असार २८, २०८२ शनिबार July 12, 2025

सुनकोशी-तेस्रोको अध्ययन अन्तिम चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुनकोशी–तेस्रो (५३६ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना प्राविधिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जिनीयरिङ डिजाइनको काम भने सकिएको विद्युत् विकास विभागले जनाएको छ । प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम बाँकी रहेको छ ।

विभागका इञ्जिनीयर सुवास थपलियाका अनुसार इआइए अध्ययनका क्रममा वन तथा वातावरण मन्त्रालयमा कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृतिको क्रममा रहेको छ । कोभिड–१९ का कारण पनि सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण केही प्रक्रिया पर धकेलिएको हो ।

“कोभिडका कारण आयोजनाको परामर्शदाता कम्पनीले फिल्डमा गएर कामगर्ने वातावरण नभएकाले इआइएको काम केही धकेलिएको हो”, थपलियाले भने । परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो ।

एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोशी–तेस्रोको टिओआर भने एक वर्षअघि नै अर्थात् गत वर्ष माघमा विद्युत् विकास विभागलाई बुझाइसकेका थिए । टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा के कस्तो ब्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्तिलगायतको विषयसमेत उल्लेख गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरुपमा आयोजनाको इआइएका लागि क्षेत्र निर्धारण गर्न गत साल नै प्रक्रिया शुरु गरिए पनि कोभिडका कारण एक वर्ष लम्बिएको विभागले जनायो ।

एक वर्षअघि आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो । विभागले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि १९ करोड बजेट विनियोजन गरेको थियो । दुवै आयोजना अध्ययनको काम सक्न ३३ करोड लाग्ने थपलियाले बताए ।

परियोजनाअन्तर्गत वागमती प्रदेशअन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सिमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका-१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ ।

प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेघावाट विद्युत् उत्पादन हुनेछ । आयोजनाका लागि लुभूघाटस्थित नदीमा करिब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई एक दशमलब एक किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङ्गबाट लुभूघाटनजिक निर्माण गरिने विद्युत्गृहमा लगिनेछ भने लगभग ५३६ मेघावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिनेछ ।

आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका करिब एक हजार ६०० परिवार प्रभावित हुनसक्ने पा्ररम्भिक अध्ययनबाट देखिएको छ । आयोजनाबाट सिन्धुपाल्चोेकका तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकका तीन गाउँपालिका र दुई नपा, रामेछापका दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका वासिन्दा प्रभावित हुनेछन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युत्गृह र डुबानक्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाका प्रभावित क्षेत्र डुवान क्षेत्रमा पर्नेछन् ।

वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ को नियम ४ (१), अननुसूची–२ बमोजिम इआइए प्रतिवेदन तयार गर्दा प्रभावित भनिएका क्षेत्रमा भौतिक, जैविक तथा सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालका विषयमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रमा ‘राय–सुझाव’ लिनुपर्ने भएकाले समयसीमा तोकेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरुपमा सार्वजनिकरुपमा अपिल गरिसकेका छन् ।

पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने वातावरण तयारी चरणमा रहेको बताए । “सुनकोशी तेस्रो जलाशययुक्त विद्युत् आयोजना जसरी पनि सम्पन्न गर्ने नै हो, यसपछि माछापालन, बोटिङ, पर्यटकीय होटल तथा थप पर्यटकीयस्थल विकासको समेत सम्भावना छ”, उनले भने ।

सन् १९८५ मै जापान इन्टरनेशनल कोअपरेशन (जाइका)ले त्यस क्षेत्रमा जलाशययुक्त विद्युत्को सम्भाव्यता अध्ययन गरेको थियो । जाइकाले नेपालमा अध्ययन गरेका १० उत्कृष्ट जलाशययुक्त विद्युत्मध्ये सुनकोशी तेस्रो एक हो । विसं २०२२ मा पनौतीमा नेपालकै तेस्रो जलविद्युत् आयोजना (दुई दशमलव चार मेघावाट क्षमता) निर्माणपश्चात प्रस्तावित सुनकोशी–३ जलाशययुक्त विद्युत् आयोजना काभ्रेपलाञ्चोकको दोस्रो आयोजना हुनेछ ।

विसं २०७५ चैतमा काठमाण्डौँमा सम्पन्न दोस्रो लगानी सम्मेलनमा पनि सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजनालाई समावेश गरिएको थियो । आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रसारण लाइनको समस्या छैन । प्रस्तावित आयोजना निर्माणस्थल सङ्घीय राजधानी काठमाडौँबाट ६० किलोमिटरको दूरीमा छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार