श्रावण १२, २०८३ मंगलबार July 28, 2026

अब रोजगारीका लागि युएई जान पैसा नलाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैयाँ पनि तिर्न नपर्ने भएको छ।

काठमाडौंमा सोमबार सम्पन्न नेपाल–युएई संयुक्त कार्य समूह बैठकले विगतको शून्य लागतको श्रम समझदारी (एमओयू) लाई कार्यान्वयनमा लैजाने सहमति गरेपछि युएई जानेले एक रुपैयाँ पनि तिर्नु नपर्ने भएको हो। त्यहाँ जाँदा लाग्ने सबै खर्च अब रोजगारदाता आफैंले बेहोर्ने छ।

युएई जाने हवाई टिकट पनि रोजगारदाताले नै उपलब्ध गराउने सहमति भएको छ। ६ महिनाअघि दुई देशबीच भएको  समझदारीलाई कार्यान्वयन गराउन दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युएईको मानव संशाधन मन्त्रालयका अधिकारीहरूले छलफल गरेका थिए। यस्तो सहमति नेपालले २०७५ को कात्तिक १२ मा पहिलोपटक मलेसियासँग गरेको थियो।

मलेसियासँगको सहमतिपछि नेपालले अन्य गन्तव्य मुलुकसँग शून्य लागतमा कामदार पठाउन एमओयूको पहल गरिरहेको छ। मन्त्रालयले अर्को मुलुक मरिसससँग पनि शून्य लागतमै कामदार पठाउने सहमति गरेको छ। त्यस्तै एमओयू हुने चरणमा रहेको ओमानसँग पनि शून्य लागतमै एमओयू हुने अधिकारीहरू बताउँछन्।

सहमतिका मुख्य बुँदाहरू

  • कामदारको सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्ने
  • म्यानपावरको सेवा, शुल्क रोजगारदातासँगको सहमति अनुसार हुने
  • हवाई टिकट रोजगारदाताले दिने
  • कानुनी उपचारको क्रममा हुने खर्च रोजगारदाताले बेहोर्ने
  • कानुनी प्रक्रियामा रहँदा श्रमिकले नियमित पारिश्रमिक पाउने
  • रोजगारदाताको कमी, कमजोरीका कारण कामदार बेरोजगार भए अर्को रोजगारी खोज्न सक्ने
  • कामदारलाई ज्याला, ओभरटाइम, भत्ता, न्यायमा पहुँच जस्ता सुविधामा विभेद गर्न नपाइने
  • कामदारले पाउने सेवा सुविधा तत्काल भुक्तानी गर्नुपर्ने

म्यानपावर व्यवसायी भने सरकारले शून्य लागतको सहमति गरे पनि कार्यान्वयन गर्न कठिन रहेको बताउँछन्। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले शून्य लागतमा कामदार पठाउने निर्णय सकारात्मक रहे पनि कार्यान्वयन कसरी हुन्छ भन्ने महत्वपूर्ण कुरा भएको बताए। ‘शून्य लागतमा श्रमिकलाई युएई पठाउने निर्णय हुनु सकारात्मक हो,’ उनले भने, ‘अब कार्यान्वयनको प्रक्रिया अघि बढोस् भन्ने हाम्रो भनाइ छ।’

दुई देशको सहमतिपछि अब रोजगारीका लागि युएई जाने कामदारले म्यादी जीवन बिमा, कल्याणकारी र अभिमुखीकरण तालिमका लागि मात्र शुल्क तिर्नुपर्छ। यी तीन शीर्षकमा शुल्क तिर्दा करिब सात हजार रुपैयाँ खर्च हुन्छ। म्यादी जीवन बिमा गरेको व्यक्तिको रोजगारीको क्रममा निधन भएमा बिमा कम्पनीले १४ लाख रुपैयाँ उपलब्ध गराउँछन्। त्यस्तै कल्याणकारी कोषमा एक हजार पाँच सय रुपैयाँ तिरेको श्रमिकको निधन हुँदा वैदेशिक रोजगार बोर्डले सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ।

हाल रोजगारीका लागि युएई जाने श्रमिकले म्यानवारलाई कम्तीमा ५० हजार रुपैयाँ दिने गर्छन्। सहसचिव रामप्रसाद घिमिरेका अनुसार म्यानपावरले लिने सेवा शुल्क रोजगारदाताले उपलब्ध गराउनेछन्। म्यानपावरले लिने शुल्क भने रोजगारदातासँगको सहमति अनुसार हुने उनले बताए। ‘म्यानपावरले रोजगारदातासँग जति पनि सेवा शुल्क लिन पाउनेछन्,’ उनले भने, ‘तर कामदारसँग भने एक रुपैयाँ पनि लिन पाइने छैन।’

घिमिरेका अनुसार संयुक्त बैठकले श्रमिकलाई शून्य लागतमा श्रमिक पठाउनेबाहेक महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षामा विशेष उपाय सुनिश्चित गर्ने, कामदारको मृत्यु हुँदा घरसम्म शव पु-याउने दायित्व रोजगारदाताको हुने लगायत छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति
२०८३ श्रावण १२, मंगलबार
सांसद निर्वाचन क्षेत्रमा, संसद् र समितिमा ‘ब्रेक’
२०८३ श्रावण १२, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ श्रावण १२, मंगलबार
गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८३ श्रावण १२, मंगलबार
अव्यवस्थित तार हटाउने कामको प्रगतिबारे दुई मन्त्रीद्वारा अनुगमन
२०८३ श्रावण ११, सोमबार
स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
२०८३ श्रावण ११, सोमबार
सरकारी वार्ता टोली र डा. केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
२०८३ श्रावण ११, सोमबार