत गराएको छ र सुधारका लागि रचनात्मक सुझाव दिएको छ।

सरकार गठनको प्रारम्भिक चरणमा देखिएका कतिपय कमजोरीलाई नयाँ सरकार र नयाँ नेतृत्वको अनुभवको कमीका रूपमा बुझ्दै नेपाली कांग्रेसले संयम अपनाएको थियो। सरकारलाई सिक्ने, सच्याउने र काम गर्ने पर्याप्त अवसर दिनुपर्छ भन्ने हाम्रो मान्यता थियो।

तर सरकारका पछिल्ला गतिविधि र कार्यशैलीलाई हेर्दा अब यी कमजोरी कुनै एकाध घटना, अनुभवको कमी वा संयोग मात्र नभई सरकार सञ्चालन गर्ने नेतृत्वको सोच, चरित्र र प्रवृत्तिकै अभिव्यक्ति हुन् भन्ने गम्भीर आशङ्का उत्पन्न भएको छ।

संविधान, लोकतन्त्र, विधिको शासन, राष्ट्रिय स्वाभिमान, अर्थतन्त्र र जनजीविकाका सवालमा सरकार जुन दिशातर्फ अग्रसर भइरहेको छ, त्यसप्रति मौन रहनु वा प्रतिरोध नगर्नु देश र जनताप्रतिको आफ्नो जिम्मेवारीबाट विमुख हुनु हो भन्ने नेपाली कांग्रेसको ठहर छ।

रचनात्मक प्रतिपक्ष हुनु भनेको सरकारका गलत क्रियाकलापप्रति मौन रहनु होइन। जिम्मेवार प्रतिपक्ष हुनु भनेको सरकारको स्वेच्छाचारितालाई सहनु पनि होइन।

सरकारका सकारात्मक कार्यमा सहयोग गर्ने हाम्रो प्रतिबद्धता यथावत् छ। तर संविधान, विधिको शासन र लोकतन्त्र विपरीतका गतिविधि, शासकीय स्वेच्छाचारिता र जनहित विपरीतका निर्णयका विरुद्ध अब नेपाली कांग्रेस अझ दृढ, मुखर र सशक्त ढङ्गले उभिनेछ।

यसै सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक सरकारका निम्न गतिविधि र प्रवृत्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै सरकारलाई खबरदारी गर्दछ।

क. संविधानप्रतिको प्रतिबद्धता : व्यवहारमा शासकीय अराजकता

वर्तमान सरकार यही संविधान अन्तर्गत, यही संविधानले स्थापित गरेको निर्वाचन प्रणाली र संसदीय व्यवस्थाबाट निर्माण भएको सरकार हो। संविधानको पालना र संरक्षण गर्नु सरकारको पहिलो दायित्व हो।

तर सरकार र सरकार प्रमुखका पछिल्ला व्यवहारले संविधानको मर्म, भावना, सीमा र लोकतान्त्रिक मूल्यप्रति सरकारको वास्तविक प्रतिबद्धतामाथि नै गम्भीर प्रश्न खडा गरेको छ।

सरकार गठन भएदेखि नै संसद्प्रति निरन्तर उपेक्षा गर्ने, संसदीय समितिप्रति जवाफदेही हुन नचाहने र पछिल्लो समय संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोज्ने प्रवृत्ति देखिएको छ।

शक्ति पृथकीकरणको सिद्धान्तविपरीत कार्यपालिकाले आफ्नो संवैधानिक सीमाभन्दा बाहिर गएर व्यवस्थापिका, संवैधानिक निकाय तथा राज्यका विभिन्न अङ्गमाथि हस्तक्षेप र नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। राष्ट्रपतिजस्तो गरिमामय संवैधानिक संस्थाको अवमूल्यन गर्ने व्यवहा रसमेत देखिएको छ।

संविधानका अक्षरको मात्र होइन, त्यसको भावना, स्थापित लोकतान्त्रिक परम्परा, संस्थागत मर्यादा र विधि-प्रक्रियाको सम्मान गर्नु सरकारको कर्तव्य हो। यी सबैलाई पटकपटक उल्लङ्घन गर्नु सामान्य कमजोरी होइन, शासकीय अराजकता हो।

संविधानबाट प्राप्त अधिकार प्रयोग गर्ने तर संविधानले निर्धारण गरेका सीमा, मर्यादा र दायित्व स्वीकार नगर्ने प्रवृत्ति अन्ततः लोकतन्त्रलाई नै अस्वीकार गर्ने प्रवृत्ति हो।

कांग्रेसको माग : नेपाली कांग्रेस संसद्, राष्ट्रपति, संवैधानिक निकाय तथा राज्यका अङ्गहरूको अवमूल्यन र मानमर्दन गर्ने सरकारको प्रवृत्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दछ। प्रेस स्वतन्त्रता तथा भदौ २३ र २४ का घटनासँग जोडिएका संवेदनशील विषयमा पर्याप्त संसदीय छलफल र सार्वजनिक विमर्श बिना ल्याइएका विभिन्न अध्यादेश तत्काल फिर्ता लिन, संसद्को अधिवेशन आह्वान गर्न र संवैधानिक सीमा तथा संस्थागत मर्यादाको पूर्ण पालना गर्न सरकारसँग माग गर्दछ।

सरकारलाई कांग्रेसको प्रश्न : यही संविधान र संसदीय व्यबस्थाबाट प्रधानमन्त्री बन्ने तर संविधानले स्थापित गरेका संसद्, राष्ट्रपति, संवैधानिक निकाय र विधि-प्रक्रिया कसैलाई पनि मान्दिनँ भन्ने प्रवृत्तिलाई सरकारले नै संस्थागत गर्ने हो भने भोलि अरू कसैले यही संविधानले स्थापित गरेको प्रधानमन्त्रीको संस्था पनि मान्दिनँ भन्यो भने के हुन्छ? सरकार स्वयंले संविधान र संस्थाहरूको मर्यादा भत्काउँदै जाने हो भने संवैधानिक व्यवस्था कसरी जोगिन्छ?

ख. सरकारको बाटो : विधिको शासनको सट्टा स्वेच्छाचारिता

लोकतन्त्रको आधारभूत जग विधिको शासन (Rule of Law) हो, कानुनलाई शासकको स्वार्थ अनुकूल प्रयोग गरेर गरिने शासन (Rule by Law) होइन।

लोकतन्त्रमा सरकारले कानुन बनाउँछ, तर त्यही कानुन सरकारलाई पनि समान रूपमा लागू हुन्छ। कानुन न्याय सुनिश्चित गर्ने माध्यम हो, राजनीतिक प्रतिशोध साध्ने र कसैका विरुद्ध षडयन्त्र गर्ने हतियार होइन।

नेपाली कांग्रेसले निरन्तर भन्दै आएको छ— कानुनभन्दा माथि कोही छैन। कानुनविपरीत काम गर्ने वा अपराधमा संलग्न हुने जोसुकै व्यक्ति, जुनसुकै पार्टी, पक्ष वा शक्तिसँग आबद्ध भए पनि कानुनसम्मत प्रक्रिया (Due Process of Law) अनुसार अनुसन्धान र कारबाहीको दायरामा आउनुपर्छ।

यस सम्बन्धमा नेपाली कांग्रेसको धारणा स्पष्ट छ।

कोही सरकारको विरोधी छ र उसले दण्डनीय अपराध गरेको छ भने ऊ कानुनी कारबाहीको दायरामा आउनैपर्छ। तर सरकारको विरोधी भएकै कारण अपराध नगरेको व्यक्तिलाई जबरजस्ती अनुसन्धान र कारबाहीमा तान्नु राज्यशक्तिको दुरुपयोग हो।

त्यसैगरी, कोही सरकारको समर्थक छ भन्दैमा हल्ला र आशङ्काका आधारमा उसलाई अपराधी करार गर्नु गलत हो। तर सरकारसँग निकट भएकै कारण अपराधमा संलग्न व्यक्तिले उन्मुक्ति र संरक्षण पाउँछ भने त्यो पनि राज्यशक्तिको दुरुपयोग हो।

दुर्भाग्यवश, सरकारका पछिल्ला गतिविधिले राज्यशक्तिको यस्तै चयनात्मक प्रयोग भइरहेको गम्भीर आशङ्का उत्पन्न गराएका छन्।

सरकारले आफ्नो आदेशलाई कानुन र राज्यका निकायलाई आफ्नो सचिवालयजस्तो ठान्ने प्रवृत्ति देखाएको छ। कानुनको निष्पक्ष र पारदर्शी कार्यान्वयनको सट्टा व्यक्तिको राजनीतिक आबद्धता र सरकारसँगको निकटताका आधारमा छानीछानी अनुसन्धान र कारबाही गर्ने प्रवृत्ति देखिएको छ।

सुनकोशी-मरिन आयोजनासँग सम्बन्धित प्रकरण तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको मोबाइल प्रकरणले सरकारको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन्। प्रहरी अनुसन्धानसँग सम्बन्धित प्रमाणमाथि हस्तक्षेप गरिएको भन्ने आरोप आफैँमा अत्यन्त गम्भीर छ।

कांग्रेसको माग: यी प्रकरणहरूको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न, अनुसन्धानमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नगर्न, दोषी देखिएका जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा राज्यका अनुसन्धानकारी निकायहरूको व्यावसायिक स्वतन्त्रता सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ।

सरकारलाई कांग्रेसको प्रश्न: प्रधानमन्त्रीको समूहमा रहेका व्यक्ति र सत्तारूढ दलका लागि एउटा कानुन अनि अरू नागरिकका लागि अर्को कानुन हो? सरकारले आफ्ना विरोधीमाथि कानुन प्रयोग गर्ने र आफ्ना निकटस्थलाई कानुनबाट संरक्षण गर्ने हो भने विधिको शासन कहाँ रहन्छ? यस्तो बाटोबाट सरकारले कस्तो सुशासन स्थापना गर्न खोजेको हो?

ग. सरकारको उदासीनता: खस्कँदो अर्थतन्त्र, सङ्कटमा जनजीविका, त्रसित निजी क्षेत्र

नेपाली कांग्रेसले निर्वाचनपश्चात् नै सरकारलाई सचेत गराएको थियो— मतादेशले दिएको राजनीतिक स्थिरताको लाभ नागरिकले पाउनुपर्छ। अर्थतन्त्रमा सुधार आएर नागरिकको जीवनमा सहजता महसुस भएमात्र राजनीतिक स्थिरताको सार्थकता प्रमाणित हुन्छ।

नेपाली कांग्रेसले अर्थतन्त्रलाई सरकारको प्राथमिक कार्यसूची बनाउन निरन्तर आग्रह गर्दै आएको छ। अर्थतन्त्रका विभिन्न समस्या र तिनको समाधानका उपायबारे पटकपटक सरकारको ध्यानाकर्षण गराएको छ।

तर अर्थतन्त्र र जनजीविकाका सवालप्रति सरकारको अपेक्षित गम्भीरता र संवेदनशीलता देखिएको छैन।

आम नागरिकको आम्दानी र खर्चबीचको खाडल फराकिलो हुँदै गएको छ। दैनिक उपभोग्य वस्तुको महँगीले नागरिकको भान्सा थिचिएको छ। साना उद्यमी तथा व्यवसायीहरू व्यवसाय सञ्चालन गर्न र बैंकको ऋण तिर्नसमेत कठिनाइ भोगिरहेका छन्।

बजार अपेक्षित रूपमा चलायमान हुन सकेको छैन। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम उपलब्ध हुँदाहुँदै पनि लगानी बढ्न सकेको छैन। बैंकहरूको खराब कर्जाप्रतिको चिन्ता बढ्दो छ। निजी क्षेत्रको आत्मविश्वास कमजोर भएको छ। वैदेशिक रोजगारीमा जाने युवाले थप सास्ति भोग्नुपरेको छ। सहकारी पिडितका व्यथा, मल, विउ, मूल्य किसान, उद्यमीदेखि श्रमिकसम्मका समस्या यथावत छन। सार्वजनिक सेवा प्रवाहमा अपेक्षित सुधार देखिएको छैन। सार्वजनिक शिक्षा र स्वास्थ्यको गुणस्तर प्राथमिकतामा पर्न सकेको छैन, स्वास्थ्य बिमा कार्यक्रम अलपत्र परेको छ। सरकारी बजेटको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। भ्रष्टाचार नियन्त्रणमा संस्थागत र प्रणालीगत सुधारको अनुभूति नागरिकले गर्न पाएका छैनन्।

नागरिकलाई अहिले चाहिएको आड र भरोसा हो, डर र त्रास होइन।

गलत काम गर्ने जोसुकैलाई कानुनी कारबाही गर्नुपर्छ भन्नेमा नेपाली कांग्रेसको कुनै द्विविधा छैन। तर तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरेर कारबाही गर्नेभन्दा पहिले पक्राउ गर्ने, थुन्ने र त्यसपछि मात्र आधार र प्रमाण खोज्ने प्रवृत्तिले उद्यमशीलता, लगानी र व्यावसायिक वातावरणलाई प्रतिकूल असर पुर्‍याउँछ।

निजी क्षेत्र मात्र होइन, राष्ट्रसेवक कर्मचारीसमेत अनिश्चितता र त्रासका कारण आवश्यक निर्णय लिन हिचकिचाउने वातावरण निर्माण भएको छ। प्रणाली निर्माण र संस्थागत सुधारबाट सुशासन स्थापित गर्नुपर्नेमा डर, दबाब र तदर्थ निर्णयबाट शासन सञ्चालन गर्ने प्रवृत्ति बढेको छ।

कांग्रेसको माग : अर्थतन्त्रको वर्तमान अवस्थाबारे यथार्थपरक विवरण सार्वजनिक गर्न, अर्थतन्त्र चलायमान बनाउने समयबद्ध कार्ययोजना प्रस्तुत गर्न, निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न, साना तथा मझौला उद्यमीका समस्या सम्बोधन गर्न, पुँजीगत खर्च बढाउन, शिक्षा, स्वास्थ्य रोजगारी लगायत जनजिविकाको सवालमा केन्द्रित हुन तथा महँगी नियन्त्रण गरी आम नागरिकलाई तत्काल राहत दिन नेपाली कांग्रेस सरकारसँग माग गर्दछ।

सरकारलाई कांग्रेसको प्रश्न : अर्थतन्त्रको अवस्था, आम नागरिकले भोगिरहेको महँगी लगायतका दैनिक समस्या र निजी क्षेत्रमा बढ्दो त्रासबारे सरकारलाई थाहा नभएको हो, थाहा पाउन आवश्यक नठानेको हो वा थाहा भएर पनि बेवास्ता गरेको हो? नागरिकको आम्दानी, शिक्षा, स्वास्थ्य, रोजगारी र जीवनस्तरमा सुधार ल्याउनु सरकारको प्राथमिकता होइन भने यो सरकारको प्राथमिकता आखिर के हो?

घ. सरकारका प्रतिबद्धता : घोषणामा उत्साह, कार्यान्वयनमा उदासीनता

वर्तमान सरकारले कार्यभार सम्हाल्दै गर्दा समयसीमा नै तोकेर सय दिनभित्र सम्पन्न गर्ने कार्यहरूको प्रतिबद्धता सार्वजनिक गरेको थियो। यस अवधिमा सरकारले विभिन्न समुदाय, समूह र आन्दोलनरत पक्षसँग अनेकौँ सम्झौता गरेको छ।विभिन्न विषयमा अध्ययन, अनुसन्धान र छानबिन गर्न समिति तथा आयोगहरू गठन गरेको छ।

तर सरकारले गरेका घोषणा, सम्झौता र प्रतिबद्धताको कार्यान्वयनको अवस्था के छ भन्नेबारे नागरिकलाई स्पष्ट जानकारी दिइएको छैन।

समस्या समाधानका लागि समिति गठन गर्ने, असन्तुष्टि साम्य पार्न सम्झौता गर्ने र तत्काल लोकप्रियता प्राप्त गर्न घोषणा गर्ने तर तिनको कार्यान्वयनमा जिम्मेवारी नलिने प्रवृत्ति देखिएको छ।

सरकारले गरेको सम्झौता कुनै व्यक्ति वा दलको निजी प्रतिबद्धता होइन, राज्यले नागरिकसँग गरेको प्रतिबद्धता हो। त्यसको कार्यान्वयन गर्नु राज्यको दायित्व हो। कार्यान्वयन गर्न नसक्ने अवस्था भए त्यसको कारण नागरिकलाई स्पष्ट पार्नु सरकारको जवाफदेहिता हो।

कांग्रेसको माग: सरकारले सार्वजनिक गरेको सयदिने कार्ययोजनाको उपलब्धि र कार्यान्वयनको वास्तविक अवस्था, विभिन्न समुदाय तथा समूहसँग भएका सम्झौताको प्रगति विवरण र सरकारले गठन गरेका अध्ययन तथा छानबिन समिति एवं आयोगका कानुनबमोजिम सार्वजनिक गर्न मिल्ने प्रतिवेदन तत्काल सार्वजनिक गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ। साथै, कार्यान्वयन हुन बाँकी प्रतिबद्धता र सम्झौताका सम्बन्धमा स्पष्ट समयसीतासहितको कार्ययोजना प्रस्तुत गर्न माग गर्दछ।

सरकारलाई कांग्रेसको प्रश्न: भदौ २३ र २४ का घटनासँग सम्बन्धित छानबिन, प्रतिबद्धता र निर्णयहरू अहिले कहाँ पुगेका छन्? मानव अधिकार आयोगको प्रतिवेदन, गृहमन्त्रीमाथिको छानवीन प्रतिवेदन कहाँ छ? एकातिर दलित समुदायसंग माफी माग्ने तर काम केही नगर्ने बरु उल्टै नेवा: समुदाय, दलित समुदाय लगायतका समुदायको आत्मसम्मानलाई ठेस पुग्नेगरी पर्याप्त परामर्श र अध्ययन नगरिकन दलित समुदायमा सूचीकृत गर्ने काम किन गरेको? सरकारले विभिन्न समुदाय र समूहसँग गरिएका सम्झौतामध्ये कति कार्यान्वयन भए? सरकारले गठन गरेका समिति र आयोगका प्रतिवेदन किन सार्वजनिक भएका छैनन्? सय दिनभित्र पूरा गर्छु भनिएका कामको हिसाब नागरिकले कहिले पाउने? सरकारका घोषणा र सम्झौता समस्या समाधानका लागि हुन् कि तत्कालको असन्तुष्टी साम्य पारे अल्झाउनका लागि मात्र हुन्?

ङ. शैली सच्याउन, विधि र संवैधानिक मर्यादामा रहन र जनसरोकारमा केन्द्रित हुन सरकारलाई ध्यानाकर्षण

नेपाली कांग्रेस सरकारलाई पुनः स्पष्ट पार्न चाहन्छ -—हामी सरकारको असफलता चाहँदैनौँ, देशको सफलता चाहन्छौँ। सरकार विधिसम्मत ढङ्गले चलोस, षडयन्त्र र प्रियतावादमा होइन राष्ट्रिय हित र जनअपेक्षामा केन्द्रित होस्। सरकारका राम्रा काममा हाम्रो साथ सहयोग रहनेछ। तर सरकारको सफलता वा असफलताभन्दा हाम्रा लागि संविधान, लोकतन्त्र, राष्ट्रिय हित र नागरिकको अधिकार एवम् जनजीविकाका सवाल सर्वोपरी छन्।

सरकारलाई ध्यानाकर्षण: नेपाली कांग्रेसको संयमलाई कमजोरी, रचनात्मकतालाई मौनता र जिम्मेवारीपूर्ण व्यवहारलाई सरकारको स्वेच्छाचारिताप्रतिको सहमति नठान्न नेपाली कांग्रेस सरकारलाई सचेत गराउँछ। साथै सरकारलाई आफ्ना गलत निर्णय र कार्यशैली सच्याउन, संवैधानिक मर्यादामा फर्कन, विधिको शासन सुनिश्चित गर्न र अर्थतन्त्र तथा जनजीविकाका सवालमा गम्भीर हुन यो बैठक ध्यानाकर्षण गर्दछ।

सशक्त प्रतिपक्षीय भुमिका: हाम्रो निरन्तर निगरानी, खवरदारी र प्रतिरोध- नेपाली कांग्रेस संविधान र लोकतन्त्रको रक्षा, विधिको शासन तथा नागरिकका अधिकार र जनजीविकाका सवालमा संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट निरन्तर निगरानी, खवरदारी र सशक्त प्रतिरोध गर्दै आफ्नो प्रतिपक्षीय भूमिकालाई थप प्रभावकारी बनाउने छ। यी विषयलाई संसदमा सशक्त ढङ्गले उठाउन केन्द्रीय कार्यसमितिको यो बैठक संसदीय दललाई निर्देश गर्दछ।

निर्णय नं. २

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणः सकारात्मक उपलब्धि, अनुत्तरित प्रश्न र निरन्तर खबरदारी

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि नै नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले भ्रमणको पूर्ण सफलताको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो। भ्रमणका क्रममा भारत सरकार र भारतीय जनताबाट नेपालका प्रधानमन्त्रीले प्राप्त गर्नुभएको आत्मीय स्वागत र उच्च राजकीय सम्मान दुई देशबीचको प्रगाढ ऐतिहासिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्धको प्रतिबिम्ब हो।

समग्रमा, भ्रमणका क्रममा उच्चस्तरीय संवादका लागि बनेको वातावरण, केही महत्त्वपूर्ण विषयमा भएका सहमति तथा विगतका सहकार्यले पाएको निरन्तरतालाई नेपाली कांग्रेसले सकारात्मक रूपमा लिएको छ। तथापि, नेपाल-भारत सम्बन्धका केही अहम् र संवेदनशील विषयहरूले उच्चस्तरीय संवादमा अपेक्षित प्राथमिकता नपाएकोप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ।

भएका सहमतिहरूलाई ठोस उपलब्धिमा रूपान्तरण गर्न नेपाली कांग्रेसको रचनात्मक निगरानी निरन्तर रहनेछ भने राष्ट्रिय हितका संवेदनशील विषयमा सरकार जहाँ-जहाँ चुकेको छ, त्यहाँ-त्यहाँ हाम्रो सशक्त खबरदारी रहनेछ।

१. स्वागतयोग्य तथा सकारात्मक उपलब्धिहरू

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएका केही महत्त्वपूर्ण विषयमा सहमति जुट्नु, विगतका सहकार्यले निरन्तरता पाउनु र सहकार्यका नयाँ क्षेत्र पहिचान हुनु सकारात्मक छ।

  • भैरहवा हवाई मार्ग (B345) को दुईतर्फी सञ्चालनः नेपालको पर्यटन तथा समग्र आर्थिक विकाससँग जोडिएका विराटनगर, भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर हुँदै थप हवाई प्रवेश मार्ग प्राप्त गर्ने विषय नेपाली कांग्रेसले सन् २०१४ देखि नै निरन्तर उठाउँदै आएको हो। यस सन्दर्भमा भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौँ-भैरहवा-लखनऊ (B345) हवाई मार्गलाई दुईतर्फी (Bidirectional) बनाउने सहमतिको नेपाली कांग्रेस स्वागत गर्दछ।
  • भोटेकोशी बाढीपछिको पुनर्निर्माण र विकास सहयोग प्याकेजः प्राकृतिक विपद्का समयमा नेपालले भारत सरकार र भारतीय जनताको सद्भावपूर्ण सहयोग प्राप्त गर्दै आएको छ। २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणमा जस्तै यसपटक पनि भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माण, प्रभावित नागरिकहरूको पुनर्स्थापना, ऊर्जा तथा नयाँ पूर्वाधार विकासका लागि भारत सरकारले घोषणा गरेको कुल २४० अर्ब नेपाली रुपैयाँ (१५० अर्ब भारतीय रुपैयाँ) बराबरको विकास सहयोग प्याकेज नेपालको वर्तमान आवश्यकताका दृष्टिले महत्त्वपूर्ण छ। ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण (Line of Credit) सम्मिलित यस विकास सहयोगका लागि नेपाली कांग्रेस भारत सरकारलाई धन्यवाद व्यक्त गर्दछ।

सहकार्यका नयाँ क्षेत्रहरूको विस्तारः ऊर्जा तथा सम्पर्क सञ्जाल (Connectivity) का क्षेत्रमा हुँदै आएको सहकार्यका अतिरिक्त सन् २०२५ मा प्रारम्भ भएको आईआईटी मद्राससँगको स्टार्टअप सहकार्यलाई निरन्तरता दिँदै नेपालमा आईआईटी क्याम्पस स्थापना, स्टार्टअप, नवप्रवर्तन, खेलकुद तथा जलवायु उत्थानशीलताजस्ता आधुनिक एवं युवापुस्ताको भविष्यसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा सहकार्य विस्तार गर्ने पहललाई पनि नेपाली कांग्रेस स्वागत गर्दछ।

२. सहमतिको कार्यान्वयन, पारदर्शिता र निरन्तर निगरानी

कूटनीतिमा सहमति र घोषणा हुनु जति महत्त्वपूर्ण हुन्छ, त्यसको प्रभावकारी कार्यान्वयन गरी नागरिकले अनुभूति गर्ने ठोस उपलब्धिमा रूपान्तरण गर्नु अझ बढी महत्त्वपूर्ण हुन्छ। विगतमा भएका कतिपय सहमतिहरू सफलतापूर्वक कार्यान्वयन भएका छन् भने कतिपय घोषणा कागजमै सीमित भएका अनुभव पनि हामीसँग छन्।

तसर्थ, भ्रमणका क्रममा भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेसले सरकारलाई निरन्तर प्रश्न गर्ने, घचघच्याउने, आवश्यक रचनात्मक सुझाव दिने र कार्यान्वयनको प्रगतिमाथि सूक्ष्म निगरानी राख्नेछ।

हवाई मार्गको कार्यान्वयन र स्पष्ट समयसीमाः भैरहवा हवाई मार्गका सम्बन्धमा हाल नीतिगत तहमा सहमति जुटेको भए पनि वास्तविक रूपमा दुईतर्फी उडान सञ्चालन गर्न आवश्यक प्राविधिक तथा सञ्चालनसम्बन्धी विषयहरू टुङ्गिन बाँकी देखिन्छन्। आवश्यक प्राविधिक प्रक्रिया कहिलेसम्म पूरा हुन्छ? भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने आधार कसरी सुनिश्चित गरिन्छ? बाँकी हवाई प्रवेश मार्ग प्राप्त गर्न सरकारले कस्तो पहल गर्नेछ? यी विषयमा सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्दछ।

विकास सहयोगको पारदर्शिता र परिणाममुखी उपयोगः घोषणा गरिएको अनुदान तथा सहुलियतपूर्ण ऋणको परिचालन राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा पारदर्शी एवं परिणाममुखी ढङ्गले हुनुपर्दछ। अनुदान रकम कुन प्राथमिकताका आधारमा, कुन-कुन क्षेत्रमा खर्च गरिने हो? सहुलियतपूर्ण ऋणका सर्तहरू के-कस्ता छन् र उक्त ऋण कुन-कुन परियोजनामा परिचालन गरिने हो? लगानीको उचित प्रतिफल (Value for Money) कसरी सुनिश्चित गरिन्छ? सार्वजनिक ऋणको दिगोपना कायम राख्न सरकारले कस्तो रणनीति अवलम्बन गर्नेछ?

यी विषयमा सरकारले संसद् र आमनागरिकलाई स्पष्ट जानकारी दिनुपर्दछ। मित्रराष्ट्रबाट प्राप्त सहयोगको सदुपयोग, पारदर्शिता र परिणाममुखी कार्यान्वयनले नेपालको विकासमा योगदान पुर्‍याउनुका साथै दुई देशबीचको आपसी विश्वास र सम्बन्धलाई समेत थप सुदृढ बनाउनेछ।

नयाँ सहकार्यलाई ठोस कार्यक्रममा रूपान्तरणः शिक्षा, प्रविधि, स्टार्टअप, नवप्रवर्तन, खेलकुद तथा जलवायु उत्थानशीलताका क्षेत्रमा भएका समझदारीलाई घोषणामा मात्र सीमित नराखी निश्चित कार्ययोजना, समयसीमा र संस्थागत जिम्मेवारीसहित कार्यान्वयनमा लैजान सरकारले आवश्यक पहल गर्नुपर्दछ।

३. अनुत्तरित प्रश्न र संवेदनशील कूटनीतिक विषयहरू

भ्रमणका सकारात्मक पक्षहरू हुँदाहुँदै पनि नेपाल-भारत सम्बन्धका केही अत्यन्त संवेदनशील र दीर्घकालीन राष्ट्रिय महत्त्वका विषयहरूले उच्चस्तरीय संवादमा अपेक्षित स्थान र प्राथमिकता नपाउनु गम्भीर चासो र चिन्ताको विषय हो।

सीमा लगायतका संवेदनशील विषयः नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक, ऐतिहासिक र विशिष्ट छ। दुई देशबीच सहकार्यका अनेकौँ सम्भावना छन् भने वर्षौंदेखि समाधान हुन बाँकी सीमालगायतका केही संवेदनशील विषयहरू पनि छन्। यस्ता संवेदनशील विषयहरूको समाधान कुनै एउटा भ्रमण वा बैठकबाट मात्र सम्भव हुँदैन भन्ने यथार्थप्रति नेपाली कांग्रेस स्पष्ट छ। यसको समाधानका लागि निरन्तर, गम्भीर र परिणाममुखी कूटनीतिक पहल अपरिहार्य हुन्छ। द्विपक्षीय सहकार्यका बहुआयामिक सम्भावनाहरूलाई निरन्तर अगाडि बढाउँदै आपसी विश्वास, सम्मान र समझदारीका आधारमा थाती रहेका संवेदनशील विषयहरूको कूटनीतिक समाधान खोज्ने तथा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र गतिशील बनाउँदै लैजाने नेपाली कांग्रेसको स्पष्ट र अविचलित दृष्टिकोण रहँदै आएको छ।

तर, प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि भारतसँगको सम्बन्ध, विशेष गरी सीमाका विषयमा जसरी उहाँले अपरिपक्व तथा उत्तेजक कार्य र अभिव्यक्ति दिँदै लोकप्रियता प्रदर्शन गर्नुभएको थियो, पछि जब कूटनीतिक संवादमार्फत त्यो विषयलाई निर्णायक रूपमा उठाउने अवसर आयो, तब उक्त विषयलाई प्रवेश नै नगराई फर्किनुले उहाँको दोहोरो चरित्र उदाङ्गो भएको छ। बोली र व्यबहार बीचको यो विरोधा भास आफैँमा विडम्बनापूर्ण त छँदै छ, सँगसँगै यसले कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वतालाई पनि उजागर गरेको छ।

परराष्ट्रमन्त्रीज्यूले स्वदेश फर्कने क्रममा विगतका सरकारहरूले जारी गर्न नसकेको संयुक्त वक्तव्य यसपटक जारी हुनुलाई नै ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गर्नुभएको छ। यसपटक जारी गरिएका “संयुक्त वक्तव्य” (Joint Statement) र “संयुक्त दूरदृष्टि पत्र” (Joint Vision Statement) मार्फत सहकार्यका महत्त्वपूर्ण आयामहरू खुला हुनु निश्चय पनि स्वागतयोग्य विषय हो। तर, संयुक्त वक्तव्य वा दूरदृष्टि पत्र जारी हुनु आफैँमा मात्र उपलब्धिको पर्याप्त आधार होइन। त्यसमा समेटिएका विषयवस्तु, राष्ट्रिय हितको सम्बोधन र त्यसबाट प्राप्त हुने परिणामका आधारमा उपलब्धिको मूल्याङ्कन गरिनुपर्दछ। “संयुक्त वक्तव्य” (Joint Statement) तथा “संयुक्त दूरदृष्टि पत्र” (Joint Vision Statement) को अध्ययन गर्दा नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तासँग प्रत्यक्ष जोडिएको सीमा जस्तो संवेदनशील विषयलाई अन्य नियमित द्विपक्षीय विषयहरूसँगै सामान्य रूपमा प्रस्तुत गर्दा यसको ऐतिहासिक, भौगोलिक र राजनीतिक गम्भीरतालाई अपेक्षित महत्त्व नदिइएको देखिन्छ।

नेपाली कांग्रेसको प्रश्न यो भ्रमणबाटै सीमासँग सम्बन्धित विषय किन समाधान भएन भन्ने होइन; सीमाको विषयलाई समाधानका लागि आवश्यक उच्चस्तरीय कूटनीतिक संवादलाई किन अपेक्षित प्राथमिकता दिइएन र त्यसलाई अगाडि बढाउने स्पष्ट आधार किन निर्माण गरिएन भन्ने हो।

तसर्थ, नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएका सीमासम्बन्धी विषयहरूलाई द्विपक्षीय संवादको मूल एजेन्डामा कायम राख्न, विद्यमान द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाउन र उच्चस्तरीय कूटनीतिक पहलमार्फत समाधान खोज्न नेपाली कांग्रेसले सरकारलाई निरन्तर दबाब र रचनात्मक सुझाव दिइरहनेछ।

सरकारबाट स्पष्टता र आगामी कूटनीतिक पहलको अपेक्षाः राष्ट्रिय हित र सार्वभौमसत्तासँग जोडिएका यस्ता संवेदनशील विषयहरू उच्चस्तरीय संवादमा किन अपेक्षित प्राथमिकतामा परेनन्? यी विषयमा भ्रमणका क्रममा के-कस्तो छलफल भयो? आगामी दिनमा सरकारले कुन संयन्त्रमार्फत, कस्तो कार्ययोजनासहित कूटनीतिक पहल अगाडि बढाउनेछ? यस सम्बन्धमा नेपाल सरकारले संसद् र आमनागरिकलाई स्पष्ट पार्नुपर्दछ।

४. नेपाली कांग्रेसको प्रतिपक्षीय भूमिका

नेपाल-भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौम समानता, आपसी विश्वास र साझा हितका आधारमा थप सुदृढ बनाउने विषयमा नेपाली कांग्रेस सदैव जिम्मेवार र प्रतिबद्ध रहनेछ।

राष्ट्रिय हित र नेपालको समुन्नतिका पक्षमा सरकारले गर्ने सकारात्मक प्रयासमा नेपाली कांग्रेसको साथ र सहयोग रहनेछ। भएका सहमतिको प्रभावकारी कार्यान्वयनका लागि हाम्रो रचनात्मक निगरानी रहनेछ। तर राष्ट्रिय हितका विषयमा सरकार चुकेको, आवश्यक कूटनीतिक पहल गर्न नसकेको वा आफ्नो जिम्मेवारीबाट विमुख भएको अवस्थामा नेपाली कांग्रेसले संसद् र सार्वजनिक मञ्चबाट निरन्तर प्रश्न उठाउनेछ र सशक्त खबरदारी गर्नेछ।

निर्णय नं. ३

भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकी लगायतका बाढी प्रभावित क्षेत्रका सरकारको हेलचक्रयाई

भोटेकोशीमा बाढी गएको तीन महिना भन्दा बढी बिति सक्दा समेत प्रभावति क्षेत्रमा पुनर्स्थापना र पुनर्नर्मिाणका लागि सरकारको कुनै पन प्रभावकारी रणनीति, कार्यक्रम र कार्ययोजना नदेखिनु दुःखद र गम्भीर लापरबाही हो।  सरकार र सत्ताधारी दलका प्रचारबाजी तथा प्रभावितहरूको कष्टकर वास्तविकताबीच ठूलो खाडल रहेको छ । राहत वितरणलाई कर्मकाण्डी र घोषणामा मात्र बनाइएको छ भने संघीय सरकारको उपस्थति शुन्य बराबर छ। बाढी प्रभावतिहरू गोदाममा थन्किएका सामग्रीबाट वञ्चित भएका छन भने अर्को तिर चिसो त्रिपालमुनी बस्न बाध्य छन्, मृतक तथा बेपत्ताहरूको वास्तविक तथ्याङ्क अझै संकलन हुन सकेको छैन, र घोषणा गरिएका घरभाडा तथा राहत रकम समेत पीडतिहरूसम्म पुगेको छैन। साना तथा मझौला व्यवसायी, होटल तथा जलवद्यिुत् क्षेत्रको पुनर्स्थापनाबारे कुनै नीतिगत सहुलियत, राहत, पुनर्नर्मिाणको खाका नल्याइँदा बाढी पूर्व आर्थिक रूपमा चलायमान भोटेकोशी क्षेत्र दीर्घकालीन रूपमा शिथिल हुने खतरा बढेको छ। प्रभावित क्षेत्रका स्थानीय सरकारसंग सरकारले सहकार्य र समन्वय गरेको छैन।

अत: भोटेकोशी क्षेत्र, बुढीगण्डकी क्षेत्र र कालीगण्डकी पर्वत जलजला क्षेत्र लगायत देशका विभिन्न वाढी प्रभावित क्षेत्रमा हेलचक्याई नगरी सरकारले तत्काल निम्न ठोस कदमहरू चाल्न नेपाली कांग्रेस आग्रह गर्दछ।

क. केरुङ भन्सारसम्मको सडकको मार्ग तथा रेखाङ्कन तत्काल पहचिान गरी जोखमियुक्त क्षेत्रमा पर्ने बस्तीका लागि वैकल्पिक जग्गा सुनिश्चित गर्नुपर्छ र बाढी प्रभावित परिवारलाई तत्काल सुरक्षित आश्रय तथा घरभाडा सहायता उपलब्ध गराउनुपर्छ। सुरक्षित आश्रयको लागि तत्काल सरकारले जग्गा उपलब्ध गराउन नसके निजी जग्गा किनेर भए पनि व्यबस्था गर्नुपर्दछ।

ख. द्रुत आंकलनमा प्राप्त तथ्यांक र पीडीएनएको आकलनका आधारमा संघीय, प्रदेश र स्थानीय तहबीचको समन्वयमा प्रभावित क्षेत्रको एकीकृत पुनर्लाभ तथा पुनर्निर्माणको खाका एवं मोडालिटी निर्माण गरी साना ऋणी, विस्थापित नागरिक, र समग्र रुपमा क्षमता नघटने गरी जलविद्युत तथा पर्यटन क्षेत्रका व्यवसायीहरूका लागि राहत, अनुदान र सहुलियतपूर्ण ऋणको स्पष्ट खाका ल्याउनु पर्दछ।

ग. प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्वासका सम्पूर्ण कार्यहरू गर्दा प्रभावति समुदाय, स्थानीय सरोकारवाला तथा समुदायसँग अर्थपूर्ण संवाद र उनीहरूको सहभागिता सुनिश्चित गरिनुपर्छ।

घ. बाढीपिडितहरूको जिविकोपार्जनको सुरक्षा, मनोसामाजिक परामर्श, र नदीजन्य सामग्रीको व्यवस्थित उपयोगद्वारा स्थानीय आयआर्जनका अवसरहरू सिर्जना गर्ने नीति तथा कार्यक्रम ल्याउनु अहिलेको अपरिहार्य आवश्यकता हो।

तसर्थ, सरकारले तदर्थवाद र प्रचारमुखी शैली त्यागेर स्पष्ट जिम्मेवारी, समयसीमा र स्रोतसहित पुनर्लाभ तथा पुनर्मिाणका कार्यक्रमहरू तत्काल कार्यान्वयनमा ल्याई सरकारलाई प्रभावित नागरिकको जीवनमा खेलवाड नगर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ।

नेपाली कांग्रेसको यो वैठक केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य मोहन आचार्यको संयोजकत्वमा गठित समन्वय तथा सहजीकरण समितिमा बुढीगण्डकी, कालिगण्डकी लगायत सम्बन्धित प्रभावित क्षेत्रका सांसद एवं पार्टीका केन्द्रीय सदस्य र विज्ञ समेत सम्मिलित गर्न र सो समितिलाई प्रभावित क्षेत्रका सम्बन्धमा पार्टीको तर्फबाट समन्वय, सहजीकरण र आवश्यक कार्य गर्न जिम्मेवारी प्रदान गर्दछ।

निर्णय नं. ४

भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकहरूको समस्या समाधान, विस्थापित नागरिकहरूको सम्मानजनक पुनःस्थापना र भूमि अधिकारको सुनिश्चितता सम्बन्धमा

क. नागरिकको हक राज्यको दायित्व

नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक, आवासको हक, सम्पत्तिको हक तथा सामाजिक न्यायको हक सुनिश्चित गरेको छ। विशेषगरी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा सीमान्तकृत समुदायको आर्थिक, सामाजिक र राजनीतिक न्याय सुनिश्चित गर्नु राज्यको अनिवार्य संवैधानिक दायित्व हो। भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकहरूको समस्या केवल जग्गा प्राप्ति वा सार्वजनिक जग्गाको व्यवस्थापनसँग मात्र सम्बन्धित विषय होइन। यो भूमि अधिकार, सामाजिक न्याय, मानव अधिकार, नागरिक सम्मान, आर्थिक अवसर र राज्यको उत्तरदायित्वसँग जोडिएको गम्भीर राष्ट्रिय मुद्दा हो।

नेपालमा दशकौँदेखि विभिन्न स्थानमा बसोबास गर्दै आएका लाखौँ नागरिकका घर, परिवार, विद्यालय, सामाजिक सम्बन्ध, जीविकोपार्जन र आर्थिक गतिविधि त्यही बस्ती र भूगोलसँग जोडिएका छन् । कतिपय बस्तीमा पुस्तौँदेखि नागरिकहरू बसोबास गर्दै आएका छन् भने कतिपय स्थानमा राज्यका विभिन्न निकायबाट सेवा प्रवाह तथा प्रशासनिक संरचनासमेत स्थापित भएका छन् । यस्तो जटिल सामाजिक यथार्थलाई बेवास्ता गरी केवल अभिलेखमा जग्गाको वर्गीकरण वा स्वामित्वका आधारमा नागरिकको बसोबास र जीवनयापनलाई विस्थापित गर्नु न्यायोचित हुन सक्दैन ।

यसै सन्दर्भमा वर्तमान सरकार बने लगत्तै काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासी बस्ती हटाउने क्रममा पर्याप्त पूर्वतयारी, वैकल्पिक आवासको व्यवस्था, कानुनी प्रक्रिया, मानवीय संवेदनशीलता र पुनःस्थापनाको सुनिश्चितता नगरी बल प्रयोग गरेको घटनाप्रति नेपाली कांग्रेस तत्कालिन समयमा नै आपत्ति प्रकट गरेको विदित नै छ। बस्ती हटाउने क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य असहाय नागरिकले भोग्नुपरेको पीडा, विस्थापनपछि होल्डिङ सेन्टरहरूमा रहनुपरेको कठिनाइ, आधारभूत सुविधाको अभाव तथा व्यवस्थापकीय कमजोरीका कारण उत्पन्न भएका मानवीय क्षति र आत्महत्या/मृत्युका घटनाहरू अत्यन्त दुःखद र गम्भीर छन् ।

सार्वजनिक जग्गाको संरक्षण गर्नु राज्यको दायित्व हो । तर सार्वजनिक जग्गाको संरक्षण गर्ने नाममा नागरिकको जीवन, आवास, जीविकोपार्जन र मानवीय मर्यादालाई उपेक्षा गर्न मिल्दैन । राज्यको कानुनी दायित्वसँगै मानवीय तथा सामाजिक उत्तरदायित्व पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

नेपाली कांग्रेस आफ्नो ऐतिहासिक लोकतान्त्रिक मूल्य, विधिको शासन, सामाजिक न्यायप्रतिको प्रतिबद्धता र नागरिक अधिकारको पक्षधर राजनीतिक चरित्रअनुरूप यस समस्याको न्यायपूर्ण, व्यावहारिक र दीर्घकालीन समाधान आवश्यक रहेको स्पष्ट गर्दछ ।

ख. नेपाली कांग्रेसको मान्यता

नेपाली कांग्रेसको स्पष्ट मान्यता छ कि भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्दा निम्न आधारभूत सिद्धान्तलाई अवलम्बन गर्नुपर्छ ।

१. नागरिकको सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हक र आवासको अधिकारको संरक्षण राज्यको पहिलो दायित्व हुनुपर्छ ।

२. भूमिहीन दलित, वास्तविक सुकुम्बासी, अव्यवस्थित बसोबासी र सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत वा व्यावसायिक लाभ लिने व्यक्तिहरूलाई एउटै दृष्टिकोणबाट हेर्नु हुँदैन । उनीहरूको अवस्था, आवश्यकता र कानुनी हैसियतको निष्पक्ष पहिचान गरिनुपर्छ ।

३. सार्वजनिक जग्गाको संरक्षण र नागरिकको आवास अधिकारबीच सन्तुलन कायम गर्दै कानुनसम्मत, न्यायोचित र मानवीय समाधान खोजिनुपर्छ ।

४. भूमिहीन दलित तथा सुकुम्बासीहरूको समस्या समाधानलाई सामाजिक न्याय, आर्थिक सशक्तीकरण र गरिबी न्यूनीकरणको राष्ट्रिय अभियानका रूपमा लिनुपर्छ ।

५ भूमि स्वामित्व वा आवासको व्यवस्था मात्र समस्याको पूर्ण समाधान होइन। शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, रोजगारी, सामाजिक सुरक्षा तथा आर्थिक अवसरको पहुँचसमेत सुनिश्चित हुनुपर्छ ।

ग. कांग्रेसको प्रयास, प्राथमिकता र प्रतिबद्धता

नेपाली कांग्रेसको विश्वास छ कि लोकतान्त्रिक राज्यको सफलता नागरिकमाथि राज्यले कति शक्ति प्रयोग गर्न सक्छ भन्ने कुराले होइन, नागरिकको जीवन, अधिकार, सम्मान र सुरक्षाको प्रत्याभूति कति प्रभावकारी रूपमा गर्न सक्छ भन्ने कुराले निर्धारण गर्दछ ।

भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या कुनै एउटा सरकार, राजनीतिक दल वा कार्यकालको मात्र समस्या होइन। यसको समाधानका लागि राजनीतिक इच्छाशक्ति, संवैधानिक प्रतिबद्धता, निष्पक्ष कानुनी प्रक्रिया र राज्यका सबै तहको समन्वित प्रयास आवश्यक छ भन्ने नेपाली कांग्रेस ठान्दछ। विगतका आयोगहरूले प्रक्रिया पूरा गरी वितरणका लागि तयार पारेका लालपुर्जा बाँडेर सरकारले प्रचारबाजी गर्नु मात्र भूमिहीनहरु समस्याको समाधान होइन । बाँकी ठूलो सङ्ख्यामा रहेका भूमिहीन, दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न कानुनी अड्चन फुकाउन आवश्यक छ।

सरकारले भूमिहिनको समस्या समाधान गर्न हिडेको अध्यादेशको बाटो गलत छ। विधायिकाबाट बनेको स्थायी कानुन नै दीर्घकालीन समाधानको बाटो हो भन्ने नेपाली कांग्रेसको स्पष्ट मान्यता हो । त्यसका लागि नेपाली कांग्रेसको पहल र नेतृत्वमा तत्कालिन कृषि तथा प्राकृतिक स्रोत संसदीय समितिबाट अघि बढाइएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ लाई पारित गरी स्थायी कानुनका रूपमा कार्यान्वयन गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको माग छ। त्यतिवेला नेपाली कांग्रेसको स्पष्ट दृष्टिकोण थियो- यो समस्या पटक-पटक बल्झिरहने ‘नसर्ने रोग’ नबनोस्। हाम्रा मुख्य उद्देश्य थिए:

o सुकुम्बासीको अधिकार र पुनर्स्थापनाको विषय: वास्तविक सुकुम्बासी र भूमिहीन दलितले न्याय पाउन: जो वास्तविक सुकुम्बासीले आत्मसम्मानका साथ आवास पाउनुपर्छ। यो संविधानप्रदत्त हक र राज्यको जिम्मेवारी हो।

o सार्वजनिक सम्पत्ति दोहन गर्नेहरू दण्डित हुनुपर्छ: भूमिहीनको नाममा गैरकानूनी रूपमा बस्ने र सार्वजनिक सम्पत्ति कब्जा गर्नेहरूका लागि सबै छिद्र बन्द गरिनुपर्छ।

o प्राकृतिक स्रोत र सार्वजनिक क्षेत्रको संरक्षण हुनुपर्छ: नदी किनार, ताल-तलैया, बगर, वन क्षेत्र र सडकको मापदण्डभित्रका अतिक्रमण हटाइयोस्। वाग्मती-मनोहरा जस्ता नदी किनारका वास्तविक सुकुम्बासीलाई राज्यले पहिचान गरी अन्यत्र स्थानान्तरण र पुनर्स्थापना गरोस् ।

o सर्वोच्च अदालतको आदेश बमोजिम शक्तिको आडमा हदबन्दी भन्दा बढी जग्गा राख्नेहरूको विवरण सार्वजनिक गरी कानूनले अतिक्रमित भएको, कब्जा गरेको, हदवन्दीभम्दा बढी राखेको जग्गा नेपाल सरकारको नाममा ल्याइयोस। र वास्तविक भूमिहीनको व्यवस्थापनमा प्रयोग गरियोस्।

o सर्बोच्च अदालतको आदेश बमोजिम कानून विपरित पहुँच र शक्तिको आडमा हदबन्दी भन्दा वढी जग्गा राखेकाहरूको एकीन पहिचान गरी त्यसको विवरण सरकारले अबिलम्ब सार्बजनिक गरोस्। त्यस्तो जग्गा नेपाल सरकारको नाममा ल्याई संवेदनशील क्षेत्रमा बसोबास गरेका वास्तविक सुकुम्बासीलाई व्यबस्थापन गरियोस्।

o अव्यवस्थित बसोबास व्यवस्थापन: अव्यवस्थित बसोबासीको यकिन गरी नियमानुसार शुल्क लिएर व्यवस्थापन गरियोस् ।

o वन क्षेत्रको व्यवस्थापन: वन क्षेत्र, निकुञ्ज, संवेदनशील क्षेत्रमा वसोवास गर्न दिनु हुँदैन। खालि भए पनि बन क्षेत्र जनिएको छ भने वनमा नै कायम गर्ने-जसले गर्दा वन अतिक्रमण सधैंका लागि रोकिन्छ।

वर्तमान सरकार बनेदेखि नै कांग्रेसले स्मरण गराएको थियो- उक्त पारित विषयवस्तुलाई नै आधार बनाएर संसदमा विधेयक पेश गरौं, द्रुत गतिमा पारित गरेर कार्यान्वयन गरौं । यी विषयमा नेपाली कांग्रेस आज पनि प्रष्ट छ। सरकारलाई उल्टो बाटो छोडेर सुल्टो समाधानको बाट हिड्न आग्रह गर्दै नेपाली कांग्रेस यस समस्याको समाधानका लागि केवल विरोध र आलोचनामा सीमित नरही नीतिगत पहल, कानुन निर्माण, संसदीय भूमिका, प्रभावित नागरिकको पक्षमा पैरवी र व्यवहारिक कार्यान्वयनमा समेत अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता यस बैठकबाट पुन: दोहोर्‍याउन चाहान्छ ।

घ. समाधानका लागि चाल्नुपर्ने कदम

१. दीर्घकालीन समस्या समाधानका लागि राष्ट्रिय नीति तथा कानुनी प्रबन्ध

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि नेपालको संविधानको भावना र व्यवस्थाअनुरूप आवश्यक कानुन, नीति, नियम तथा संस्थागत प्रबन्ध निर्माण र कार्यान्वयन गर्न आवश्यक छ। यसका लागि विगतका आयोग तथा समितिका प्रतिवेदन, उपलब्ध अभिलेख, जग्गाको वास्तविक अवस्था र बसोबासको ऐतिहासिक पृष्ठभूमिसमेत अध्ययन गरी एकीकृत राष्ट्रिय कार्ययोजना निर्माण गर्न नेपाली कांग्रेस सरकारलाई आग्रह गर्दछ। यस विषयमा आवश्यक कानुन निर्माण तथा संशोधन गर्दा संविधानको मर्म, नागरिकको मौलिक अधिकार, सामाजिक न्याय, सार्वजनिक सम्पत्तिको संरक्षण र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखिनुपर्ने पार्टीको मान्यता रहेको छ ।

नेपाली कांग्रेस भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी र स्वबासी बेनिश्षाको दीर्घकालीन समस्या समाधान गर्न सरकारले संसद्मा प्रस्तुत गर्ने वा प्रस्तुत गर्नुपर्ने आवश्यक विधेयक, कानुनी संशोधन तथा नीतिगत प्रस्तावहरूलाई सकारात्मक र रचनात्मक दृष्टिकोणबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

२. सार्वजनिक जग्गा र नागरिकको बसोबासबीच न्यायोचित सन्तुलन

सार्वजनिक जग्गा, सरकारी जग्गा, वास्तविक वन जंगल, नदी तथा खोलाको क्षेत्र र अन्य संरक्षित क्षेत्रको अभिलेख तथा वास्तविक भौगोलिक अवस्थाबीच देखिएका अन्तर र समस्याको वैज्ञानिक पुनरावलोकन गर्न आवश्यक छ। कुनै क्षेत्रमा लामो समयदेखि बस्ती, विद्यालय, स्वास्थ्य संस्था, प्रशासनिक संरचना तथा अन्य सार्वजनिक सेवा सञ्चालनमा रहेको अवस्थामा त्यसको वास्तविक अवस्था अध्ययन नगरी केवल अभिलेखीय वर्गीकरणका आधारमा नागरिकलाई विस्थापित गर्ने नीति अवलम्बन गरिनु हुँदैन। कानुनले निषेध गरेका तथा वातावरणीय संवेदनशीलता र सार्वजनिक सुरक्षाका दृष्टिले जोखिमपूर्ण क्षेत्रमा रहेका बस्तीको हकमा पनि सम्बन्धित जोखिमको वैज्ञानिक मूल्याङ्कन गरी सुरक्षित वैकल्पिक व्यवस्था सुनिश्चित गरेपछि मात्र आवश्यक प्रक्रिया अघि बढाइनुपर्छ।

३. शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षासहितको एकीकृत कार्यक्रम

भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या केवल जग्गा उपलब्ध गराएर वा आवासको व्यवस्थापन गरेर मात्र समाधान हुन नसक्ने भएकाले उनीहरूको समग्र जीवनस्तर सुधार गर्ने एकीकृत कार्यक्रम सञ्चालन गर्नुपर्दछ । साथै पुनस्थापना गर्न बाँकी रहेका मुक्त कमैया, हलिया, हरुवाचरुवा, कम्लहरीहरुको भूमि अधिकार सहित तत्कालिन व्यवस्थापन गरिनु पर्दछ । विशेषगरी दलित, महिला, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा आर्थिक रूपमा अत्यन्त कमजोर परिवारलाई विशेष ध्यान दिई कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।

४. स्थानीय तह र सरोकारवालाको सहभागिता

भूमि समस्या समाधान गर्ने प्रक्रियामा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्बन्धित आयोग, भूमि विज्ञ, नागरिक समाज, प्रभावित समुदायका प्रतिनिधि तथा अन्य सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्दछ ।

स्थानीय सरकार समस्या भोगेका परिवारको नजिकको सरकार हो त्यसैले स्थानीय सरकारसंगको निरन्तर समन्वय र सम्बन्धित बस्तिका नागरिकको सहभागिता र सहमति बिना उनीहरूको भविष्य निर्धारण गर्ने निर्णय गरिनु हुँदैन भन्ने कुरामा नेपाली कांग्रेस प्रष्ट छ।

निर्णय नं. ५

हामी तयार छौं अभियानको अबधारणापत्र स्वीकृत

निर्णय नं. ६  

नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ परिमार्जन सहित पारित

नेपाली कांग्रेसले आयोजना गर्ने सार्वजनिक कार्यक्रमहरूलाई अनुशासित, समयबद्ध, मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउन तथा सादगी, मितव्ययिता, नागरिकप्रतिको संवेदनशीलता, सहभागितामूलक संवाद र संस्थागत संस्कृतिलाई प्रवर्द्धन गर्न नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ लाई परिमार्जन गरी पारित गरिएको छ। यस कार्यविधि कडाईका साथ कार्यान्वयन गर्ने निर्णय यो वैठक गर्दछ।

निर्णय नं. ७

नेपाली कांग्रेसको नाम सहितको लेटरप्याड, पार्टीको झण्डा र चुनाव चिन्ह “रुख” को अनधिकृत रुपमा प्रयोग गरिएको सम्बन्धमा

वि.सं. २००३ सालमा स्थापित नेपाली कांग्रेस नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल हो। पार्टीको नाम, झण्डा, चुनाव चिह्न, छाप तथा केन्द्रीय कार्यालयको ठेगानासहितको विस्तृत विवरण निर्वाचन आयोगमा अभिलेखीकृत रहेको छ।

नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, नेपाली कांग्रेसको २०८२ पुस २७ देखि ३० गतेसम्म सम्पन्न केन्द्रीय विशेष महाधिवेशनको म्यान्डेट तथा पार्टीको विधानको धारा ४३ ले निर्धारित गरेको समयावधिभित्र २०८३ असोज १६ देखि २३ गतेसम्म पार्टीको १५औँ नियमित महाधिवेशन सम्पन्न भई गगनकुमार थापाको सभापतित्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम केन्द्रीय कार्यसमितिमा भएको परिवर्तनको विवरण तथा विधान संशोधनको विवरण निर्वाचन आयोगबाट मिति २०८३ मंसिर ८ गते अद्यावधिक समेत भइसकेको छ।

यसैबीच, केही व्यक्ति तथा समूहले नेपाली कांग्रेसको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न ‘रुख को अनधिकृत प्रयोग गरी भेला तथा महाधिवेशनका नाममा विभिन्न गतिविधि सञ्चालन गर्दै आएकोप्रति केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना गरेको छ।

अतः नेपाली कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न, छाप तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न, नगराउन तथा त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा प्रस्तुत वा प्रचारप्रसार नगर्न केन्द्रीय कार्यसमिति सम्बन्धित सबैलाई आग्रह गर्दछ। साथै यस्तो भ्रमपूर्ण कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सवै सदस्य, तहगत समिति तथा सुभेच्छुक सवैमा अपिल गर्दछौं।

यस आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढङ्गले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही एवं कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो वैठक गर्दछ।

साथै, कानुनबमोजिम दर्ता भएको राजनीतिक दलको नाम, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको संरक्षण गर्नु र तिनको अनधिकृत प्रयोग रोक्नु सम्बन्धित अधिकारप्राप्त निकायको कानुनी दायित्व हो। अतः निर्वाचन आयोग लगायत सम्बन्धित अधिकारप्राप्त निकायले आफ्नो कानुनी दायित्व निर्वाह गर्दै नेपाली कांग्रेसको वैधानिक पहिचानको संरक्षण गर्ने तथा त्यस्ता अनधिकृत गतिविधि रोक्न आवश्यक कदम चाल्ने वैधानिक अपेक्षा केन्द्रीय कार्यसमिति गर्दछ।

निर्णय नं. ८

केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय अनुशासन समिति, केन्द्रीय लेखा समितिको गठन गर्न सभापतिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गर्दछ।

निर्णय नं. ९

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान गठन सम्बन्धमा

“लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने मूल नाराका साथ सञ्चालित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानप्रति नेपाली कांग्रेस आफ्नो पूर्ण ऐक्यबद्धता व्यक्त गर्दछ।

वि.सं. २००४ सालदेखि नै नेपाली कांग्रेस नेपाली महिलाको हक, अधिकार, समानता र सम्मानका लागि संस्थागत रूपमा निरन्तर संघर्ष गर्दै आएको छ। नेपाली कांग्रेसले महिलाको अधिकार स्थापित गर्न राजनीतिक तथा सामाजिक आन्दोलनको नेतृत्व गर्नुका साथै सरकारमा रहँदा आवश्यक नीति तथा कानुन निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा महिलाहरूले पुर्‍याएको योगदान अतुलनीय छ। यस ऐतिहासिक यात्रामा दिव्यादेवी कोइराला, शैलजा आचार्य, मंगलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, नोना कोइराला, छायादेवी पराजुली, मीना पाण्डे, मैयाँदेवी श्रेष्ठलगायतका धेरै महिला नेतृहरूको योगदान अविस्मरणीय छ।

लैङ्गिक हिंसा कुनै व्यक्तिको निजी समस्या मात्र नभई सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र र सभ्य समाज निर्माणसँग जोडिएको सामाजिक र राष्ट्रिय प्रश्न हो। कानुन निर्माण गरेर मात्र लैङ्गिक हिंसाको अन्त्य सम्भव हुँदैन। यसका लागि कानुनको प्रभावकारी र निष्पक्ष कार्यान्वयन, सामाजिक सोच र व्यवहारमा परिवर्तन, दृढ राजनीतिक इच्छाशक्ति तथा पीडितप्रति संवेदनशील राज्य संयन्त्र आवश्यक पर्दछ। हरेक राजनीतिक दल यसप्रति उत्तिकै जिम्मेवार र जवाफदेही हुनुपर्दछ।

यसै सन्दर्भमा नेपाली कांग्रेसले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी आफ्ना प्रयासहरूलाई थप संस्थागत, व्यवस्थित र प्रभावकारी बनाउन लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण प्रतिष्ठान (Institute for Gender Equality, Disability and Social Inclusion- IGEDSI) स्थापना गर्ने निर्णय गर्दछ।

प्रतिष्ठानले मूलतः देहायका कार्य गर्नेछः

• महिला, बालबालिका, अपाङ्गता भएका लैङ्गिक तथा यौनिक अल्पसंख्यक एवं लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिहरूको सम्मान, सुरक्षा, न्याय र समानताको अधिकार सुनिश्चित गर्न पार्टीले अवलम्बन गर्नुपर्ने नीति, दृष्टिकोण र अडानका सम्बन्धमा सुझाव दिने।

• लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका विषयमा अध्ययन, अनुसन्धान गरी तथ्य र प्रमाणमा आधारित नीति प्रस्ताव तथा नीतिगत पैरवीका लागि आवश्यक सामग्री र साधनहरू (Policy Advocacy Tools) तयार गर्ने।

• पार्टीको आन्तरिक संरचना, नीति, निर्णय प्रक्रिया र सांगठनिक अभ्यासलाई थप लैङ्गिकमैत्री, अपाङ्गतामैत्री, समावेशी र समानतामूलक बनाउन निरन्तर पैरवी गर्ने।

• पार्टीभित्र हुने लैङ्गिक हिंसा, उत्पीडन तथा नीतिगत र व्यवहारगत विभेदसम्बन्धी गुनासोको संवेदनशील एवं गोपनीय सुनुवाइ गर्ने, अध्ययन गर्ने र आवश्यक सुधार तथा कारबाहीका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने।

• लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका विषयमा पार्टीका विभिन्न तहमा प्रशिक्षण, क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्ने।

• यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, विज्ञ एवं सरोकारवालासँग नियमित संवाद, ज्ञान आदानप्रदान र सहकार्य गर्ने।

नेपाली कांग्रेस पार्टीभित्र महिलाको समानुपातिक समावेशी सहभागिता, नेतृत्व विकास र निर्णय प्रक्रियामा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्ने संस्थागत अभ्यासलाई थप प्रभावकारी बनाउन पुनः प्रतिबद्धता व्यक्त गर्दछ।

साथै, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई केवल औपचारिक कार्यक्रम र नारामा सीमित नराखी देशका ६,७४३ वटै वडामा जनचेतना अभिवृद्धि, हिंसा रोकथाम, पीडितको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक पहल र पैरवी गर्न पार्टीका सबै तहका संरचना, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति निर्देश गर्दछ।

जय नेपाल !

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया