काठमाण्डौंः भारतको नयाँ दिल्लीस्थित इजरायली दूतावासनजिकै शुक्रबार साँझ बम विस्फोट भएको छ। एपीजे अब्दुल कलाम रोडस्थित दूतावास रहेको स्थानबाट १ सय ५० मिटर दूरीमा साँझ ५ बजेर ५ मिनेट जाँदा विस्फोट भएको दिल्ली प्रहरीले जनाएको छ।
विस्फोटका कारण दूतावासमा कुनै क्षति नपुगेको इजरायली विदेशमन्त्री गाबी अशकेनाजीले पुष्टि गरेका छन्। घटनास्थलमा सुरक्षाका सम्पूर्ण उपाय अपनाइएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी उनले दिए।
अशकेनाजीसँग कुराकानी गर्दै भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले उक्त घटनालाई गम्भीर रूपमा लिएको बताए। भारतीय विदेशमन्त्री जयशंकरले इजरायली दूतावास र त्यहाँका कूटनीतिज्ञलाई पूर्ण सुरक्षा दिँदै घटनाका दोषीको खोजीमा कुनै कमी नराख्ने प्रतिबद्धता जनाए।
भारत र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २९ वर्ष पूरा भएकै दिन उक्त घटना भएको हो। यसअघि फेब्रुअरी २०१२ मा दिल्लीमै इजरायली कूटनीतिज्ञको गाडीमा बम हमला भएको थियो। उक्त घटनाको आरोप इजरायलले इरानमाथि लगाएको थियो। अन्नपूर्णपोष्ट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया