असार २३, २०८२ सोमबार July 7, 2025

नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सिद्धार्थ बोर्डिङ स्कुललाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कञ्चनपुरको बेलौरी नगरपालिका सामाजिक विकास समितिले आयोजना गरेको तेस्रो माध्यमिक तह नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि सिद्धार्थ बोर्डिङ स्कुल विद्यानगरले हात पारेको छ ।

बुधवार आयोजित प्रतियोगितामा प्रथम भएको सिद्धार्थलाई पन्ध्र हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको बेलौरी नगरपालिका सामाजिक विकास समितिका संयोजक अर्जुन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार हाजिरी जवाफ प्रतियोगितामा महाकाली मावि विद्यानगर द्वितीय भएको छ । द्वितीय भएको महाकालीलाई बाह्र हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ ।
त्यस्तै, प्रतियोगितामा विज्डम एकेडेमी रिछाहा तृतीय भएको छ । तृतीय भएको विज्डमलाई नौ हजार नगद सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । महाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय गरी जम्मा १७ ओटा विद्यालयको सहभागिता रहेको थियो ।
विजेता टिमलाई नगर उपप्रमुख चित्र कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल, शिक्षा शाखाका विद्यालय निरीक्षक देव बहादुर चन्द लगायतले पुरस्कार वितरण गर्नुभएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि एवं बेलौरी नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरीले आगामी वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइने बताउनु भयो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलले प्रतियोगितामा सहभागी सबै विद्यालयहरूलाई धन्यवाद र प्रतियोगितामा उत्कृष्ट विद्यालयहरूलाई बधाई ज्ञापन गर्नुभयो । त्यसअघि, प्रतियोगिताको उद्घाटन बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले गर्नुभएको थियो । कार्यक्रमको सभाध्यक्षता बेलौरी नगरपालिका सामाजिक विकास समितिका संयोजक अर्जुन ढकालले गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया