काठमाण्डौंः बाराबाट प्रहरीले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । फेटा गाँउपालिका-१ बस्ने २८ वर्षीय लालबाबु दास र २७ वर्षीय कन्हैया दास पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–५ स्थित लालका पुल नजिकै सडक खण्डमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना. ७ ख ६०४१ नम्बरको बसको डिक्कीमा खुर्सानीको बोराभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा विष्फोटक पदार्थ पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
बोराबाट नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १ किलो ५ सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
विष्फोटक पदार्थसहित पक्राउ परेका उनीहरु विरुद्ध विष्फोटक पदार्थ अन्तर्गत कसुरमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया