वैशाख ८, २०८१ शनिबार April 20, 2024

इन्धनपछि अब पाइपबाटै ग्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मोतिहारी–अमलेखगंज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तार सम्पन्नपश्चात उत्साही बनेको नेपाल आयल निगमले अर्को दुई महत्वपूर्ण आयोजना अघि सारेको छ।

अमलेगखंजसम्म ल्याइएको पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने र मोतिहारीबाट चितवनसम्म ग्यास पाइपलाइन निर्माण गर्ने योजना निगमले ल्याएको हो। चितवनको लोथरसम्म इन्धन र ग्यासको पाइपलाइन विस्तार गर्ने योजनामा रहेको निगमले लोथरमै भण्डारण गर्ने पूर्वाधारसमेत निर्माण गर्ने भएको छ।

दु्बै योजना निर्माणका लागि पहिलो चरण अन्तर्गत निगमले सर्भेको काम सुरु गरेको छ। संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले अमलेखगंजस्थित आयल निगमको क्षेत्रीय डिपोबाट शनिबार सर्भेको शुभारम्भ गरेका छन्। निगमले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले पिलर गाडेर सर्भेको सुरुवात गरेका हुन्।

सर्भेको सुरुवात गर्दै मन्त्री यादवले इन्धन र ग्यासको आपूर्ति तथा वितरण सहज बनाउन अर्को दुई महत्वपूर्ण योजना ल्याइएको बताएका छन। ‘इमान्दारिताका साथ काम गरेपछि असम्भव केही छैन। जुन मोतिहारी–अमलेखगंज पाइपलाइन विस्तारले देखाएको छ’, मन्त्री यादवले भने,‘ठुलो चुनौतीको रुपमा देखिएको पेट्रोलियम पाइपलाइन सफलरूपमा समयमै निर्माण सम्पन्न गरियो। अहिले यी दुई योजनाको काम भइरहेको छ।’ मन्त्री यादवले पाइपलाइन विस्तारको कामलाई सरकारले क्रमशः विस्तार गर्दै लैजाने बताए। उनले अमलेखगंजबाट द्रुतमार्ग हुँदै काठमाडौंसम्म पाइपलाइन विस्तार गर्ने विषयमा समेत छलफल भइरहेको जानकारी दिएका छन।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलले दुई योजनाको आन्तरिक काम भइरहे पनि सर्भेको औपचारिक सुरुवात आजबाट गरिएको बताएका छन। पौडलका अनुसार नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनले संयुक्तरुपमा सर्भेको काम गर्नेछ। सर्भे अन्तर्गत स्थलगत निरीक्षण, पाइपलाइन विस्तार गर्ने सडक, माटो परीक्षणलगायतको कार्य गरिने पौडेलले बताएका छन। ‘अहिले सर्भेको काम मात्रै सुरुवात भएको हो। विस्तृत अध्ययनपश्चात् निर्माणको काम सुरु हुनेछ’, पौडेलले भने।

दुई योजना निर्माणका लागि झण्डै २५ अर्ब खर्च हुने प्रारम्भिक अनुमान आयल निगमले गरेको छ। योजनाको डिपिआर सम्पन्न भएको र प्रतिवेदन आएपश्चात् योजनाको यकिन विवरण प्राप्त हुने निगमले जनाएको छ। निगमको प्रारम्भिक अनुमान अनुसार ६२ किलोमिटरको अमलेखगंज–चितवन (लोथर) पाइपलाइन विस्तारका लागि ५ अर्ब ६७ करोड खर्च हुनेछ। लोथरमा इन्धन भण्डारण गर्ने पूर्वाधार निर्माणका लागि ४ अर्ब १९ करोड खर्च हुने अनुमान गरिएको कार्यकारी निर्देशक पौडेलले बताएका छन। यसको क्षमता एक लाख किलोलिटरको हुनेछ।

यसैगरी नेपाल–भारत सिमानादेखि लोथरसम्म ९८ किलोमिटर ग्यास पाइपलाइन विस्तार गर्न ११ अर्ब १९ करोड र ग्यास भण्डारण गर्ने पूर्वाधार तयार पार्न ३ अर्ब ८१ करोड खर्च हुने अनुमान गरिएको छ। करिब २० हजार मेट्रिक टन ग्यास भण्डारण गर्ने क्षमतासहितको पूर्वाधार निर्माण हुने कार्यकारी दिर्नेशक पौडेलले बताएका छन।

पाइपलाइनको दुबै योजना निर्माण गर्दा २४ अर्ब ८६ करोड लागत लाग्ने देखिएको छ। इन्धन र ग्यास भण्डारण गर्ने पूर्वाधार निर्माण गर्न निगमले यसअघि नै लोथरमा २० बिगाह जग्गा खरिद गरेको थियो। पाइपमार्फत अमलेखगंजबाट लोथरसम्म प्रतिघण्टा दुई सय ९० किलोलिटर इन्धन र नेपाल भारत सीमाबाट प्रति घण्टा एक सय टन ग्यास पाइपबाट आपूर्ति गर्न सकिने निगमको भनाइ छ।

भारतमा मोतिहारीसम्म मात्रै ग्यास पाइपलाइन विस्तार भएको छ। इण्डियन आयल कर्पोरेशनले रक्सौलसम्म पाइपलाइन विस्तार गर्ने र नेपाल–भारत सीमाबाट चितवनसम्म नेपाल आयल निगमले विस्तारको काम गर्नेछ। यसका लागि दुवै देशका प्राविधिकहरु सर्भेमा जुट्ने आयल निगमका नायब कार्यकारी निर्देशक इन्जिनियर सुशील भट्टराईले बताएका छन। देशका अन्य भागमा ढुवानी गर्न सहज हुने देखिएकाले चितवनको लोथरलाई केन्द्र बनाएर कामको थालनी गर्न लागिएको भट्टराईको भनाइ थियो।

यसअघि गत भदौ २४ गते नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा ल्याइएको थियो। मोतिहारीबाट अमलेखगंजसम्म विस्तार गरिएको पाइपलाइनको प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेका थिए। कुल ६९.७ किलोमिटर लम्बाइ रहेको मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको विस्तारमा भारत सरकारले ३ अर्ब २४ करोड भारतीय रुपैयाँ खर्चिएको थियो। मोतिहारीबाट रक्सौलसम्म ३३.७ र रक्सौलदेखि अमलेखगञ्जसम्म ३६.२ किलोमिटर दुरी छ। पेट्रोलियम पाइपलाइन उद्घाटनपछि सरकारले इन्धनको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको थियो।

प्रदेश २ कि विधायिका सीता गुरुङले ढुवानी खर्च कम लाग्ने, बन्द र हडतालको समयमा ढुवानी नरोकिने, चुहावट नहुने र सहज आपूर्ति गर्न सकिने हुँदा पेट्रोलियम पाइपलाइनलाई अत्यन्तै सफल परियोजनाको रुपमा लिन सकिने बताइन्। अमलेखगंजपछि चितवनसम्म पाइपलाइन विस्तार गर्ने सरकारको प्रयास अत्यन्तै सकारात्मक रहेको बताइन्। सरकारले पाइपबाट ग्यास आउँछ भन्दा नकारात्मक टिप्पणी गर्नेप्रति लक्षित गर्दै गुरुङले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी नगर्न समेत आग्रह गरिन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया