काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री केपी शर्मा ओली घाँडो भएको बताएका छन् ।
प्रचण्ड-माधव समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदमा विपक्षी पार्टीका नेताहरुलाई गरेका शब्दबाण सुनेर आफूलाई पोल्ने गरेको समेत उनले बताए ।
यस्तै अध्यक्ष नेपालले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दा देश भित्र र बाहिर कस्तो प्रभाव पार्छ भन्ने विचार नगरी बोल्ने प्रवृतिले आफूहरुलाई शिर निहुर्याएर बस्नुपर्ने अवस्थामा पुर्याएको समेत बताए । उनले भने– ‘संसदमा उहाँले विपक्षी पार्टीहरुसँग, विपक्षी नेताहरुसँग गरिएका शब्दबाणहरु सुन्नुहोस् । त्यो ओहोदामा पुगेको र देशको अभिभावक भएको प्रधानमन्त्रीको मुखबाट देशभित्र र बाहिर के प्रभाव पर्छ भन्ने कुरा विचार नगरिकन बोल्ने कुराले हामीलाई पोल्थ्यो । हामी टाउको उठाएर ताली बजाउने होइन शीर निहुर्याएर झोक्रिने अवस्था पैदा हुने गर्दथ्यो । किनभन्दा के गर्ने हामीले नै बोकेर ल्याएको नेता, मैले नै प्रस्तावित गरेको दलको नेता, मैले नै प्रस्तावित गरेको प्रधानमन्त्री अब घाँडो हुन पुग्नुभयो ।’
प्रधानमन्त्री ओलीले जनताका समस्यालाई बेवास्ता गरी देशमा भ्रष्ट्राचार मौलाउने काममा भूमिका खेलेर लोकतन्त्रको मूल्य मान्यतालाई कुल्चेर चल्ने कुरामा पार्टी भित्रबाट विरोध भएको बताए । उनले प्रधानमन्त्री ओलीले भष्ट्राचारलाई दण्डित गर्नुको सट्टामा उन्मुक्त्रि दिएको र जनताको हितमा काम नगर्ने तर भ्रष्टाचारलाई मौलाउने भूमिका खेल्ने प्रवृत्तिलाई सुधार्न पार्टीमा कुरा उठाएको पनि नेपालले बताए ।
प्रधानमन्त्री ओलीप्रती कटाक्ष गर्दै उनले भने– ‘उहाँले आफु खुशी काम गरेर, जनताका समस्यालाई बेवास्ता गरेर, देशमा बेहाली ल्याएर, भ्रष्टाचारलाई मौलाउने काममा भूमिका खेलेर, सबै खालका लोकतन्त्रका मूल्य र मान्यतालाई कुल्चेर चल्ने कुरालाई पार्टी भित्रबाट विरोध भएकै हो । उहाँको अराजक, निरंकुश कार्यशैलीको विरोध गरिएकै हो तर पार्टीभित्र गरिएको हो ।’
कार्यक्रममा अध्यक्ष नेपालले पार्टी भित्रको विवादलाई लिएर असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको हत्या गरी सारा नेपालीलाई विश्वात घात गरेको आरोप समेत लगाए । प्रजातान्त्रिक प्रवृत्ति नभएको मान्छे भएकाले प्रधानमन्त्री ओलीले आफ्ना विरोधीहरुलाई एकएक गरेर सिध्याउन चाहेको समेत बताए । अध्यक्ष नेपालले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीले चालेको गलत कदममा नेपालको संविधानको मूल भावना र मर्मलाई ठिक व्याख्या गरेर गलत गर्नेहरुलाई सही बाटो देखाउने कुरामा भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया