असार २३, २०८२ सोमबार July 7, 2025

कक्षा १ देखि १० सम्म पढ्न अब मोबाइल एप ‘ई–कक्षा नेपाल’ प्रयोग गर्न पाईने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विद्यार्थी र शिक्षकले शिक्षण सामग्री अध्ययन गर्न अब मोबाइल एपको प्रयोग गर्न पाउने भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा निर्मित ‘ई–कक्षा नेपाल’ मोबाइल एप सार्वजनिक गरिएसँगै विद्यार्थी र शिक्षकले यस्तो सुविधा पाउने भएका हुन् । भर्चुअल कार्यक्रममार्फत मंगलवार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त एप सार्वजनिक गरेका छन् । कक्षा १ देखि १० सम्मका विद्यार्थी र शिक्षकलाई लक्षित गरी उक्त मोबाइल एप बनाइएको केन्द्रले बताएको छ । एपमा भिडियो कक्षाहरू, कक्षागत रूपमा पाठ्यक्रम, शिक्षकका लागि आवश्यक गाइड लगायत सामग्री समेटिएका छन् ।

कोभिड महामारी सकिएपछि पनि उक्त एपअन्तर्गत भएका सामग्री आम विद्यार्थी र शिक्षकका लागि उपयोगी हुने एवं अध्ययन–अध्यापनमा सहयोगी बन्ने दाबी शिक्षा सचिव गोपीनाथ मैनालीले गरे । कार्यक्रममा केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले यो एपलाई क्रमैसँग परिष्कृत गर्दै जाने बताए । ‘प्रत्यक्ष कक्षा सञ्चालन हुने समयमा पनि निरन्तर गर्ने योजना छ । अहिले अनिवार्य विषयका सामग्री छन् । क्रमैसँग अन्य शैक्षिक सामग्री पनि राख्छौं,’ उनले भने ।

यसअघि शैक्षिक जनशक्ति विकास केन्द्रले बनाएको एपमा भएका सामग्रीलाई पनि उक्त एपमा राखिएको बताइएको छ । कोभिड–१९ का कारण देशभरका सबै प्रकारका शिक्षण संस्था बन्द भएपछि विद्यार्थीको सिकाइलाई निरन्तरता दिन मन्त्रालयले गत जेठ १८ गते वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरेको थियो । यसले विद्यार्थीको सिकाइ अवस्थाको वर्गीकरण सहित सिकाइका वैकल्पिक उपायको प्रयोग गर्न मार्ग प्रशस्त गरेको मन्त्रालयले बताएको छ ।

वैकल्पिक सिकाइलाई तत्काल कार्यान्वयनमा लैजान शिक्षा तथा मानवस्रोत विकास केन्द्रमार्फत सिकाइ पोर्टल विकास गरी विद्यालय शिक्षाको सबै पाठ्यपुस्तक सहितका सामग्रीबाट अध्ययन गर्ने व्यवस्था पनि मिलाएको थियो । साथै श्रव्यदृश्य पाठहरू विकास गरी रेडियो र टेलिभिजनबाट प्रसारण गरिएको थियो ।

यद्यपि अनलाइन पद्धतिमा सामग्रीको सहज उपलब्धता, कम गतिको इन्टरनेटमा पनि हेर्न र अध्ययन गर्न सकिने सामग्रीको विकास, टीभी÷कम्प्युटरमा पहुँच नभएका विद्यार्थीलाई सहज उपलब्ध हुन सक्ने प्रणालीको विकास गर्न सुझाव आएकाले यस्तो एपको विकास गरेको मन्त्रालयको भनाइ छ ।

‘ई–कक्षा नेपाल’ एप प्रयोग गर्ने तरीका

यो मोबाइल एप प्रयोग गर्दा विद्यार्थीले आफ्नो सामान्य विवरण र मोबाइल नम्बरसहित विद्यार्थीको क्षेत्रबाट वा शिक्षकले शिक्षकको क्षेत्रबाट प्रवेश गरी रजिस्टर गर्नुपर्छ । यसपछि आफ्नो कक्षाको विषयगत रूपमा राखिएका ‘ट्युटोरियल क्लास’ अन्तर्गत पाठअनुसारका श्रव्यदृश्य पाठहरू हेर्न सकिनेछ । साथै, यसअन्तर्गत पाठ्यपुस्तक आफ्नो आवश्यकता अनुसारका पेजहरूमा गई अध्ययन गर्न सकिनेछ । साथै, शिक्षकले शिक्षक निर्देशिका र विषयगत पाठ्यक्रमको पनि आफ्नो आवश्यकता अनुसार हेर्न र अध्ययन गर्न सक्नेछन् ।

एपलाई अन्तरक्रियात्मक बनाउन विद्यार्थी मूल्यांकनका लागि पाठ अनुसारका प्रश्न, नमूना प्रश्नपत्र, सृजनशीलता प्रस्फुटन हुने खालका सामग्री समेत समावेश गरी क्रमशः अद्यावधिक गर्दै लगिने केन्द्रले बताएको छ । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया