असार २७, २०८२ शुक्रबार July 11, 2025

तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् सार्वजनिक गर्नुभएको हो ।

मगुफुली करिब तीन साता यतादेखि सार्वजनिक रूपमा देखा पर्नुभएको थिएन । यसैकारण पनि उहाँको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न हल्ला गरिएको थियो । उहाँलाई कोरोना भाइरसको संक्रमण भएको पनि बताइएको थियो ।

तर पनि यस विषयमा सरकारले आधिकारिक रुपमा कुनै सूचना दिएको छैन । उता विपक्षी नेताहरूले भने उहाँलाई कोरोना भाइरसको संक्रमण भएको दाबी गरेका छन् । तर यो समाचारको पुष्टि हुन सकेको छैन । यसै विषयको जवाफमा गतसाता तान्जानियाका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र जानकारी सञ्चारमाध्यममार्फत् दिनुभएको थियो ।उता यहाँको विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताउनुभएको छ ।

मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित हुनुभएको थियो । सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनकै अवरमा उहाँ देशको राष्ट्रपति घोषित हुनुभएको थियो । गत वर्षको चुनावपछि उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।

तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उहाँको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्नुहुने छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया