असार २४, २०८२ मंगलबार July 8, 2025

खैरो हिरोइनसहित तीन पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कञ्चनपुरका तीन जनालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर क्षेत्रीय अनुसन्धान (आरआइटी) बाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१८ बाट एक र बेदकोट नगरपालिका–९ बाट दुई जनालाई खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

बैतडी दशरथ नगरपालिका–४ घर भई हाल भीमदत्त नगरपालिका– १८ का २५ वर्षीय नरेश दमाईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका दमाईको साथबाट १४ ग्राम ४२० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

यसैगरी बेदकोट नगरपालिका–९ का ३० वर्षीय भीमबहादुर विष्ट र २७ वर्षीय हिक्मत विष्टलाई लालपुरबाट तीन ग्राम २४० मिलीग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसैबीच लागुऔषध फेरागन मुद्दाका फरार प्रतिवादी भीमदत्त नगरपालिका–३ का ४२ वर्षीय जयबहादुर धानुकलाई समेत प्रहरीले मङ्गलबारै पक्राउ गरेको छ ।

तीन वर्षअघिदेखि फरार रहेका धानुकलाई कञ्चनपुर जिल्ला अदालतले दुई महिना कैद र रु ८२ हजार जरिवाना सजाय तोकेको थियो । अदालतले जरिवान र सजाय तोकेपछि धानुक फरार रहँदै आएका थिए । घरमै लुकीछिपी बसेको बेला प्रहरीले पक्राउ गरेको हो । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया