असार ३२, २०८२ बुधबार July 16, 2025

बाँकेमा कोरोना पुष्टि भएकै दिन तीन जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बर्दिया जिल्लाका दुई र दाङका एक जना गरी सोमबार तीन जना संक्रमितको बाँकेमा मृत्यु भएको छ।

बर्दियाको ठाकुरद्वार नगरपालिका वडा नं. २ का २९ वर्षीय एक युवाको सोमबार दिउँसो बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ।

सोमबार बिहान मात्रै स्वाब परीक्षण गरिएका उनको बेलुका ६ बजे मात्रै रिपोर्ट पोजेटिभ आएको बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। त्यस्तै, बर्दियाकै अर्का एक ३५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार बेलुका बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ। उनी बाँसगढी नगरपालिका वडा नं. ८ का हुन्।

चोट लागेर खुट्टाको जोर्नीको समस्या लिएर उनी कात्तिक २३ गते नेपालगञ्जस्थित वस्टर्न अस्पतालमा भर्ना भएका थिए। आशंका लागेर पिसिआर परीक्षण गर्दा उनको बेलुका ५ बजे रिपोर्ट पोजेटिभ आएको र बेलुका सवा ८ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए।

स्वासप्रश्वासमा समस्या भएर उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। त्यस्तै, सोमबार बेलुका नै दाङको घोराहीका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । घोराही उपमाहानगरपालिका वडा नं. १५ ६४ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए।

आइतबार राति १२ बजेतिर स्वास्थ्यमा समस्या भएपछि उनी दाङबाट भेरी अस्पतलामा भर्ना भएका थिए। सोमबार बिहान १० बजे मात्रै उनलाई कोरोना पुष्टि भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। उनको सोमबार राति ९ बजे मृत्यु भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया