काठमाण्डौं: प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली समूहका नेता महेश बस्नेतले तत्कालीन एमालेको पार्टी कार्यालयमा आँखा नलगाउन चुनौती दिएका छन् ।
शनिवार ललितपुर क्षेत्र नम्बर १ मा भएको भेलालाई सम्बोधन गर्दै उनले बल्खुमा रहेको कार्यालयमा आँखा लगाए तत्कालीन माओवादी केन्द्रको कोटेश्वर-पेरिसडाँडामा रहेको कार्यालय कब्जा गर्ने चेतावनी दिएका छन ।
प्रचण्ड- माधव समुहलाई लक्षित गर्दै उनले भने ‘बल्खुमा आँखा नलगाउनुस्, धुम्बाराहीमा आँखा नलगाउनुस्, साविक एमालेले रगत पसिना लगाएर बनाएको पार्टी कार्यालय, ललितपुरमा आँखा नलगाउनुस्, देशभरका सम्पर्क कार्यालयमा आँखा नलगाउनुस्, हामी पेरिसडाँडामा पनि आँखा लगाउँदैनौँ । हाम्रो कार्यालयमा आँखा लगाउनुभयो भने हामी पनि आँखा लगाउँछौँ । पेरिसडाँडा कब्जा गर्नसक्छौँ ।’
वस्नेतले पार्टीको निर्वाचन चिन्ह सूर्यमा आँखा नलगाउन पनि चेतावनी दिए । प्रचण्डको चुनाव चिन्ह हँसिया हतौडा भएकाले माधव नेपाल र झलनाथ खनालाई सोही चिन्हमा चुनाव लडन भन्दै सूर्य चिन्ह केपी ओलीको रहेको दावी गरे । उनले भने–‘अब सूर्य चिन्हतिर आँखा नलगाउनुस् तपाईको कुनै अधिकार छैन ।’
केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दावी गर्दै उनले निर्वाचन आयोग र सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने दावी गरे । ललितपुरको ओली समूहको कार्यकर्ता भेलालाई महेश बस्नेत अघि शुक्रवार मात्र नियुक्त्ति भएका उर्जामन्त्री टोपबहादुर रायमाझीले सम्बोधन गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया