असार २८, २०८२ शनिबार July 12, 2025

सेती नदी जलविद्युत् को ‘पावर हाउस’को काम शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ । कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ काम भइरहेकामा यही माघको पहिलो सातादेखि विद्युत्गृह (पावर हाउस) निर्माण शुरु गरिएको आयोजनाले जनाएको छ ।

सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमिनमा विद्यृत्गृह बनाउन लागिएको छ । मेसिनरी उपकरणबाट विद्युत्गृहका लागि खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनामा अहिले १०० मजदुरले काम गरिरहेका छन् । नदी जलप्रवाहमा आधारित आयोजनाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।

पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ । पाइप लाइनका लागि जमिन रेखाङ्कन सकिएको छ । लुम्बिनी प्रदेशको बुटवलमा रहेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धन गरेको हो । गत साउनदेखि २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिकाअनुसार नै काम अघि बढेकाले तोकिएको समयअगावै विद्युत् उत्पादन हुने भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म आयोजनाको ३० प्रतिशत हाराहारीमा प्रगति भएकामा सभिलितर्फको प्रगति २० प्रतिशत छ । आयोजनाको सिभिलतर्फको काम रसुवा–लुना जेभीले गरिरहेको हो । उत्पादित विद्युत् चार किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ ।

कम्पनीका अध्यक्ष पोखरेलले आयोजनाको हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणका लागि बोलपत्र आह्वान भएर मूल्याङ्कन सकिएकाले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । प्रसारण लाइनका लागि ‘सर्भे’ सकिएको छ । सम्झौतापछि केही दिनभित्रमा आयोजनाको पूर्ण क्षमतामा समग्र काम अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “आयोजना निर्माणका लागि गर्नुपर्ने सबै कागजी प्रक्रिया पूरा गरेका छौँ । सिभिलतर्फको काम तीव्रताका साथ भइरहेको छ । अहिलेको कार्यप्रगतिबाट निर्धारित समयभित्र तोकिएको लगानीमा आयोजना सम्पन्न गर्न सक्छौँ भन्ने विश्वास छ ।” रु पाँच अर्ब लगानी रहेको आयोजनामा रु तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । बैंक वित्तीय संस्थासँग लगानीसम्बन्धी सम्झौता यसअघि नै सम्पन्न भइसकेको आयोजना प्रबन्धक इञ्जिनियर लेखनाथ पाण्डेले बताउनुभयो ।

बाँकी रकम प्रवद्र्धक कम्पनी तथा स्थानीयवासीले लगानी गर्नेछन् । उहाँका अनुसार आयोजनामा लगानीका लागि स्थानीयवासीसमेत उत्साहित छन् । स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन् । जलविद्युत् आयोजनाका लागि आवश्यक ७० रोपनी निजी जमिन स्थानीयवासीबाट खरिद गरिसकिएको तथा सरकारी ३० रोपनी क्षेत्रफल जमिन र वन क्षेत्रका केही रुख कटान गर्नुपर्ने भएकाले सोको प्रस्ताव वन मन्त्रालयमा पेश गरिएको आयोजनाका सामाजिक विकास प्रबन्धक बमबहादुर गुरुङले जानकारी दिनुभयो ।

आयोजनाले उत्पादन गरेको विद्युत् बर्खायामको छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता छ । आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ्रेको स्थानीय सरकार, शैक्षिक संस्था तथा विभिन्न क्लबहरुलाई सहयोग गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वबाट वार्षिक रु ९० लाख सहयोग गर्ने सम्झौता स्थानीय सरकारसँग भएको बताइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार