काठमाण्डौंः विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुचिमा परेको छ ।
अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यद्यपी अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गर्नु भएको छ ।
अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको पनि उहाँ बताउनु भएको छ ।
अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्दै छ र यसपछि लगभग ३० करोड अमेरिकीहरुलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताउनु भएको छ ।
कोरोना भाइरसको कारण बेलायतमा पनि एक लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतको सरकारी माध्यमले जानकारी दिएको छ ।
विश्वभरी कोरोना भाइरस सङक्रमणबाट २१ लाख भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ । सात करोड २९ लाख भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् । (रासस-एएफपी)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया