काठमाडौंः देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत कात्तिक मसान्तसम्म ६९ प्रतिशत जडान सम्पन्न भएको छ ।
प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ ओटा प्याकेज बनाएर सञ्चालन गरेकोमा हालसम्म ६९ दशमलव ३७ प्रतिशत जडान सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको हो ।
१२ ओटा प्याकेजअन्तर्गत ४६ जिल्लामा तोकिए बमोजिमका स्थानहरुमा जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, १८ प्याकेजमध्येमा हालसम्म ११ हजार ८६ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको छ, जसमा ५०६ स्थानिय तह, चार हजार १६५ वडा कार्यालय तथा तीन हजार ४७२ माध्यमिक विद्यालय तथा दुई हजार ९४३ स्वास्थ्य संस्था रहेका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार दुईओटा प्याकेजअन्तर्गतका नौ जिल्लामा ५० प्रतिशतभन्दा बढी, चार प्याकेजअन्तर्गतका १९ जिल्लामा कनेक्टिभिटी जडानका लागि सेवा प्रदायकहरु छनौट भई निर्माण कार्य भइरहेको छ ।
यसैगरी, चार हजार ८९६ मा इन्टरनेट जडानको कार्य बाँकी रहेको छ । त्यसमध्ये कात्तिक मसान्तसम्म ४६ जिल्लाहरुमा शत्प्रतिशत र बाँकी नौ जिल्लामा ५० प्रतिशत काम सम्पन्न भई इन्टरनेट सेवा सञ्चालनमा आएको छ । त्यस्तै, चारओटा प्याकेजअन्तर्गत १९ जिल्लामा नेटवर्क तथा कनेक्टिभिटी जडानका लागि सम्झौता भइसकेको प्राधिकरणले जानकारी दिएको छ ।
कुल रू. पाँच अर्ब २६ करोड ९७ लाख ७० हजार रकममध्येमा हालसम्म रू. दुई अर्ब ७१ करोड रकम ब्रोडब्यान्ड परियोजनाका लागि सेवा प्रदायकहरुलाई भुक्तानी गरिएको प्रवक्ता अर्यालले जानकारी दिए । उनका अनुसार, उक्त परियोजनाअन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरुमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो ।
प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट विस्तारमा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेको छैन । ७४ जिल्लामा ७०२ स्थानीय तह, पाँच हजार ९३३ वडा कार्यालय, पाँच हजार २२५ मावि र चार हजार १२२ स्वास्थ्य संस्था गरी १५ हजार ९८२ स्थानमा इन्टरनेट विस्तारको अनुमान गरेर १८ प्याकेजमार्फत विस्तार गरेको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया